२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

जेबी दलितको प्रेमकथा

मीन पचासको बिदामा एक दिन जुठबहादुर र गीता खतिवडा फिल्म हेर्न नवदुर्गा हल पुगे । अव्यक्त नै सही, छिपछिपे प्रेममा तिनीहरू भिजेकै थिए । मिथुन र पद्मिनी कोल्हापुरीको फिल्म ‘प्यार झुकता नही’ हेरेर दुवै प्यारको गहिराइमा डुबे । पहिला प्रेम, त्यसपछि कहालीलाग्दो बिछोड, त्यसपछि फेरि सुखद मिलन । के मिथुन र पद्मिनीको जस्तै तिनको प्रेम सफल होला ? तर, तिनको मनको तार जोडिए पनि दिलको पाना खुल्न बाँकी नै  थियो । फिल्मले खुल्ला खुल्ला भनेजस्तो भएको थियो ।
हलबाहिर निस्कँदा भीडबाट जोगिन जुठबहादुरको काँधमा दुवै हात राखेर गीता उसको पछिपछि हिँडेकी थिई । सडकमा आइपुगेपछि काँधमा काँध जुधाएर बगलमै हिँड्न थाली । उसको कपालबाट मीठो बास्ना आइरहेको थियो । मधुर हावामा उसको सल झण्डाजस्तै फर्फराइरहेको थियो । घरी त्यो आफ्नै कानमा सिउरिन पुग्थ्यो, घरी जुठबहादुरको मुख छोप्न पुग्थ्यो ।
गीताको हिँडाइमा मनै आनन्दित पार्ने लय थियो । शीतल हावाको लयमा फूलको डाली नाचेजस्तो । चरा चिर्बिराएजस्तो । मधुर संगीत गुन्जेजस्तो । उखुम गर्मीमा एक्कासि शीतल वर्षा भएजस्तो । घरीघरी तिनका कुइना ठोकिन्थे । अनि जुधेपिच्छे डराउँदै ऊ गीतालाई हेथ्र्यो । आँखा जुध्दा अगाडिका दुई दाँतसँगैका थोरै अगाडि बढेका मोहनीमय दाँत खोलेर गीता यसरी हाँस्थी, मानौँ उसको सामु घामको उज्यालो नै मधुरो हुन्थ्यो । ‘नबोले पनि हाँस न, सुन मेरी निरमाया’– मानौँ ज्ञानु राणाको गीत गुञ्जिरहेको हुन्थ्यो ।
जुठबहादुरलाई के बोलूँ, के गरूँ भइरहेको थियो । बोलूँ, शब्द ट्याक्क किलकिलेमा आएर अड्कन्थ्यो । नबोलूँ, हृदयबाट शब्दको बाढी उर्लिरहेको थियो ।
‘जेबी !’ गीताले नै फलामको डल्लो फुटाई । उसले यसरी सम्बोधन गरी मानौँ फेरि ज्ञानु राणाको गीत गुञ्जिरहेको छ । जुठबहादुर त ज्ञानु राणाको मोहनीमय गीतमै हरायो ।
‘जेबी...!  तिमी कहाँ हराएको ?’ गीताले लेघ्रो तानेर सोधी ।
‘हँ..!’ जुठबहादुर झस्कियो । तरंगबाट मनको संवाद भएझैँ गीताले उसलाई प्रिय नामबाट सम्बोधन गरेकी थिई । तर, यो कुरा उसले गीतालाई कहिल्यै भनेको थिएन । गीताले कसरी थाहा पाई ?
‘जेबी ! तिमी फेरि पढ न । किन पढ्न छोडेको ?’ गीताले कर गरेजसरी भनी ।
‘हुन्छ । अब म फेरि पढ्न थाल्छु,’ हृदयमै गढेजसरी जेबीले पनि भन्यो ।
‘धेरै पढेर ठूलो जागिर खायौ भने तिम्रो पनि मान बढ्छ । तिम्रो मान बढेपछि मेरो पनि मान बढ्छ ।’
‘हँ ...!’ गीताले के सोचेर यसो भनी, जेबी अलमलियो । आनन्दित भयो । अलि हड्बडायो पनि ।
निःशंक भएर हाँस्दै गीताले भनी, ‘साथीको मान बढेपछि मेरो पनि मान बढेन त ! कस्तो कुरा नबुझ्ने हो जेबी तिमी त !’
हो त । अँ हो त । गीताले क्या जायज कुरा गरेकी थिई ! जेबीले साँच्चीकै फेरि पढ्ने विचार ग¥यो ।
‘ऐया....’, वंशगोपाल आउने बाटोमा गीता एक्कासि ठेस लागेर चार हातपाउ टेक्न पुगी । उसको सल भुइँमा झ¥यो । दुवै हातमा धुलो लाग्यो । थाकेझैँ गरी ऊ त्यहीँ टुक्रुक्क बसी । जुठबहादुरलाई आपत् प¥यो । के गर्ने हो ? चुपचाप हेरिरह्यो । खर्पन बोकेर आइरहेको एउटा किसानले उसलाई हका¥यो, ‘के हेरिबस्छ म्यामपाखा, उथा टिरो ल्यासेलाई !’
जुठबहादुरले हात समाएर गीतालाई उठायो । सल टिपेर टकटक्यायो । धुलाम्मे हात पिट्दै गीताले लगाइदिन काँध थापी । उसले गीताको काँधमा सल बेर्न खोज्यो ।
‘छिःछी पापी हात !’ उसको दाहिने हातले गीताको छाती छुन पुग्यो । पश्चात्तापले उसले गीतालाई हेर्न सकेन । गीता भने उसैलाई हेरिरहेकी रहिछ । आँखा जुध्दा लाज मानेर मुन्टो निहुराउँदै भनी, ‘मात्तेको मान्छे !’
