२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

निर्मलालाई न्याय देऊ

सुदूरपश्चिमको कञ्चनपुरमा एक महिनाअघि एक किशोरीको बलात्कारपछि हत्या भयो । स्थानीय विद्यालयमा १० कक्षामा अध्ययनरत निर्मला नामकी ती किशोरी साथीको घरमा पढ्न गएकी थिइन् । राति अवेरसम्म घर नफर्केपछि परिवारले सोधखोज गर्दै जाँदा उनको शव उखुबारीमा भेटिएको थियो।

गत साउन १० गते भएको यो घटनाको एक महिना वितिसक्दा पनि प्रहरीले शंकास्पद दोषीलाई पक्राउन गर्न सकेको थिएन । प्रहरीले अर्कै मानिसलाई दोषी देखाएर शक्तिको आडमा वास्तविक दोषीलाई उम्काउन खोजेको भन्दै कञ्चनपुरसँगै देशभर आन्दोलन चर्किएको छ । कञ्चनपुरमा भएको प्रदर्शनमा गोली प्रहार हुँदा एक जना किशोरले ज्यान गुमाएका छन् भने दर्जनौं घाइते भएका छन्।

देशभर बलात्कारका घटना बढिरहँदा र दोषीहरु उम्किरहँदा निर्मलालाई न्याय देऊ भन्दै सबै बलात्कृत चेलीहरुले न्याय पाउनुपर्ने तथा किशोरी र महिलाहरु सुरक्षित हुनुपर्ने माग राख्दै सडक, सदन र सामाजिक सञ्जालमा माग बढिरहेको छ । यसै सन्दर्भमा शनिबार राजधानीमा पनि निर्मलालाई न्याय देऊ भन्दै प्रदर्शन भएको छ । ट्वीटरमा ह्यास ट्याग जस्टिस फर निर्मला पनि पछिल्लो समयमा ट्रेन्डिङ भइरहेको छ।

यादव देवकोटाले कञ्चनपुर घटनामा सरकारको मौनतालाई प्रश्न परेका छन् । कञ्चनपुरबाट निर्वाचित विना मगर मन्त्री भएको सन्दर्भमा उनले जस्टिस फर निर्मला ह्यास ट्याग गर्दै ट्वीट गरेका छन्, ‘कञ्चनपुरबाट निर्वाचित विना मगर मन्त्री पनि छन् क्यारे । विनाजी जिल्लाको त्यत्रो विभत्स घटनामा कहिँ सुनिइनन् । किन होला?’ अभि थापा मगरले जस्टिस फर निर्मला ह्यास ट्याग प्रयोग गरेर प्रहरीको तथ्यांक प्रस्तुत गरेर सरकारको उदासिनतामा प्रश्न गरेका छन् । ‘नेपाल प्रहरीको तथ्यांकअनुसार, औसतमा हरेक दिन चार वटा बलात्कारका घटनाहरुको उजुरी भएका छन् जुन हरेक महिना १२० हो र यसले वर्षको १,४८० बलात्कारका घटना भएको देखाउँछ । यो तथ्यांकअनुसार बलात्कारका घटनाहरु हरेक महिना ७८ बाट एक सय २० मा बढेको छ,’ उनले आफ्नो ट्वीटको दोस्रो लहरमा विचार राखेका छन्, ‘हाम्रा सरकारी अधिकारीहरुले यसलाई गम्भीरतापूर्वक लिएका छैनन् । न्याय अनिवार्य छ नत्र नेपालीहरु पुनः उठ्नेछन् । तर यस्ता विभत्स अपराध रोक्नका लागि रोकथामका उपायहरु हुनु जरुरी छ।’

सरकारले हत्या गरिएकी किशोरीको परिवारलाई १० लाख क्षतिपुर्ति दिने निर्णय गरेकोमा त्यसमा प्रतिक्रिया दिदैं कृष्ण बमले ह्यास ट्याग जस्टिस फर निर्मला प्रयोग गरी आफ्नो आक्रोश पोख्दै ट्वीट गरेका छन्, ‘क्षतिपुर्ति रे? हैन, हत्या भइसक्यो । आबो के त्यो १० लाखले निर्मला पन्तको ज्यान फिर्ता आउँछ भन्या? सक्छौं भने दोषी पत्ता लगाएर शिघ्र फाँसी दिलाइदेउ ताकी निर्मलाको आत्माले शान्ति पाओस् अनि भविष्यमा यस्तो हर्कत गर्ने आँट कसैले नगरोस्।’

आइतबार परेको रक्षाबन्धनको दिनमा दिदी बहिनी र दाजु भाइबीच राखी बाँध्ने चलनलाई निर्मला प्रकरणसँग जोड्दै रमेश देवकोटाले जस्टिस फर निर्मला ह्यास ट्याग प्रयोग गरेर ट्वीट गरेका छन् । ‘आज धेरै पछि रक्षा बाँधियो । मलाइ रक्षा बन्धनले होइन, मेरो स्थानीय प्रशासनले रक्षा गर्छ भन्दै आएको थिएँ । तर निर्मला प्रकरणपछि प्रशासनको विश्वास टुट्यो । अव मेरो र मेरो दिदी बहिनीको रक्षा यही धागोको त्यान्द्रोमा । विचरा म अनि मेरो देश’, उनको ट्वीट छ।

त्यस्तै, दृष्टि थापाले जस्टिस फर निर्मला ह्यास ट्याग प्रयोग गर्दै ट्वीट गरेकी छिन्, ‘हामीमध्ये सबै निर्मला हौं । यो हामीमध्ये जो सुकैलाई पनि हुन सक्छ । हाम्रो सुरक्षित भविष्यका लागि हाम्रो आवाज आजै उठाऔं।’

निर्मलालाई न्याय दिनुपर्ने माग राख्दै सामाजिक सञ्जालमा जस्टिस फर निर्मला ह्यास ट्याग प्रयोग गरिएका हजारौं ट्वीटमध्ये सृष्टि मैनालीको ट्विट छ, ‘हिजो पूजा बोहोरा थिइन्, आज निर्मला छिन् र भोली हाम्रो आफ्नै घरको जोसुकै पनि हुन सक्छ । यदि हामीले आज रोकेनौं भने, सयौं पूजाहरु र निर्मलाहरु बलात्कार र यौन हिंसाका शिकार हुन सक्छन् । सरकार, हामीले हाम्रो सुरक्षा कहिलेसम्म माग्नुपर्ने?’

प्रकाशित: ११ भाद्र २०७५ ०६:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App