१७ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

‘महरा राजनीति’ को अवसान

आम कार्यकर्ताबाट ‘शालीन-महरा सर’ को पगरी गुथाइएका माओवादी उपाध्यक्ष कृष्णबहादुर महराको शालीनतालाई उनीसँग जोडिएका विभिन्न प्रकरणले निरन्तर ओरालो यात्रामा सोझ्याए।

कुनै न कुनै प्रकरणमा जोडिएर निरन्तर ओरालो यात्रामा लागेको ‘महरा शालीनता’ यसपाला स्खलित मात्रै भएन, सुन प्रकरणसम्म आई पुग्दा उनको राजनीति समेत ‘अवसान’ को बिन्दुमा पुगेको छ।

भेप सुन प्रकरणमा मुछिएका महरालाई उनकै पार्टी नेतृत्वको सरकारले नियन्त्रणमा लिएपछि ‘महरा राजनीति’ को अवसान भएको आङ्कलन गर्ने प्रशस्त ठाउँ मिलेको छ। छानबिनका लागि नियन्त्रणमा लिइएका महरा यो मुद्दामा भलै निर्दोष ठहर होलान्, अनि उन्मुक्ति पाउलान्। तथापि उनको छवि माथि लागेको कालो धब्बाले भासमा परेको उनको राजनीतिलाई उकास हुन दिनेमा निःसन्देह आशङ्का रहन्छ।

त्यसो त, भेपको सुन प्रकरणमा आफ्नो नाम मुछिनासाथ महराले आफ्नो राजनीति सखाप बन्न थालेको महसुस गरिसकेका थिए। नागरिकन्यूजसँग दाङमा गत साउनमा भएको अन्तरवार्ताका क्रममा महराले भनेका थिए ‘मलाई र मेरो राजनीतिलाई खै किन सिद्ध्याउन खोजिँदै छरु मैले पनि बुझ्न सकेको छैन।’ कोबाट सिद्धिँदै हुनुहुन्छ ? उनको जवाफ थियो ‘कसले किन सिद्ध्याउन खोज्दै छ, त्यो त थाहा छैन।’ उनको यो अभिव्यक्ति, महराले आफू राजनीतिक पतनको बाटोमा रहेको महसुस गरेको प्रमाण काफी थियो। नभन्दै, सुन प्रकरणले उनको राजनीतिलाई समाप्तिको कोटरीमा पुर्‍याइदिएको छ।

प्रतिनिधिसभाका सभामुखको कार्यकालमा लागेको यौन दुराचारको मुद्दाले गुमेको ‘शालीन नेता’ को ‘साख’ पुनः फर्काउन चाहेका थिए महराले। प्रतिनिधिसभा सचिवालयकी महिला कर्मचारी माथि यौन दुराचार गरेको आरोपमा मुद्दा खेपेका महराले यो प्रकरणमा सफाइ पाएपछि आफ्नो चुनावी जिल्ला दाङमा आफूलाई क्रमशः सहज बनाउँदै लगेका थिए। भलै उनी माथि जोडिएको उक्त प्रकरणमा निर्दोष साबित भएपनि आम नागरिकसँग नतमस्तक देखिन्थे उनी। तथापि राजनीतिक रूपमा फेरी बौरिने अवसरका रूपमा महराले गत निर्वाचनलाई आफू अनुकूल बनाउन चाहे पनि।

माओवादी नेता कृष्णबहादुर महराका लागि गत निर्वाचन अग्नि परीक्षा नै थियो। तर उनले यो परीक्षामा सहभागी हुने हिम्मत गरेनन्। माओवादीको पहिलो रोजाइका सम्भावित उम्मेदवार महराले आफूलाई आम नागरिक सामु पहिले जसरी ‘आँखा जुधाउन’ सक्ने ल्याकत राखेनन्। तब त सम्भावित हार देखि तर्सिए अनि दाङ २ मा दोस्रो विकल्पमा रहेकी रेखा शर्मालाई उम्मेदवार बन्ने ‘सुनौलो अवसर’ प्राप्ति भयो। भलै त्यो बेला महराले नागरिकन्यूजसँग भनेका थिए ‘म अब पार्टी राजनीतिमा सक्रिय भनेर लाग्छु।’

यौन दुराचारको मुद्दाले ओरालो लागेको महराको शालीनता ‘कम ब्याक’ भएन। बरु थप ओरालो यात्राको मार्गमा कुद्ने खतरा देखि मुक्त रहेन उनको शालीनता। पहिलेको मुद्दाको ‘तुष’ मेटिन नपाउँदै सुन प्रकरणमा मुछिए उनी।

