२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

न्याय हराएको सय दिन

निर्मला पन्त बलात्कार र हत्याकाण्डको सय दिन भइसक्दा पनि सरकारले हत्यारा पत्ता लगाउन सकेको छैन । सय दिनसम्म पनि हत्यारा पत्ता नलगाएर आफ्नो निरिहपन देखाएको भन्दै सामाजिक सञ्जालमा सरकार र प्रहरीको चर्को आलोचना भइरहेको छ।

सय दिनदेखि नै निर्मलाका निम्ति न्याय माग्दै आ–आफ्नोतर्फबाट सोसल मिडिया प्रयोगकर्ताले कहिले माइतीघर मण्डलमा प्रदर्शन गरे, कहिले निर्मला न्यायका लागि कविता वाचन गरे त कहिले सिंहदरवार अगाडि नै न्यायका निम्ति धर्ना दिए । तर, न सरकारले यसको सम्बोधन नै ग-यो, न निर्मलाले न्याय पाइन् । निर्मलाका आमाबुबा काठमाडौँ समेत आएर माइतीघर मण्डलामा आफ्नो छोरीका निम्ति राज्यसँग न्यायको अपिल गरे । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘निर्मला मेरी पनि छोरी हो हत्यारा जसरी पनि पत्ता लाग्छ’ भन्ने भनाइले निर्मलाका अभिभावकमा आशा मात्र जगाएन, चारैतिर उनको भनाईको वाहवाही पनि भयो । तर, यत्तिका दिनसम्म नाटकीय ढंगबाट कहिले प्रमाण मेटाउने र कहिले आरोप प्रमाणित भएन भन्दै सरकार रवैया देखेर समाजिक सञ्जाल प्रयोगकर्ताले आक्रोश पोखेका छन्।

निर्मला हत्याको सय दिन पुग्दा शुक्रबार सामाजिक सञ्जाल प्रयोगकर्ताले पाटनको कृष्ण मन्दिरअगाडि दीप प्रज्वलन गरेर उनको आत्मा चिर शान्तिको कामना पनि गरे । सानो पाइला संस्थाले वीरगंजका युवाहरूलाई लिएर शुक्रबार १०० दिनको मानव सांग्लो बनाएको थियो । गत शनिबार सामाजिक सञ्जाल प्रयोगकर्ताहरूसँगै आयोजक निर्मलाका निम्ति न्यायले डिएनए टेस्टका लागि रक्तदान कार्यक्रम आयोजना गरेका थिए।

निर्मलाको न्यायका निम्ति विभिन्न कार्यक्रम र आन्दोलन हुँदाहुँदै पनि सरकार मौन रहेको भन्दै धेरैले सरकार र नेपाल प्रहरीको चर्को विरोध गरिरहेका छन्।

ट्विटर प्रयोगकर्ता वसन्त गौतमले निर्मलाका बलात्कारी र हत्यारालाई सरकारले नै संरक्षण गरेको र देखावटी अनुसन्धानमा जनतालाई अलमल्याएको आरोप लगाएका छन्।

‘निर्मलाको बलात्कार र हत्या गर्नेलाई ‘राजकीय संरक्षण’ दिएर झारा टराइ शैलीको अनुसन्धानले जनता अल्मल्याउने सोच नराखे हुन्छ यो सत्ताले ! अब जनता चुप लाग्ने छैनन् । बलात्कारीलाई जोगाउनेहरू बलात्कारीसँगै सिद्धिनेछन्,’ उनको ट्विट छ।

अर्का ट्विटर प्रयोगकर्ता लिवांङी लेख्छन्, ‘तेस्रो जनयुद्ध र महिला आन्दोलनबाट आएका र उदाएका महिला नेताहरूको यो मौनताको हिसाब त इतिहासले अवश्य माग्ला नि ! एक न एक पटक सबैले जवाफ त दिनै पर्ला, त्यो बेला थाहा हुनेछ!

निर्मला हत्याकाण्डदेखि उनका निम्ति न्यायका लागि माग गर्दै विभिन्न विचार पोख्दै आएकी मीरा ढकाल लेख्छिन्, ‘बेलामा ननिकाले काँडा नि ‘खिल’ बन्छ । निर्मलाका अपराधी र हत्यारा खुलेआम छन् । कारबाही नगरे अझै कति अपराध गर्लान् ? न्याय माग्दा मुटुमा पीडाको ‘खिल’ बनिसक्यो । अहँ, कानुनी उपचारको र न्यायको अझै संकेत छैन । अन्यायको ‘खिल’ले अझै कति सताउने होला?

