१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

चुनावी सभालाई सम्बोधन गर्न अध्यक्ष ओली इलाम आउँदै

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपीशर्मा ओली आज (मंगलबार) इलाम आउने भएका छन्। इलाम क्षेत्र नम्बर २ को आसन्न उपनिर्वाचनका लागि भोलि (बुधवार) हुने चुनावी सभालाई सम्बोधन गर्न ओली आज इलाम आउने भएका हुन्। 

एमालेले भोलि देउमाई नगरपालिकाको मंगलबारे बजारमा चुनावी सभा आयोजना गरेको छ। सभामा ओलीसहित एमाले उपाध्यक्ष रामबहादुर थापा बादल, सचिव योगेश भट्टराई र कोसी प्रदेश इन्चार्ज रघुवीर महासेठलगायत एमालेका केन्द्रीय, प्रदेश कमिटीका पदाधिकारीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले जिल्ला कमिटीले जनाएको छ। 

वैशाख १५ मा इलाम क्षेत्र २ मा उपनिर्वाचन हुँदै छ । एमाले, नेकपा (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी र नेपाल परिवार दलबाट साझा उम्मेदवारका रूपमा एमालेका सुहाङ नेम्बाङ छन् । ओली आजै इलाम आउने र भोलि चुनावी सभामा सहभागी हुने कार्यक्रम रहेको एमालेले जनाएको छ।

क्षेत्र २ को उपनिर्वाचनमा अहिलेसम्म एमालेका सुहाङ नै अङ्कगणितका आधारमा अघि देखिन्छन्। २०७९ सालमा भएको निर्वाचनमा एमालेका सुवासचन्द्र नेम्बाङ यो क्षेत्रबाट विजयी भएका थिए। नेम्बाङले ३० हजार २० र तत्कालीन सत्ता गठबन्धनका नेपाली कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले २९ हजार नौ सय छ मत ल्याएका थिए। रास्वपाका प्रकाश सापकोटाले एक हजार तीन सय ८० मत ल्याएका थिए। समानुपातिकतर्फ एमालेले २६ हजार पाँच सय ६२, कांग्रेसले २२ हजार तीन सय ३३, माओवादीले पाँच हजार एक सय ५३ र रास्वपाले चार हजार छ सय ८६ मत ल्याएका थिए।

अहिले एमाले, माओवादीलगायत चार दलको गठबन्धन हुँदा कांग्रेस एक्लै भिड्दै छ। कांग्रेसका डम्बरबहादुर खड्का नै अहिले पनि उम्मेदवार छन् । उपनिर्वाचनमा १२ दल र सात स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट मिलन लिम्बू, पहिचान पक्षधरबाट स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम चुनावी प्रतिस्पर्धामा छन् । जनमत पार्टीका प्रेमबहादुर लिम्बू, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मंगोल नेसनल अर्गनाइजेसनका मनीबहादुर लिम्बू, नेसनल रिपब्लिक नेपालका धनराज रानामगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) समाजवादीबाट जितबहादुर राई उम्मेदवार बनेका छन् । 

राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्तविक्रम साह, राप्रपा नेपालका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपालीले उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्रबाट डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार साही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्याल पनि उम्मेदवार छन् ।

प्रकाशित: ४ वैशाख २०८१ १२:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App