१७ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

आइपियूको महासभामा भाग लिएर स्वदेश फर्के सभामुख

अन्तर–व्यवस्थापिका सङ्घ (आइपियू) को एक सय ४८ औँ महासभामा सहभागी भई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे नेतृत्वको दस सदस्यीय प्रतिनिधिमण्डल आज स्वीट्जरल्याण्डबाट स्वदेश फिर्ता भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले नेपालको तर्फबाट विश्वमा देखापरेका भौगोलिक, क्षेत्रीय द्वन्द्व र शान्तिमा देखापरेका समस्याका बारेमा कुरा उठाएको बताए।

उनले अब संसदीय गतिविधिहरु तीव्र रुपमा अघि बढ्ने विश्वास व्यक्त गर्दै जलवायु परिवर्तन लगायतका विभिन्न ठाउँमा देखा परिरहेका समस्या समाधान गर्नलाई कुटनीतिक ढंगबाट संसदले खेल्ने भुमिका कसरी प्रभवकारी बनाउने भन्ने विषयमा छलफल भएको पनि जानकारी गराए।

यही चैत १० देखि १४ गतेसम्म सङ्घको प्रधान कार्यालय जेनेभामा सञ्चालन भएको महासभामा सहभागी हुन सभामुख घिमिरे नेतृत्वको प्रतिनिधिमण्डल यही चैत ८ गते त्यसतर्फ प्रस्थान गरेको थियो।

महासभामा सभमुख घिमिरेले ‘संसदीय कूटनीति ः शान्ति र समझदारीको लागि सेतु निर्माण’ विषयमा सङ्घीय संसद्का तर्फबाट सम्बोधन गरेका थिए।

महासभामा सभामुख घिमिरेसहित संसदीय दलका प्रमुख सचेतकहरु नेपाली कांग्रेसका रमेश लेखक, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महेशकुमार बर्तौला, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष परियार सहभागी थिए।

यस्तै राष्ट्रियसभा सदस्य गङ्गाकुमारी बेलबासे, सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरी, उपसचिव प्रदीप गुरागाई  र सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई सहभागी भएका थिए।

प्रकाशित: १६ चैत्र २०८० ११:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App