३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अन्य

सुसी बनाउने नेपाली हातहरू

समुद्रमा पाइने जालम माछा। यसलाई काँचै खानु स्वास्थ्यकर हो। मुटुलाई फाइदा गर्छ यसले। जापानी सससँग मज्जाले खान सकिन्छ। जापानी परिकार सुसी यतिबेला युरोपभरि लोकप्रिय छ।
बाँसले बनाइएको सानो आकारको समुन्द्री जहाज। त्यही मिनियचर जहाजमा माछा र सलादसहित नुरीमा बेरिएको भात। दुई वटा सिन्का अर्थात् चपस्टिकले खाइन्छ सुसी।
यतिबेला युरोपका प्रायः देशमा सुसी मास्टर नेपाली छन्। आफ्नो रेस्टुरेन्ट सञ्चालन गरेका प्रायः नेपालीको मुख्य मेनु नै सुसी हो। पाँच वर्षयता सुसीले एकाएक युरोपमा बजार लिइराखेको छ। युरोपेलीहरूले यसलाई रुचाउँदै गएको नेपाली व्यवसायीको अनुभव छ।
ब्रसेल्सबाट आधा घण्टा मेट्रो चढेपछि पुगिन्छ लुभेन। यो पुरानो शहर हो। अग्ला–अग्ला चर्च र भवन छन् यहाँ। यो पुरानो शहरमा पाइलैपिच्छे नेपाली अनुहार देखिन्छन्। त्यहाँ रेस्टुरेन्टमा काम गर्नेदेखि सञ्चालकसम्म नेपाली छन्। युरोपियन युनियनको मुख्यालय ब्रसेल्ससम्म सजिलै पहुँच राख्ने लुभेनको बजारमा कुकको सेतो टोपी र पोशाकमा व्यस्त छन्, गंगा राना। जालमको परिकार बनाउँदै गरेका रानाले भने, 'माग बढ्दो छ। प्रायः सुसी तयार पार्ने नेपाली नै छन्। अहिले युरोपमा सुसीको मार्केट राम्रो छ। फूलबुट्टा बनाएर दियौँ भने ५० युरोभन्दा माथि पर्छ एउटा सुसीलाई।'
नेपालमा ५० को दशकमा बनेको फिल्म 'सीमारेखा' का द्वन्द्व निर्देशक वीरमान घर्तीमगरले लुभेनमा ओन्स हाउस बार चलाएका छन्। घर्तीमगर मध्याह्नतिर असाध्यै हतारमा भेटिन्छन्। उनको ध्याउन्न हुन्छ, सुसीको मुख्य मानिने जालम माछा लिन जाने। कहिलेकाहीँ बाहिर किन्नुपर्दा महँगो पर्ने भएकाले उनी सधैँ थोकमा किन्ने गर्छन्। 'हामीले बार चलाए पनि ५ देखि ८ बजेसम्म बढी सुसी खाने ग्राहक आउँछन्। उनीहरूको माग पूरा गर्न जालमको दिनदिनै व्यवस्था गर्नुपर्छ,' वीरमानले भने।
लुभेनको बजारमा रेस्टुरेन्ट सञ्चालन गरेका अर्का व्यवसायी नेत्र रानामगर साँझ ५ बजेदेखि राति ११ बजेसम्म बेफुर्सदमा हुन्छन्। साथीसँग भेटघाट गर्नुपरे सप्ताहान्तमा गर्छन्। उनको रेस्टुरेन्ट त्यति ठूलो छैन तर यहाँ सुसी खानेको घुइँचो हुन्छ। 'यो शहरको सबैभन्दा बढी चलेको सुसी यही हो। माग दिनदिनै बढ्दो छ,' नेत्रले भने।
सुसी सजाउने जापानिज स्टाइल नै भएको अर्का रेस्टुरेन्ट सञ्चालक लोकबहादुर रानाले बताए। बाँसले बनेको सानो पानीजहाज आकारको भाँडा देखाउँदै लोकले भने, 'जालम माछा समुन्द्रमा पाइने र काँचै खाइने प्रजाति हो।' उनका अनुसार युरोपमा धेरै नेपाली सुसी मास्टर छन्।
अर्का सुसी हाउसका सञ्चालक कुल रानाले भने, 'यसमा चिल्लोचाप्लो केही राखिन्न। यसले मुटुलाई ठीक गर्ने र खाना पचाउने भएकाले युरोपमा अहिले यसको मार्केट बढेको हो।'
तीन वर्षयता धेरै नेपालीले सुसी मास्टरको पेशा अँगालेका छन्। 'म पनि सुसी मास्टर हुँ। फाइभस्टार होटलमा काम गर्छु। यसको माग यति धेरै छ कि पुर्यागउनै सकिन्न,' काभ्रेबाट स्विट्जरल्यान्ड पुगेर त्यहाँकै नागरिक बनिसकेका दुर्गा तामाङले अनुभव सुनाए।
कुनै पनि नेपालीले स्विट्जरल्यान्ड आउँदा दुःख नपाऊन् भन्ने उद्देश्यले सञ्चालन गरिएको गुरु भाइ आश्रमका संस्थापक शिव रिजाल पनि सुसी मास्टर नै हुन। गुरु भाइ आश्रममा बस्ने प्रायःले आफू सुसी मास्टर भएको बताए। पत्रकारितासमेत गरिरहेका दीपक खतिवडाले भने, 'नेपाली सुसी मास्टर युरोपभरि फैलिएका छन्।'
लुभेनका नेपाली सुसी मास्टरहरूले जापानीहरूबाट सुसी बनाउन भने सिकेका होइनन्। 'तीन वर्षअघि एक जापानीले यहाँ सुसी रेस्टुरेन्ट खोलेका थिए,' वीरमानले भने, 'तर, उनको रेस्टुरेन्ट चलेन। हामीले अन्य रेस्टुरेन्टमा काम गरेर सिकेका हौँ।'
सुसी रेस्टुरेन्ट सञ्चालनको राम्रो अनुभव छ, गमबहादुर गुरुङलाई। उनी सुसीबारे राम्रो ज्ञान राख्छन्। 'पहिले जालम माछालाई जाँडको रूपमा बनाएर खाने चलन थियो,' उनले भने, 'पहिलो विश्वयुद्धपछि यसलाई सस र पिरो अचारसँग काँचै खाने चलन आयो। यसले मुटु र पाचनक्रियालाई राम्रो गर्ने र उच्च रक्तचाप ठीक गर्ने कुरा मेडिकल्ली पुष्टि भएपछि युरोपमा यो माछा र सुसीको माग ठूलो छ। कुनै बेला युरोपभरि इटालियन पिज्जाको बजार थियो। अहिले सुसीको छ। र, यो बनाउने धेरै नेपाली छन्।'
लुभेनमा सुसी हाउस सञ्चालन गरेकी कल्पना मगर अब स्पेन र पोर्चुगलमा पनि सुसी रेस्टुरेन्ट खोल्ने योजनामा छिन्।

प्रकाशित: १७ कार्तिक २०७१ ०५:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App