थर्ड क्लासको पाँच÷पाँच रुपियाँको टिकटको पैसा गीताले नै तिरेकी थिई । जुठबहादुरले घरबाट चोरेको साखिनी कुखुराको छ वटा अन्डा  राधेश्यामको पसलमा बेचेर अठार रुपियाँ पाएको थियो । पहिला त केटीले टिकटको पैसा तिर्दा उसलाई नमज्जा लाग्यो । फर्कंदा उसले आफूसँग भएको पैसाको सदुपयोग गर्ने विचार ग¥यो ।
उनीहरूले वंशगोपालको फेमस चाउमिन एकएक प्लेट खाए । थोरै रसदार, गेडागुडी र एकदुई टुक्रा मासु राखिएको थुक्पा मुखैमा झुण्डिने खालको थियो । बजारमा कसैले उनीहरूलाई चिन्ने कुरा पनि थिएन । केही छिनमै उनीहरू एक अर्कासँग पर्याप्त सहज भइसकेका थिए । अब उनीहरू पाखुरामा पाखुरा बेरेर हिँडिरहेका थिए । वंशगोपालबाट कुमालटोल हुँदै त्यहाँबाट ओर्लेर हनुमन्तेको पुल नाघेपछि सूर्यविनायक चोक पुग्नैलाग्दा बाटैमा थियो एभरेस्ट मःमः । मःमः खान त्यहाँ सधैँ भीड लाग्थ्यो । थुक्पा खाँदा जम्मा आठ रुपियाँ खर्च भएको  थियो । पैसा अझै बाँकी थियो । उनीहरू मःमः खान छिरे ।
खाने बेला गीताले सोधी, ‘केको मःमः ? मटन हो ?’
‘हो हो, मटन । मटन मःमः,’ पसलेले नहाँसी भन्यो । जुठबहादुरले जबर्जस्ती हाँसो दबायो । दुवैले स्वाद मानेर खाए । पैसा जुठबहादुरले नै ति¥यो । दुई प्लेटको चार रुपियाँ । दंग परेर गीताले भनी, ‘खसीको मःमः पनि कति सस्तो यार !’
उसको कुरा सुनेर साहुजी हाँस्यो ।
‘खसी त खसी नै हो । तर, ठूलो खसी । ब्या’ नहुन्जेल खान भइहाल्छ नि ! काँ’ हो नानी, तिम्रो घर ?’ साहुजीले सोध्यो । जुठबहादुर बाहिर निस्किसकेको थियो । जवाफ नदिई गीता पनि बाहिर निस्की ।
‘ठूलो खसी भनेको के हो जेबी ?’ गीताले अप्ठेरो मान्दै सोधी । जुठबहादुर उर्फ जेबी अप्ठेरो मानेझैँ हाँस्यो मात्र ।
‘के हाँसेको नि ! साँच्ची, भन न !’ अनुरोधको गहिरो अनुभूति मिसाएर उसले भनी ।
‘के भन्नु, तिमी रिसाउली !’ गीताको हदै अबोधपन देखेर ऊ अलि ठट्यौलो भयो ।
‘मेरो कस्सम, भन न के !’
‘के भन्नु, तिमी रिसाउली..!’
‘कस्सम, रिसाउँदिनँ के..!’
‘भन्दिनँ । फेरि तिमी रिसाउली....!’
‘तिम्रो कस्सम, रिसाउदिनँ । भयो अब ?’
‘बुढी भैँसीको मासु हो के रे !’
‘छ्या हैन होला के !..त्यस्तो पनि खान्छन् त !.............................ह्वायक्क...ह्वायक्क !’
‘लौ तिमी त छाद्न लाग्यौ कि क्या हो ? बुढी भैँसी होइन, मैले भन्देको मात्र । राङो हो क्या राङो । राङोलाई ठूलो खसी भन्छन्, था’ छैन ?’
‘ह्वायक्क..ह्वायक्क..राङो भन्या नि भैँसी नै त हो नि । भैँसीको छोरा होइन र ?’
‘भैँसीको छोरा होइन, भैँसीको पोइ !’ जुठबहादुरको मुखबाट प्वाक्कै निस्क्यो । गीता रिसाउली कि भनेर धक लाग्यो उसलाई ।
नभन्दै हल्का आँखा तरेर गीताले भनी, ‘मात्तेको मान्छे ! ब्या’ गरेस्तो वस्तुभाउको पनि पोइ र जोइ भन्ने हुन्छ र ? ह्वायक्क...ह्वलालाल्ल..ह्वायक्क । मलाई झुक्याएर भैँसीको मासु ख्वाको ?’
‘झुक्याको होइन । तिमीलाई था’ छ होला भन्ठान्या । अघि थुक्पामा राख्या मासु ’नि राङोकै त हो नि ! तिम्ले मीठो मानेर खा’थ्यौ त !’
‘त्यो पनि ? छ्या.... ह्वायक्क, ह्वाय........य...........क्क.....ह्वा........या....क्क । था’ नपाएसि खान्नँ त ? ह्वायक्क....ह्वायक्क...ह्वायक्क ।’
‘ह्या...त्यसरी नछाद न भन्या, बेइज्जत हुन्छ क्या ! त्यसरि घीन नमान न ! घिन नमानेसि छादसाद क्यै आउँदैन क्या !’
‘ह्वायक्क...ह्वायक्क....ह्वालाल....ह्वा...य....या....या.......या....ह्वायाक्क । घिन लाग्या कुरा नि घिन नमान भनेर हुन्छ ? ह्वायक्क...ह्वाय...य....क्क !’
गीताले सडकको किनारमै मःमः र थुक्पाजति सबै बान्ता गरेर ख्वातखुत्तै निकाली । नजिकै चियापसलबाट जुठबहादुरले जगमा पानी ल्याइदियो । गीताले कुल्ला गरी । उसले गीतालाई एकछिन हात समाएर हिँडायो । बजारमा उनीहरूलाई हेरेर मानिसहरूले मुखामुख गरे ।
यति हो । बजार सकिएपछि उनीहरू एक अर्कासँग अपरिचितझैँ छुट्टाछुट्टै हिँडेका थिए ।