२०६४ मा दाङकी कांग्रेस नेतृ अनिता देवकोटालाई पहिलो संविधानसभा निर्वाचनमा पराजित गरेसँगै रोल्पाका महराको उँचो राजनीतिक कदको रेखाङ्कन भयो। उनलाई त्यो बेला दाङका सम्भावित एक मात्रै शीर्ष नेताका रूपमा विश्लेषण गरियो। माओवादी राजनीतिमा ठुलो प्रभाव राख्न सकेका महरालाई कतिपयले त्यो बेला दाङको विकासका ‘पर्याय’ का रूपमा अर्थ्याए। दोस्रो संविधानसभा निर्वाचन २०७० मा महरा दाङमै टिकेनन्। उनी आफ्नो गृह जिल्ला रोल्पा हानिए। उनी त्यो बेला पनि उनी विजयी बने।  

निर्वाचनका लागि दाङबाट रोल्पा फड्को मारेका महराका लागि अघिल्लो प्रतिनिधिसभा निर्वाचन रोल्पा अनुकूल बनिदिएन। उनलाई फेरी दाङ झर्नु पर्ने बाध्यता आई लाग्यो। त्यो बेला रोल्पाका अर्का नेता वर्षमान पुनले रोल्पामा महरालाई टिक्न दिएनन्। महरालाई दाङ झारेर पुनले रोल्पाको जनमतलाई आफ्नो एकल पकडमा निरन्तर राखिराख्न चाहे। अर्थात् रोल्पाको जनमत माथि महराले कहिल्यै आँखा लगाउन नपाउने अवस्था पुन निम्त्याउन चाहन्थे। नभन्दै महराको यो राजनीतिक अवसानले अब पुनलाई ‘महरा त्रासदी’ अन्त्य बनेको छ, अब रोल्पा पुन एक्लैको बनेको छ।

०७४ को निर्वाचनमा एमालेसँगको तालमेलको बलमा प्रतिनिधिसभा सदस्य चुनिएका महराको प्रतिनिधिसभा यात्रा सुखद बनेन। प्रतिनिधिसभा सभामुखको ‘ओहदा’ मा पुगेका महरा यौन दुराचार जस्तो गम्भीर मुद्दामा मुछिए।

संसद् सचिवालयकी एक कर्मचारीले महराविरुद्ध बलात्कार मुद्दा दर्ता गरेपछि महराको सभामुख पद मात्रै खोसिएन उनको राजनीतिक यात्रा एकाएक ओरालो लाग्यो। भलै महराले यो मुद्दामा सफाइ पाए। तथापि यो मुद्दाले महराको सक्रिय राजनीति ‘शिथिल’ बन्दै गयो। कार्यकर्ता पङ्क्ति सामु ‘निराश’ देखिने महराले आफूलाई पहिला जस्तो ‘भद्र’ नेताका रूपमा प्रस्तुत गर्न सहज मान्दै मानेनन्।

‘महरा सर गत निर्वाचनमा नलड्नुको कारण नै उहाँमाथि लागेको आरोप वा मुद्दाको प्रभाव नै हो,’ एक बाम विश्लेषक भन्छन् ‘उहाँमा चुनाव जित्छु भन्ने आत्म विश्वास नै भएन।’

गत निर्वाचनमा आफूलाई फेस गर्न डराएका महराले आफूलाई पार्टी राजनीतिमा मात्रै केन्द्रित गर्ने बताएपनि सुन प्रकरण उनको यो मार्गमा पनि अर्को बाधक बनिदियो। ‘आम निर्वाचन मात्रै हैन, यस्ता ठुला घटनाहरूमा नाम मुछिएपछि पार्टी आन्तरिक राजनीतिमा पनि असर पर्छ नि,’ ती बाम विश्लेषकले भने ‘पार्टी भित्र पनि त व्यक्तिगत छवि, आचरणको कुरा जोडिन्छ नि।’

यो प्रकरणका बारेमा सरकारले गर्ने अनुसन्धानले दोषी प्रमाणित वा नहुने भन्ने एउटा पाटो भयो। तर लागेको आरोपले मात्रै पनि राजनीतिक जीवनमा ठुलो नकारात्मक प्रभाव पार्ने तर्क बाम विश्लेषक गर्छन्।

‘दोषी निर्दोषीको कुरा फरक पाटो भयो,’ ती विश्लेषक भन्छन् ‘तर लागेको आरोपले मात्रै पनि राजनीतिक यात्रामा ठुलो नकारात्मक असर पार्छ।’

प्रकाशित: ५ चैत्र २०८० १९:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App