२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

दुर्गा प्रसाईंको ‘नो भोट’ मा प्रशासनको ‘नो कमेन्ट’!

इलाम क्षेत्र नम्बर २ मा यहि वैशाख १५ गते हुन लागेको उपनिर्वाचनलाई लक्षित गरी वैशाख ६ मा इलाम चोक बजारमा ‘नो भोट अभियान’को आमसभा चल्यो। आमसभामा सयौं सहभागी भए। र, प्रायः सबै वक्ताले आफ्नो भाषणमा नछुटाइ भने–‘नो भोट, नो भोट, नो भोट।’

आमसभा आयोजक थियो–‘धर्म, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियान।’ र, आयोजक समितिका केन्द्रीय संयोजक थिए–झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईँ। उनले पनि इलाम २ का मतदातालाई भने–‘भरसक भोट हाल्नै नजानुहोला।’

उनले त्यतिमात्रै भनेनन्, विभिन्न नेतालाई सार्वजनिक स्थलबाटै दोषी करार गर्दै, सुरक्षाकर्मीप्रति वितृष्णा फैलाउने अभिव्यक्ति पनि दिन भ्याए।

‘महाभियान’को झन्डा हल्लाउँदै झापातिरबाट आएका करिब पाँच दर्जन सवारी साधनमध्ये करिब एक तिहाईभन्दा धेरै भारतीय नम्बर प्लेटका थिए। ती सवारीमा पनि ‘धर्म, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियान’ लिखित ब्यानर राखिएका थिए।

इलाम बजार वैशाख १५ मा उपनिर्वाचन हुन लागेको इलामको क्षेत्र नम्बर २ मै पर्छ। उपनिर्वाचनका लागि १२ दल  र सात स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन्। ती दल र उम्मेदवार मतदाता रिझाउँदै घरदैलो र आमसभामा व्यस्त रहेका बेला क्षेत्र नम्बर २ कै केन्द्र इलाम बजारमा भने निर्वाचनविरोधी ‘नो भोट’को नारा घन्किरह्यो, आमसभा चलिरह्यो।

स्थानीय प्रशासनलाई यो सबै जानकारीमा नहुने कुरा भएन। कार्यक्रमस्थलभन्दा करिब पाँच सय मिटरमा रहेको जिल्ला प्रशासन कार्यालयमा त आयोजकले केही दिनअघि आफ्नो कार्यक्रम गर्ने भन्दै कार्यक्रमस्थलको अनुमति नै लिएको थियो। निर्वाचन आउनु साताअघि चोकबजारमा खुलमखुला निर्वाचनविरोधी अभियान चलिरहँदा प्रशासनले ‘सुरक्षा’ दिनेबाहेक प्रतिक्रिया जनाएन। ‘नो भोट’ प्लेकार्ड ¥यालीमा देखिए। त्यतिमात्र होइन, सभामा प्रसाईं आफैं सहभागी हुँदा उनको स्वागतका लागि ‘पञ्चकन्या’का नाममा बालबालिका प्रयोग गरियो।

अहिले इलाम चोक बजारमा मात्र होइन, दर्जनौ सार्वजनिकस्थलमा उम्मेदवारलाई भोट माग्दैगरेका प्रचार सामग्री यत्रतत्र छन्। माइखोलाबाट इलाम नगरपालिकाको २ नम्बर क्षेत्र छिर्ने बित्तिकै मेची राजमार्गका छेउछाउमा दल र उम्मेदवारका प्रचार सामग्री, पोस्टर, झन्डा भरिएका छन्। इलाम चोक बजारको पीपलको रुखमा सबैजसो दल र उम्मेदवारका चुुनावी प्रचार सामग्री झुन्डाइएका छन्। बजारका सार्वजनिकस्थलका चुनावी प्रचार सामग्री हेर्दा लाग्छ–चुनावी चाड आएको छ।

उपनिर्वाचनको मुखमा चुलाचुली गाउँपालिकामा दलको तर्फबाट कुनै संस्थालाई पैसा (चेक) बाँड्दै गरेको तस्बिर मिडियामा सार्वजनिक भयो। सरकारी नियुक्तिमा रहेका पदाधिकारीले मरब क्याम्पसका विद्यार्थीलाई भलिबल र नेट (जाली) दिँदै ‘फलानो चिह्नमा भोट दिनुहोला’ भनेको विद्यार्थी बताइरहेका छन्। चुनावी घरदैलोमा गएका कतिपय उम्मेदवारले आचारसंहिताविपरीत सवारीका साधन प्रयोग गरिरहेको दिनहुँ देखिइरहेको छ। तर, न कुनै नियमन हुन सकेको छ, न कुनै अनुगमन नै।

निर्वाचन आचारसंहिता–२०७९ को परिच्छेद २ दफा ४ (थ) मा निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्नेगरी विचार राख्न, प्रचारप्रसार गर्न नपाइने व्यवस्था छ। ‘चोकबजारमै निर्धक्कसाथ दुर्गा प्रसाईं र उनका अभियन्ता आफैं उपस्थित भएर निर्वाचनको चर्काे विरोध गरिरहँदा प्रशासन निरीह बनेको देखियो,’ महेन्द्ररत्न बहुमुखी क्याम्पसका पूर्वप्रमुख तथा वरिष्ठ अभिवक्ता जसबहादुर लुंगेलीले भने, ‘कानुनमा नो भोटको अधिकार छैन। निर्वाचन हुनलागेको क्षेत्रमा आचारसंहिताविपरीत यस्तो कार्यक्रम गर्नु र अभिव्यक्ति दिनु मिस लिडिङ हो।’

