१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
विचार

औपचारिकतामा दिवस

गएको वैशाख १० गते नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ६७ औँ वर्षमा प्रवेश गरेको छ। विभिन्न कालखण्ड र परिस्थितिमा फुट्दै र कहिले कतै जुट्दै पनि आइरहेका कम्युनिस्ट पार्टीहरुले आआफ्नो गच्छेअनुसार सदाझैं यो वर्ष पनि स्थापना दिवस मनाए।पार्टी स्थापनाको दिनलाई आआफ्नै परिभाषामा वर्णन गरे। सम्भि्कए। विगतमा झैँ पार्टी स्थापना दिवसका अवसरमा सबै शीर्ष नेता बाम एकताको आह्वान गर्न चुकेनन्। बृहत् कम्युनिस्ट एकतामा जोड दिँदै जन्मकालमा हामी एउटै थियौं, रूप–रङ्ग केही फरक थिएन, फेरि पनि एकै ठाउँमा आउछौँँ–हुन्छौँ भनेर जनतालाई सन्देश दिने कामको औपचारिकता पूरा गरेका छन्। कम्युनिस्टहरुको जन्मकालमा एउटै उद्देश्य थियो– वैज्ञानिक साम्यवादसम्म पुग्ने समाजवादी राज्य व्यवस्थाको स्थापना, गरिब सर्वहारा वर्गको नेतृत्वमा राज्यसत्ता।

नेपाली कम्युनिस्ट पार्टी स्थापनाको ६७ औँ वर्ष लाग्दै गर्दा कम्युनिस्ट आन्दोलनले धेरै आरोह/अवरोह पार गरेको छ। गरिब सर्वहारा वर्गको राज्यसत्ता प्राप्ति र वर्गबिहीन समाजको कल्पनामा डुबेका कम्युनिस्टहरु स्थापनाको केही वर्षपछि नै टुट र फुटमा परिणत हुँदै गए। नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादी व्यवस्था निर्माणमा जुटेका कम्युनिस्ट नेताहरु सामूहिक विचार र भावनाबाट भन्दा व्यक्तिगत मत र मान्यतालाई पार्टीमा स्थापित गराउने खेलमा लागिरहेकै कारण कम्युनिस्ट पार्टी विभाजनको शिकार बनिरहे। कम्युनिस्ट पार्टीको तेस्रो महाधिवेशनसम्म आइपुग्दा व्यक्तिगत आरोप र प्रत्यारोपका कारण फुटको जग बनिसकेको थियो। तेस्रो महाधिवेशनपछि फरक–फरक अस्तित्वमा कम्युनिस्ट पार्टी देखिन थाले। नेपालका विभिन्न ठाउँ र परिवेशमा रहेका यस्ता पार्टीले आफ्नै अनुकूलता र चरित्रको वर्ग संघर्ष पनि सञ्चालन गरिरहे। त्यसमध्ये २०२८ सालमा नक्सलवारी आन्दोलनबाट प्रभावित विशेषतः झापाका युवाहरुले चलाएको 'झापा विद्रोह' सबैभन्दा बढी चर्चामा रहेको वर्ग संघर्ष हो।

खासगरी निरंकुश राणाशासन अन्त्य र नवप्रजातन्त्रको सुरुवातसँगै सामन्तवादी व्यवस्थाविरुद्ध कम्युनिस्ट लागेका हुन। निरंकुश शासनसत्ताको अन्त्यपछि नेपालको राज्यसत्ता सामन्ती वर्गको हातमा पर्योि। त्यसको नेतृत्व राजाले गरे। सामन्ती वर्ग र राजाको प्रत्यक्ष हालिमुहालीमा सञ्चालित सामन्ती राज्य व्यवस्थाविरुद्ध कम्युनिस्टहरु संगठित र विभिन्नरूपमा आन्दोलित हुँदै गए। यहीबीचमा कम्युनिस्टहरुभित्र घात–अन्तरघातको खेल पनि सुरु भइसकेको थियो। व्यक्तिगत आरोप र लाञ्छना चुलिँदै गए। पार्टीको नीति र कार्यक्रम, मित्रशक्तिहरुलाई हेर्ने दृष्टिकोणमा फरक–फरक मत देखिँदै गए। वर्ग संघर्षलाई अगाडि बढाउने सन्दर्भमा गुटैपिच्छे फरक धारणा आइरहे।