विभिन्न क्षेत्रका अधिकारवादी, आयुक्तहरूले समेत निर्मलाका निम्ति न्याय माग्दै सामाजिक सञ्जालमा आफ्नो विचार राख्दै आएका छन् । सरकारले चर्को आलोचना गर्दै डिजिटल संसारबाट दबाब दिइरहँदा पनि सरकारले जनतालाई चित्तबुझ्दो जवाफ दिन सकिरहेको छैन।

ट्विटर प्रयोगकर्ता रमेश अधिकारी दुई तिहाईको सरकारप्रति आक्रोश पोख्दै शुक्रबार लेखेका छन्, ‘बलात्कारी र हत्याराले दुई तिहाइको शक्तिशाली सरकारको हात–खुट्टा बाँधेर, मुखमा बुजो खोच्दै आँखामा कालो कपडा ढाकेको १०० दिन हिजो । यो दियोको प्रकाशले निर्मलाको हकमा बेपत्ता सरकार खोज्दैछ।’

सामाजिक संजालमार्फत् देशका अधिकांश क्षेत्र र विदेशबाट समेत दबाब आइरहँदा पनि निर्मलाले न्याय पाउन सकेकी छैनन्।

धेरैले वर्षौअघि पोखरामा भएको नमिता सुनिता बलात्कार र हत्याकाण्डलाई जोड्दै त्यो घटना जस्तै यो घटना पनि सरकारले बन्द गराउन खोजेको आरोप लगाएका छन्।

‘राजा ज्ञानेन्द्रले सत्ता लिएपछि जसरी नमिता सुनिताको बलात्कार र हत्याकाण्ड बन्द गर्न लगाइयो राजकीय गणतन्त्र आएपछि त्यसैगरी निर्मलाको घटनालाई सरकारले बेवास्ता गरी बन्द गराउन खोज्दै छ, आशा गरौँ यो घटना बन्द हुने छैन,’ सुरज नामक एक ट्विटर प्रयोगकर्ताको ट्विट छ।

ट्विटरमा किशोर दाहालले लेखेका छन्, ‘१३ वर्षकी बालिकाको बलात्कारपछि हत्या भएको हो, नियतवश प्रमाण मेटाइएको हो, चित्तबुझ्दो छानबिन नभएको हो । उनले न्याय नपाएसम्म सरकारी प्रचारहरू केवल प्रहसन बन्छन् । दुःखका साथ भन्नुपर्छ, १०० दिन सरकारले प्रहसनमै बितायो!’

अर्की ट्विटर प्रयोगकर्ता प्रतिभा सञ्जेल सरकारले जनता र पीडितका परिवारलाई न्याय देला भन्ने आशा गर्दै लेखेकी छन्, ‘१०० दिन बित्न लाग्यो तैपनि निर्मलाको बलात्कारी हत्यारा पक्रिन्छन् कि भन्ने आशा अझै छ । जनता झुलाउने होइन, पीडितलाई न्याय दिने सरकारको उद्देश्य होस्।’

त्यस्तै मीरा ढकालले बलात्कारीलाई खवरदारी गर्दै अर्को ट्विट पनि गरेकी छन्, ‘खबरदार ! निर्मलाका बलात्कारी र अपराधी जहाँ भए नि तिमी वा तिमीहरू एक दिन त कठघरामा उभिनैपर्छ । निर्मलाले न्याय पाउनैपर्छ । सत्यको पक्षमा उठेको आवाज त्यसै सुक्ने छैन । अन्यायविरुद्ध जुटेका यी नागरिक अब झुक्ने छैनन्।’

समाजिक सञ्जालमा धेरैको प्रश्न राज्यलाई छ सय दिन भइसक्दा पनि निर्मलाले न्याय किन पाइनन्? उनीहरू भन्छन्–  सय दिन भइसक्यो न्याय खोइ ? सरकार सामाजिक संजाल प्रयोगकर्ताहरूको प्रश्नको दबाब भए पनि अहिलेसम्म मौन रहेको भन्दै कतिले आपत्ति जनाएका छन् भने कतिले राज्य निरिह भयो भन्दै दुःख मनाइरहेका छन्।

प्रकाशित: १९ कार्तिक २०७५ ०५:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App