१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

बहुमत नपुगेपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा दुवै दाबी अस्वीकृत, पुन दाबी पेश गर्न आह्वान

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि पेस भएका दुवै दाबी अस्वीकृत भएका छन्।

प्रदेश प्रमुख नजिर मियाँले दिएको समयभित्र गत आइतबार नागरिक उन्मुक्ति पार्टीका दुई जना लक्ष्मण किशोर चौधरी र कैलाश चौधरीले फरक फरक दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए।

दुई दिनको अध्ययनपछि प्रदेश प्रमुख मियाँले दाबी नपुग्ने भन्दै दुवै प्रस्ताव अस्वीकृत गरेका हुन्। उन्मुक्तिका संरक्षक रेशम चौधरी पक्षका लक्ष्मण किशोरले नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा तथा अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका कैलाशले नेकपा एमाले र माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

नेकपा (एकीकृत समाजवादी) ले लक्ष्मणलाई दिएको समर्थन फिर्ता लिएपछि आवश्यक २७ सिट नपुग्ने र कैलाशको दाबीमा आवश्यक बहुमत नदेखिएको भन्दै प्रस्ताव फिर्ता गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

दुवै दाबी अस्वीकृत भएपछि प्रमुख मियाँले पुनः २ दिनको समय दिएर मुख्यमन्त्रीमा दाबी पेस गर्न दलहरुलाई आह्वान गरेका छन्। प्रदेश प्रमुखको कार्यालयले मंगलबार सूचना जारी गर्दै ६ गते साँझ ५ बजेभित्र दाबी पेश गर्न भनेको छ।  

प्रकाशित: ४ वैशाख २०८१ १८:०६ मंगलबार