त्यसको भोलिपल्ट । साँझपख जुठबहादुर दाउरा चिरिरहेको थियो । बाबु र दिदी, बहिनी कल चलाइरहेका थिए । कसैले पछाडिबाट उसलाई जोडले एक लात हिर्कायो । जुठबहादुरले उचालेको घनटाउके बन्चरो अगाडि खस्यो । ऊ त्यसैमा ठोकिएर ढुनमुनिँदै लड्यो । बन्चराको धारले बुढी औँलामा अलिकति घाउ लाग्यो । रगत बग्न थाल्यो ।
गीताका दुई दाजुहरू अगाडि बढेर भुइँमा पसारिएको जुठबहादुरलाई लात र मुक्का बर्साउन थाले । बाबु हेरेको हे¥यै भयो । दुई दिदीबहिनी रुँदै, चिच्याउँदै जुठबहादुरको अगाडि ढाल बनेर उभिन आइपुगे । तिनलाई पन्छाएर फेरि जुठबहादुरमाथि आक्रमण गरियो । अब दिदीचाहिँ भाइलाई बचाउन उसको जीउमाथि लिपिक्क लिप्सिई । गीताको माइलो दाजुले त्यसमाथि पनि हातपात ग¥यो । छाती बेस्सरी थिचेर, जगल्टा समाएर करेसाबारीमुनिको कान्लामा पछारिदियो ।
जुठबहादुरको दिमाग रनन्न भयो । दिदीमाथि हातपात गर्नेलाई ताक्दै ऊ बन्चरो उचालेर हान्नियो । धन्न, बाबु चाहिँले उसलाई पछाडिबाट कम्मरमा समाएर रोक्यो । गीताका दुवै दाजु ट्वाँ परेर हेरेको हे¥यै भए ।
एकैछिनमा जुठबहादुर शान्त भयो । बन्चरो भुइँमा राखेर थुचुक्क बस्यो । पिर्लिक्क आँखा पल्टाएर गीताका दाजुहरूलाई हे¥यो । अनि घोप्टे मुन्टो लगायो । त्यसपछि मुन्टो उठाउँदै उठाएन ।
‘के भयो काजी ? के बिरायो यल्ले ?’ मुखबाट ¥याल र नाकबाट सिँगान चुहाउँदै आर्तनादको भाकामा पुनबहादुरले सोध्यो ।
‘तिम्रो छोरोलाई तह लगाऊ । रगतको खोलो बग्ला, होस गर,’ गीताको ठूलो दाजुले रिसले थरथर काम्दै भन्यो ।
‘के ग¥यो यल्ले ? यति त भनिबक्स्योस । हाम्ले नि था त पाउनु परो नि ! मलाई भनिबक्स्योस् न !’
‘यै डाँकालाई सोध न, मलाई के सोध्छौ ? डुमले बाहुनीमाथि आँखा गाड्यो भने के हुन्छ, याद गर ।’
‘आजलाई बचिस् । याद राख्, म तेरो घिर्चो छिनाल्छु,’ गीताको माइलो दाजुले औँला ठड्याउँदै भन्यो । जुठबहादुरले एक शब्दै बोलेन ।
कान्लाको सुन्तलाको बोटलाई लात हान्दै तिनीहरू तलतिर ओर्लिए । उत्तेजनामा गीताको माइलो दाजुले गोरेटोछेउमा ढकमक्क फुलेको गोदावरीको बोट उखेलेर भुइँमा पछा¥यो ।
माथि उत्तीसघारीमा झ्याउँकीरी कराउन थाले । तल महादेव खोलातिरबाट चिसो स्याँठ हुत्तिएर आयो । बाँसथानमा साह्रौँते बाझ्न थाले । जुठबहादुरकी दिदी करेसाबारीमुनि झाँक्रा फिँजाएर अझै रोइरहेकी थिई । बहिनी एक हातले पिँढीको थाम समाएर हिक्क हिक्क गरिरहेकी थिई । जुठबहादुर खुट्टाको बुढी औँलाबाट रगत बग्न दिएर चुपचाप घोसे मुन्टो लाएर निहुरिरहेको थियो । जाडो, अपमानबोध र आत्महीनताले ऊ थुरथुर कामिरहेको थियो । उसका दाँतहरू बज्न थालेका थिए ।
बाबु चाहिँले बित्यासको भाकामा भुनभुनाउँदै बन्चरो टिपेर भित्र राख्यो ।

