२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कतारी राजा काठमाडौंमा नेपालमा लगानीको अपेक्षा

नेपालीको प्रमुख श्रम गन्तव्य कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी मंगलबार काठमाडौं आएका छन्। दुईदिने राजकीय भ्रमणका लागि काठमाडौं आएका उनले शीतलनिवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।

भेटवार्तामा राष्ट्रपति पौडेलले नेपालको विकास र समृद्धिका लागि लगानी गर्न कतारी राजा थानीलाई आग्रह गरे। कतार विश्वकै धनी मुलुकको सूचीमा छ। कतारको विकासमा नेपाली कामदारले योगदान पु¥याएको स्मरण गराउँदै राष्ट्रपति पौडेलले नेपालको पर्यटन, कृषि, जलविद्युत्लगायत क्षेत्रमा लगानी गर्न कतारी राजालाई आग्रह गरेको जानकारी उनका प्रेस सल्लाहकार किरण पोखरेलले दिए।

‘नेपाल आर्थिक विकास र समृद्धिको यात्रामा अगाडि बढेकाले नेपालका प्रयासहरूमा कतारबाट लगानीको अपेक्षा राष्ट्रपति पौडेलले राख्नुभयो,’ पोखरेलले भने। ‘दुई मुलुकबीच व्यापार, पर्यटन र लगानीका क्षेत्रमा सहकार्यको राम्रो सम्भावना रहेकाले राष्ट्रपति पौडेलले त्यसका लागि सहयोगको अपेक्षा राख्नुभएको हो,’ उनले भने।

भ्रमणले नेपाल र कतारबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको राष्ट्रपति पौडेलले बताए। जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्ने जस्तो साझा मुद्दामा सहकार्यका लागि पनि राष्ट्रपति पौडेलले कतारी राजासँग आग्रह गरेका छन्।

राष्ट्रपति पौडेलले मध्यपूर्वमा देखिएको द्वन्द्वले नेपाललाई चिन्तित तुल्याएको भेटका क्रममा बताए। उनले यस क्षेत्रमा युद्धको अन्त्य र शान्तिका लागि कतारले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा पनि गरे।

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार पोखरेलका अनुसार भेटमा कतारी राजाले कतारको विकासमा नेपालीको ठूलो योगदान रहेको भन्दै आभार प्रकट गरे। उनले दुई देशबीच बुधबार हुने समझदारी तथा सम्झौताले नेपालको जलस्रोत, कृषि, पर्यटन क्षेत्रमा कतारी लगानीको नयाँ सम्भावना पहिल्याउन सक्ने विश्वास व्यक्त गरे।

कतारी राजाले जलवायु परिवर्तनका कारण उत्पन्न असरले गर्दा विश्व नै समस्यामा परेको र समस्या न्यूनीकरणसम्बन्धी सम्झौताहरू सबै मिलेर कार्यान्वयन गरे राम्रो परिणाम आउने बताएका थिए।

भेटवार्तामा कतारका राजाले नेपालसँग अझ राम्रो सम्बन्ध स्थापित गरेर सहयोगका थप क्षेत्र पहिचानका लागि यो भ्रमण उपलब्धिमूलक हुने विश्वास व्यक्त गरेका छन्। उनी करिब डेढ सयजनाको टोलीसहित नेपाल आएका हुन्।

नेपालले आयोजना गर्न लागेको लगानी सम्मेलनको पूर्वसन्ध्यामा भएकोे कतारी राजाको भ्रमणले अन्तर्राष्ट्रियस्तरमा नेपालबारे सकारात्मक सन्देश जाने अपेक्षा गरिएको छ।

कतारको विकासमा नेपाली कामदारले योगदान पु¥याएकाले नेपालको विकासमा कतारको लगानी भित्र्याउन पहल गर्नुपर्ने सरोकारवालाले बताएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारका अध्यक्ष रमेश भट्टले कतारबाट नेपालले लाभ लिनुपर्ने बताए।

नेपाली युवाले कतार पुगेर कतारको विकासमा योगदान पु¥याएको उनले बताए। कतार विश्वको धनी मुलुक भएकाले नेपालको पर्यटन, कृषि, जलविद्युत्, शिक्षा, स्वास्थ्य क्षेत्रमा लगानी गर्न आग्रह गर्नुपर्ने भट्टले बताए। ‘कतारको लगानी नेपालमा भित्र्याउनुपर्छ,’ भट्टले भने, ‘कतारले अरू देशमा सहयोग गरेकाले नेपालले पनि सहयोग लिन सक्नुपर्छ।’

कतारमा व्यवसाय गर्दै आएका गैरआवासीय नेपाली आरके शर्माले कतारबाट रासायनिक मल ल्याउन सकिने बताए। ‘नेपालमा सधै‌ रासायनिक मलको अभाव हुन्छ,’ शर्माले भने, ‘कतारसँग जिटुजी गरेर मल ल्याउन सकिने सम्भावना छ।’

कतारी राजाको सम्मानमा राष्ट्रपति पौडेलले मंगलबारै सोल्टी होटलमा रात्रिभोज दिए। कतारी राजाको सम्मानमा मंगलबार सरकारले सार्वजनिक बिदा पनि दिएको थियो। कतारी राजाको भ्रमणलाई लिएर काठमाडौंमा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ।

यो मध्यपूर्व एसियाबाट नेपालमा भएको पहिलो उच्चस्तरको भ्रमण हो। कतारी राजाको स्वागतका लागि काठमाडौंका मुख्य सडकमा स्वागतद्वार, तुल, ब्यानर राखिएको छ। कतारी राजाले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गर्ने कार्यक्रम छ।

 नेपाल र कतारबीच युवा तथा खेलकुद क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्र र शिक्षा तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा हुने सहकार्यसम्बन्धी समझदारीपत्र हस्ताक्षर हुने सञ्चारमन्त्री रेखा शर्माले बताइन्।

नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो। नेपालले सन् २००५ मार्च २१ मा कतारसँग श्रम सम्झौता गरेपछि नेपालीहरू रोजगारीका लागि कतार जान सुरु गरेका हुन्।

त्यसयता श्रम सम्झौता पुनरावलोकन हुन सकेको छैन। नेपालबाट कतारमा कामदार मात्र नभएर सामान पनि निर्यात हुन्छ। कतार नेपालको व्यापारिक साझेदार पनि हो। नेपालको चिया, कफी, पिउने पानी, मसला, अलैंची, कतारमा निर्यात हुँदै आएको छ।

प्रकाशित: १२ वैशाख २०८१ ०६:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App