समाजको वर्ग चरित्रको विश्लेषण, पञ्चायतविरुद्धका राजनीतिक शक्तिहरुसँग कार्यगत एकता गर्ने सवालमा कम्युनिस्ट नेताहरुको एकापसमा मत मिल्न नसकेपछि वर्गीय संघर्षले गति लिन सकिरहेको थिएन। नयाँ जनवादी क्रान्तिको जग बसाउन कठिन भइरहेको थियो। यही क्रममा तत्कालीन महासचिव केशरजंग रायमाझीले नयाँ जनवादी क्रान्तिको बीउ रोप्न नदिने षड्यन्त्र गरी दरवार छिरेपछि कम्युनिस्ट पार्टीका संस्थापक पहिलो महासचिव (महामन्त्री) पुष्पलालको नेतृत्वमा २०२५ साल जेठ २५–२९ सम्म भएको ऐतिहासिक सम्मेलनले नयाँ जनवादी क्रान्तिको आधिकारिकता अंगाल्दै देशको सामाजिक वर्गचरित्र अर्धसामन्ती, अर्धऔपनिवेशिक रहेको तथ्य स्वीकार गर्यो्। कम्युनिस्टहरुले सामन्तवाद र त्यसका नाइके राजालाई प्रमुख शत्रु मान्दै वर्ग शत्रु खत्तम गर्ने अभियानअन्तर्गत किसान विद्रोह आवश्यक ठाने। वर्ग शत्रु खत्तम गर्ने अभियानअन्तर्गत कम्युनिस्टहरु संगठित हुँदै गए। यही अभियानको पहिलो विष्फोटक रूप २०२८ को 'झापा विद्रोह' थियो। त्यसैले झापा विद्रोहलाई नयाँ जनवादी क्रान्तिको पहिलो सशस्त्र विद्रोह मान्ने गरिन्छ नेपालका सन्दर्भमा।

कांग्रेस र वामपन्थीको संयुक्त आन्दोलनबाट राजाको सामन्ती एकल शासन च्युत गरियो र यसले नयाँ जनवादी क्रान्तिका लागि केही आधार खडा भयो। यसै क्रममा नयाँ जनवादी क्रान्तिमा संगठित नेकपा एमाले र मार्क्सवादी मिलेर नेकपा एकिकृत मार्क्सवादी–लेनिनवादी बन्यो। तर २०४६ सालको परिवर्तनपछि पनि नयाँ जनवादी क्रान्तिले निरन्तरता भने पाइरह्यो। २०४६ पछि पनि एउटा सानो समूह भूमिगत अस्थामै रहेर पछि नेकपा (माओवादी) का रूपमा प्रकट भयो। यही सानो समूहका कम्युनिस्टहरुले नयाँ जनवादी क्रान्तिका लागि सशस्त्र युद्ध आवश्यक देखे। तर विश्व स्थिति र भूराजनीतिक अवस्थाले माओवादीको त्यो आन्दोलनले केही राजनीतिक चेतना त जगायो तर क्रान्ति भने सफल हुन सकेन। उनीहरुको क्रान्ति उग्र वाम भड्काउतिर गएपछि माओवादीको सशस्त्र क्रान्ति पनि नयाँ जनवादी क्रान्तिकै विपक्षमा गयो।

यही क्रममा र राजा ज्ञानेन्द्रको महत्वाकांक्षी शासन लालसाका कारण तेस्रो जनआन्दोलन आवश्यक भयो। नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने तर उग्रवाम भड्काउका कारण 'वार न पार' को अवस्थामा रहेको माओवादीको अप्रत्यक्ष सहयोग, बहुदलवादी वाम कांग्रेसको अगुवाईमा पछिल्लो (२०६२/०६३) को जनआन्दोलन सफल भएको हो र यस क्रान्तिले समाज विकासका केही रूप र वर्गचरित्रमा अवश्य केही परिवर्तन ल्याएको छ।

गणतन्त्र प्राप्तिपछि नेपाली समाजको वर्ग चरित्रलाई हेर्ने दृष्टिकोणमा कम्युनिस्ट पार्टीहरुमा मतभिन्नता देखिँदै आइरहेका छन्। अहिले मूलधारको रूपमा रहेका नेकपा एमाले र एमाओवादी अब नयाँ जनवादी क्रान्ति सम्पन्न भइसकेकाले मुलुक पुँजीवादतर्फ संक्रमण भइरहेको विश्लेषण गरिरहेको छन्। तर साना वामपन्थी दल भने समाजको वर्ग चरित्र पूरै परिवर्तन भएको मान्न तयार छैनन् र मुलुक अझै अर्धसामन्ती, अर्धऔपनिवेशिक अवस्थामा रहेको जिकिर गर्दैछन्। यसरी स्थापनाको केही समयपछि नै विभिन्न मतान्तर पालेर बसेका कम्युनिस्टहरु पहिलो कम्युनिस्ट पार्टी स्थापनाको ६७ औँ वर्षगाँठमा पनि यस्तै चाहिने/नचाहिने विषयमा विवाद गरिरहेकै छन्। जसको असर सम्पूर्ण नेपालीमाथि परेको छ। तर उनीहरुमा आफ्ना कमजोरी पन्छाएर एउटै वामपन्थी दलका रूपमा समाहित भई मुलुक र मुलुकबासीका लागि ठोस योगदान दिनेतर्फ पनि अझै पनि चेत खुल्न सकेको छैन।

प्रकाशित: १८ वैशाख २०७३ २१:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App