  त्यसको सात दिनपछि जुठबहादुर एकाएक गायब भयो । अलिपछि अनेक अडकलबाजी भए । कसैले भन्यो, इन्डिया भाग्यो । कसैले भन्यो, झुन्डिएर म¥यो । कसैले भन्यो, अब कहिल्यै गाउँ फर्किन्न भनेर हिँड्यो । कसैले भन्यो, बाटो खन्न कालीकोट पुग्यो । कसैले भन्यो, डाँकाले मारेर त्रिशुलीमा बगाइदियो । कसैले भन्यो, माओवादी भएर जंगल पस्यो ।
हरेक दिनजसो उसको बाबु मलाई भेटेर रुँदै भन्थ्यो, ‘काजी, बाँचेको भए त्यो आइहाल्थ्यो । लौ न जहाँबाट भए पनि त्यसको लाश ल्याइदिनुप¥यो । सानो जात भएर ठूलो जातकी केटी ताक्दै हिँड्छ । अनि त्यल्लाई नमारे कल्लाई मार्छन् त ! पक्कै, त्यल्लाई मारिसके होलान् ।’
यस्तो बेला मलाई पनि जुठबहादुरको माया लागेर आउँथ्यो । ऊ कहाँ होला, के गर्दै होला, साँच्चीकै उसलाई मारी पो दिए कि ! यस्तो सोचेर म हैरान हुन्थेँ । तर, उसको बाबुलाई सान्त्वना दिएर फर्काउँथेँ ।

(लामो कथा ‘जेबी दमाई’ को एक अंश)

 

प्रकाशित: २८ चैत्र २०७३ ११:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App