उनले त्यो कार्यक्रममा राष्ट्रिय झन्डासमेत दुरुपयोग गरिएको टिप्पणी गरे। सुँगुरको खोरदेखि घर र बिजुलीका खम्बामा समेत राष्ट्रिय झन्डा दुरुपयोग गरिएको उनले बताए। ‘सार्वजनिक मञ्चबाट कुनै व्यक्तिलाई दोषी करार गर्न मिल्छ ?’ उनले भने, ‘प्रशासनले कार्यक्रमको अनुमति दिँदा के–के कार्यक्रम गर्ने हो भनेर जानकारी नलिनु, कसैले निर्वाचनविरोध कार्यक्रम आयोजना गरेर तथानाम गाली गर्नु सोझै आचारसंहिताविपरीत छ। प्रशासन ज्यादै लाचार देखियो।’

इलामका अगुवाले निर्वाचन अभियान चलिरहेका बेला चोक बजारमा यस्तो गतिविधि सम्भव हुनुलाई अनौठो मानेका छन्। नेपाल पत्रकार महासंघ कोशी प्रदेशका पूर्वउपाध्यक्ष सोमनाथ सुसेलीले निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन हुँदा प्रशासन मुकदर्शक बनेको बताए। ‘दल र उम्मेदवार चुनावी अभियानमा छन्, तिनीहरूलाई विभिन्न आधारहीन लाञ्छना लाउँदै सार्वजनिक स्थलमा अनावश्यक गाली गर्न कुन कानुनले दिएको छ ?’ उनले भने, ‘प्रशासन उनीहरूको गतिविधिमा मुकदर्शक बन्यो, किन नियन्त्रण गर्न नसकेको हो भन्ने अनौठो लागेको छ।’

निर्वाचन सार्वजनिकस्थलमा चुनावी प्रचार गर्न नपाउनेबारे आचारसंहितामा स्पष्ट व्यवस्था छ। सामाजिक सञ्जाल र सञ्चारका माध्यमले पालना गर्नुपर्ने आचारसंहिता पनि छ। तर, इलाम २ का सार्वजनिकस्थल हेर्दा अहिले आचारसंहिताको पालना अत्यन्त कमजोर देखिन्छ।

अधिकारकर्मी देवेन्द्र विश्वकर्माले आचारसंहिताविपरीतका गतिविधिलाई प्रशासनले ख्याल नगरेको बताए। ‘निर्वाचनलाई कुनैपनि हिसाबले प्रभावित बनाउनेगरी कसैले पनि नेगेटिभ गतिविधि गर्न मिल्दैन,’ उनले भने, ‘तर, यहाँ त चोकबजारमा निर्वाचनविरोधी सभा आयोजना गरेर उम्मेदवार, दललगायतविरुद्ध आगो ओकल्दासमेत प्रशासन चुप देखियो, यस्तो नहुनुपर्ने हो। चुनाव क्षेत्रमा यस्तो गतिविधि अनपेक्षित थियो।’

प्रशासनले भने प्रसाईंको महाभियानले इलाम बजारमा वैशाख ६ का लागि कार्यक्रम गर्न अनुमति लिएको तर ‘नो भोट’को विषयमा कार्यक्रम हुने भन्ने जानकारी नदिएको जनाएको छ। सिडिओ इन्द्रदेव यादवले प्रसाईंको समूहले राष्ट्रियस्तरमै कार्यक्रम गरिरहेको भन्दै इलाममा यो कार्यक्रम हुनुलाई ‘स्वभाविक’ भएकोे जबाफ दिए। ‘त्यो दिन (वैशाख ६) हामी पनि निर्वाचन आयोग र गृह मन्त्रालयबाट आएको टिमसँगको छलफलमा थियौं,’ सिडिओ यादवले भने, ‘उनीहरूले गरेका गतिविधि त कार्यक्रममा मात्रै होइन, सामाजिक सञ्जालमै पनि छरपस्ट छँदैछन् नि !’

सिडिओ यादवले निर्वाचन आचारसंहिता पालनामा प्रशासन र प्रहरीले मात्रै सम्भव नहुने बताए । ‘आचारसंहिताको नियमन र कडाई त हामीले नै गर्ने हो, गरिरहेका पनि छौं,’ उनले भने, ‘आचारसंहिता भनेको हाम्रो साउथ एसियाको कन्ट्रीहरूमा बनाउने बेलामा धेरै हौसिएर लेख्ने गरिन्छ, पालना गर्नेले गर्दैन। यो कोही एकजना सिडिओ वा एकजना एसपीले गरेर भ्याउँदैन, आइडल कुरा गरेर हुँदैन।’

उनले प्रहरीले कतिपय ठाउँका झन्डा र पोस्टर भने आफैं हटाइदिएको बताए। ‘उम्मेदवारलाई त्यस्ता सामग्री हटाउन भन्यो भने हुन्छ भन्नुहुन्छ तर हटाइँदैन,’ उनले भने, ‘सबै इमान्दार बन्नुपर्छ।’ उनले आचारसंहिता उल्लंघनविरोधी तीन निवेदन परेको र केही उम्मेदवारलाई स्पष्टीकरणसमेत सोधिएको जबाफ दिए।

प्रकाशित: १० वैशाख २०८१ ०९:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App