३० वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

गणतन्त्र माथि हिलो छ्याप्ने दुस्साहस भयाे: प्रधानमन्त्री

दुनुवार समुदायले बनाएको मान्द्रो मायाको चिनो स्वरुप प्रधानमन्त्रीलाई दिँदै दुधौली नगरपालिका। तस्बिर: अनिल/नागरिक।

प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्र माथि हिलो छ्याप्ने दुस्साहस भएको बताएका छन्।

सिन्धुलीको दुधौली नगरपालिका-५ सिर्थौलीमा दुधौली अस्पतालको भवन उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले यस्ताे बताएका हुन्।

‘एउटा पक्षबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र माथि हिलो छ्याप्ने दुस्साहस भएको छ’, प्रधानमन्त्रीले भने ‘तर चिन्तित हुनुपर्दैन, हिजोको यो व्यवस्था नहुँदा जनतामा कस्तो थियो आज अहिले अधिकार कति छ भन्ने कुरा सबै जनतालाई स्पष्ट छ। जनताले पाएको अधिकार खोस्न चाहनेले मात्रै गणतन्त्रको विरोध गरेका छन्।’

नेकपा माओवादीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले लोकतन्त्र र गणतन्त्रका विरोधीहबाट भ्रम छर्ने काम भएकाले त्यसबाट सजग रहनुपर्ने बताउँदै गणतन्त्रको विकल्प उन्नत र सुदृढ गणतन्त्र हुने जिकिर गरे।

‘वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको स्पष्ट दृष्टिकोणसहित अघि बढेको छ’, प्रधानमन्त्री दाहालले भने ‘सरकारबाट थालनी भएका जन पक्षीय कामबाट जनतामा सरकारप्रति आशा र भरोसा बढेको बढेको छ।’ 

उनले देशको अर्थतन्त्र सुधारउन्मुख रहेकाे सुनाए। आफूले प्रधानमन्त्रीको जिम्मेवारी लिँदा देशको अर्थतन्त्र भयावह रहेकाे बताउँदै एक वर्षभित्र सबैलाई महसुस हुने गरि अर्थतन्त्र सुधारकाे काम भएको उनकाे दाबी थियाे।

विदेशी मुद्राको संञ्चितीकरण इतिहासमै राम्रो भएको भन्दै रेमिट्यान्स भित्रिने र पर्यटकको समेत वृद्धि हुँदै गएको प्रधानमन्त्रीले जानकारी दिए। अर्थतन्त्र अझै ढुक्क हुने र चलायमान हुने अवस्थामा नपुगेको भन्दै अर्थतन्त्र पूर्ण रुपमा लयमा फर्काउन महत्त्वपूर्ण बहस सुरु भएको उनकाे भनाइ थियाे।

सरकारले स्वास्थ्य र शिक्षालाई विशेष प्राथमिकता दिएको जनाउँदै सुशासनको पक्षमा सरकारले महत्त्वपूर्ण कदम चालेको प्रधानमन्त्रीले जनाए। 

प्रधानमन्त्रीका रुपमा आफूले द्विपक्षीय र बहुपक्षीय मञ्चमा नेपालका तर्फबाट जलवायु परिवर्तनका असरका मुद्दालाई प्रमुखताका साथ उठान गरेको जानकारी दिँदै उनले नेपालजस्ता पर्वतीय मुलुकका समस्या समाधान गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेको सुनाए। 

प्रधानमन्त्री दाहालले दुधौली नगर अस्पताललाई आवश्यक पर्ने उपकरण, दक्ष जनशक्ति र कर्मचारीको व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे। उनले दुधौली नगरपालिकामा सर्पदंश उपचार केन्द्रसमेत बनाउने बताए। 

‘यस क्षेत्रमा विषालु सर्पको टोकाइबाट धेरैको ज्यान जाने गरेको जानकारी मैले पाएको छु। दुधौली अस्पतालमा सर्पदंश उपचारको व्यवस्था गरिनेछ।’ उनले भने। 

गरिब, दलित, उत्पीडित जनताको हकहितबाट मात्रै गणतन्त्र संस्थागत हुने भएकाले न्यून वर्गीय जनताको हकहितमा सबै लाग्नुपर्ने प्रधानमन्त्रीको भनाई छ।

उनले कृषि क्षेत्रको विकासमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न सरकार केन्द्रित रहेकाे बताए।

आफू सरकारमा आएपछि राहदानी लाइसेन्सको लाइन हटाएको, मल बीउको सहज उपलब्धताले धान उत्पादन बढेको, विकासका लागि कृषिमा आधारित नयाँ उद्योग खोल्न रुग्ण तथा बन्द भएका उद्योगहरू खोल्नका लागि काम थालनी जस्ता काम भएकाे उनले बताए।

सङ्घीय स्वास्थ्य मन्त्रालयको अनुदान बजेटमा १५ करोड ९८ लाख ३६ हजार ७ सय ९३ रुपैयाँ ४८ पैसामा न्यू ड्राइगन निर्माण सेवा प्रलिले अस्पताल भवनको निर्माण गरेको हो। अस्पतालको बाहिरी संरचनाको निर्माण कार्य सम्पन्न भए पनि रेलिङ, लिफ्ट, लगायत धेरै इकुप्मेन्टको आवश्यकता रहेको नगर प्रमुख दिनेश अधिकारीले जानकारी दिए।

प्रकाशित: २० माघ २०८० १६:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App