२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘मिसन–८४’ अघि प्रतिष्ठाको खोजी

इलाम–२ र बझाङ (१) मा वैशाख १५ गते हुने उपनिर्वाचनअन्तर्गत शनिबार उम्मेदवारी मनोनयन गरिएको छ। इलाम–२ मा प्रतिनिधिसभा सदस्य र बझाङ (१) मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो। यसअघि इलाम–२ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका एमालेका सुवासचन्द्र नेम्वाङको गत भदौ र बझाङ–(१) बाट सुदूरपश्मि प्रदेशसभामा निर्वाचित कांग्रेसका पृथ्वीबहादुर सिंहको गत असारमा निधन भएको थियो। उपनिर्वाचनबाट प्रतिनिधिसभा र प्रदेशसभाको अंक गणितमा खासै उलटफेर हुने स्थिति छैन। तर दलहरूले यो उपनिर्वाचनलाई २०८४ सालमा हुने आवधिक निर्वाचनसँग जोडेर प्रतिष्ठाको विषय बनाएका छन्।

गत वैशाखमा तनहुँ र चितवनमा भएको उपनिर्वाचनमा पुराना दललाई पछाडि पारेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार निर्वाचित भएका थिए। यसकारण आगामी वैशाखमा हुने उपनिर्वाचनलाई पुराना र नयाँ दल रास्वपाले थप प्रतिष्ठाको विषय बनाएका हुन्। बझाङभन्दा बढी प्रतिष्ठाको लडाइँ इलाममा छ। इलाममा आफ्नो बिरासत जोगाउने प्रयासमा एमाले छ भने कांग्रेस त्यसलाई तोडेर देशभर नयाँ सन्देश दिन चाहन्छ। चितवन र तनहुँको उपनिर्वाचन नतिजाबाट हौसिएको रास्वपा पूर्वी सिमानाको क्षेत्रमा जित निकालेर २०८४ सालमा आफ्नो उदय हुने बिगुल फुक्न चाहन्छ। अर्कातिर कोसी प्रदेशको नामकरणबाट असन्तुष्ट पहिचान पक्षधर समूह पनि उपनिर्वाचन जितेर आफ्नो मुद्दा स्थापित गर्ने ध्याउन्नमा छ। बझाङ एमालेको बलियो क्षेत्र हो। कांग्रेस नेता पृथ्वीबहादुर सिंह व्यक्तिगत प्रभाव र तत्कालीन सत्ता गठबन्धनको सहयोगमा त्यहाँबाट निर्वाचित भएका थिए। बझाङमा कांग्रेस र एमालेबीचमै प्रतिस्पर्धा हुनेछ।

इलाममा रोचक प्रतिस्पर्धा  

विगतका निर्वाचनमा इलाम–२ मा एमाले र कांग्रेसबीच प्रतिस्पर्धा हुँदै आएको छ। इलामबाट २०५६ सालदेखि लगातार एमालेका सुवास नेम्वाङले नै जित्दै आएका थिए। २०७९ सालको निर्वाचनमा नेम्वाङ ३० हजार २० भोट ल्याएर विजयी बन्दा कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत पाएका थिए। जितहारको अन्तर जम्मा ११४ मत थियो। खड्कालाई तत्कालीन सत्ता गठबन्धनका अन्य दलहरूको सहयोग थियो। वैशाखमा हुने उपनिर्वाचनमा पनि कांग्रेस–एमालेबीच नै मुख्य प्रतिस्पधा हुने मतदाताको अड्कल छ। एमालेले आफ्नो बिरासत जोगाउन स्वर्गीय नेता सुवासका कान्छा छोरा सुहाङलाई उम्मेदवार बनाएको छ। कांग्रेसले २०७९ सालको निर्वाचनमा सुवाससँग पराजित खड्कालाई नै उम्मेदवार बनाएको छ। खड्का इलाम कांग्रेसका सभापति हुन्।

उपनिर्वाचनमा नयाँ दल रास्वपा पनि थपिएको छ। उसले पनि उपनिर्वाचनलाई प्रतिष्ठाको विषय बनाएकाले प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ। रास्वपाले माओवादी केन्द्रनिकट पत्रकार संगठनमा आबद्ध मिलनकुमार योङयाङ लिम्बूलाई पार्टीमा भिœयाएर उम्मेदवार बनाएको छ। उनी पहिचानको मुद्दा उठाउँदै आएका पात्र पनि हुन्। कोसी प्रदेश नामकरणबाट आन्दोलित पहिचानवादी समूह पक्षका डकेन्द्रसिंह लिम्बूले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन्। इलाम–२ जनजाति बाहुल्य क्षेत्र भएकाले डकेन्द्रसिंहको उम्मेदवारीले पनि उपनिर्वाचनलाई थप रोचक बनाउने जानकार बताउँछन्।

इलाम–२ मा राप्रपाले लक्ष्मी गुरुङ, नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले जितबहादुर राई, जनमत पार्टीले प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले श्यामबहादुर दर्जी, मंगोल नेसनल अर्गनाइजेसनले मनिबहादुर लिम्बूलाई उम्मेदवार बनाएको छ। उक्त क्षेत्रमा दलका १२ र स्वतन्त्र आठ उम्मेदवारले मनोनयन दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ। अघिल्लो पटक कांग्रेसलाई सघाएको माओवादी केन्द्रले यसपटक एमाले उम्मेदवार सुहाङलाई सहयोग गर्ने भएको छ।

इलाम–२ मा एक लाख १५ हजार ३४२ मतदाता छन्। उक्त क्षेत्रमा यसअघि समानुपातिक निर्वाचनतर्फ एमालेले २६ हजार ५६२, कांग्रेसले २२ हजार ३३३, माओवादी केन्द्रले ५ हजार १५३, रास्वपाले ४ हजार ६८६, नेसनल मंगोल अर्गनाइजेसनले एक हजार ६६१, राष्ट्रिय जनमुक्ति पार्टीले एक हजार ४१३, संघीय लोकतान्त्रिक मञ्चले एक हजार ३२९, राप्रपाले एक हजार १९१, जनता समाजवादी पार्टी (जसपा) ले ९०६ र नेकपा एसले ५८६ मत पाएका थिए।

बझाङमा कांग्रेस–एमालेबीच नै टक्कर हुने

२०५६ सालसम्म बझाङमा कांग्रेस बलियो थियो। त्यसपछिका निर्वाचनमा एमाले विजयी हुँदै आयो। गएको निर्वाचनमा भने तत्कालीन सत्ता गठबन्धनले एमाले उम्मेदवारलाई हरायो। बझाङबाट प्रतिनिधिसभामा नेकपा एसका भानुभक्त जैसी निर्वाचित हुँदा प्रदेशसभातर्फको निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेस र निर्वाचन क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका उम्मेदवार विजयी भए। प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसका पृथ्वीबहादुर सिंहले १७ हजार ११२ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडाले १३ हजार ३३६ मत पाएका थिए। यस आधारमा उपनिर्वाचनमा पनि कांग्रेस–एमालेबीचमै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। त्यहाँ कांग्रेसले स्वर्गीय पृथ्वीबहादुर सिंहका छोरा अभिषेकलाई उम्मेदवार बनाएको छ। एमालेले दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाएको छ। गत निर्वाचनमा कांग्रेसलाई सहयोग गरेका माओवादी केन्द्र र नेकपा एसले यसपटक आफ्नै उम्मेदवार उठाएका छन्। माओवादी केन्द्रबाट जनक बुढा र नेकपा एसबाट दिलबहादुर सिंहको उम्मेदवारी परेको छ। बझाङमा विभिन्न १२ दलले उम्मेदवारी दर्ता गराएका छन्।

प्रकाशित: २५ चैत्र २०८० ०६:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App