२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

इलाममा धुइरिए ‘इलेक्सन टुरिस्ट’

इलाम क्षेत्र नम्बर २ मा वैशाख १५ को उपनिर्वाचन नजिकिएसँगै जिल्लामा ‘इलेक्सन टुरिस्ट’ को चहलपहल बढेको छ। मतदाता नै नभएका व्यक्ति जिल्ला बाहिरबाट हुलका हुल आउन थालेपछि इलामका होटलहरू भरिन थालेका छन्। निर्वाचन अभियानमा आउनेहरूका कारण अहिले जिल्लाको आर्थिक अवस्था ‘अत्यन्त’ चलायमान बनेको छ।

अहिले उपनिर्वाचनका लागि दल र उम्मेदवार चुनावी घरदैलो, आमसभा, मतदातासँग भेटघाटमा व्यस्त छन्। धेरैजसो दलका शीर्ष नेता, कार्यकर्ता, सहयोगी, उम्मेदवारका अभियन्तालगायत इलाम बजार र गाउँ–गाउँ पुगिरहेका छन्। झापा, मोरङ, काठमाडौंलगायत स्थानबाट निर्वाचन अभियानमा लाग्न, रिपोर्टिङ गर्न, अनुगमन र घुमघाम गर्न आउनेको संख्या ह्वात्तै बढेको हो। कतिपय उम्मेदवारले आफ्नो प्रचार र प्राविधिक टोली पनि जिल्ला बाहिरबाटै ल्याएका छन्।

देशभरमा उपनिर्वाचन हुने प्रतिनिधिसभाको एउटैमात्र निर्वाचन क्षेत्र भएकाले पनि राजनीतिमा चासो राख्नेहरू इलाममा केन्द्रित भएका हुन्। विभिन्न दिल र समूहले ‘शक्ति देखाउन’ पनि बाहिरी जिल्लाबाट गाडीका गाडी मान्छे ल्याएकाले इलाम भरिभराउ भएको छ। एक होटल व्यवसायी भन्छन्, ‘दिउँसो कार्यक्रममा यी मान्छै इलामकै मतदाता हुन् भनेजस्तोगरी शक्ति देखाइन्छ, राति भने उनीहरू घर फर्किन भ्याउँदैनन्, बास बस्छन् र भोलि–पर्सिपल्ट उतै फर्किन्छन्।’

अहिले आफ्ना उम्मेदवार जिताउन शीर्ष नेता नै गाउँ–गाउँ पुगिरहेका छन्। उनीहरूसँग केन्द्रबाट मात्र होइन, छिमेकी जिल्लाबाट पनि हुलका हुन् मानिस इलाम आउँदैछन्। यसरी आएका व्यक्ति कतिपय घरदैलोसम्म पुगिरहेका छन् भने कतिपय चाहिँ चुनावी सभामा देखापरेर घरै फर्किनेगरेका छन्। कुनैपनि दलको एक शीर्ष नेता आउँदा उनीहरूसँग जम्बो टोली पनि जिल्लाबाहिरबाट भित्रिरहेको छ।

चुनावी अभियानमा बाहिरबाट आएका पर्यटकका कारण जिल्लाको आर्थिक अवस्था ज्यादै चलायमान भएको व्यवसायी बताउँछन्। इलामस्थित ग्रिनभ्यु होटलका डम्बर सापकोटा भन्छन्, ‘निर्वाचन घोषणा भएयता होटल प्रायः खाली छैन। यसले लामो समयदेखि जर्जर होटलको अवस्था सुधार्न केही टेवा दिने आशा छ।’

इलाम उद्योग वाणिज्य संघ अध्यक्ष कृष्ण पौडेल निर्वाचनका कारण जिल्लाको आर्थिक अवस्था धेरै चलायमान भएको बताउँछन्। जिल्ला सदरमुकाममात्र होइन, चुनावी पर्यटकहरू गाउँ–गाउँसम्म पनि पुगिरहेकाले विशेषगरी क्षेत्र २ का गाउँ–गाउँको आर्थिक अवस्थामा तरंग फैलिएको उनको भनाइ छ। ‘पहिलेका निर्वाचनमा मानिस गाउँ त पुग्थे तर प्रायः त्यही क्षेत्रका व्यक्तिमात्रे हुन्थे,’ उनले भने, ‘अहिलेको चुनावमा जिल्लाबाहिरबाट आउनेको संख्या धेरै भएकाले पनि उनीहरूले यात्रा गर्दा, बसोबास गर्दा, खाना खाँदा यहाँको आम्दानी बढिरहेको छ।’

अध्यक्ष पौडेलले अहिले होटल, यातायात, पान पसलदेखि सबैतिरको व्यवसाय बढेको बताए। ‘यतिबेला सामान्यतया गाडी रिजर्भ गर्न खोज्यो भने पाइँदैन, होटलका कोठा पाउन मुस्किल छ, कतिपय पान पसलमा समेत पानको पात सकिएको व्यवसायी बताउँदैछन्,’ पौडेलले भने, ‘लामो समयदेखि सुस्त रहेको आर्थिक अवस्थामा यो निर्वाचनले धेरै सुधार ल्याएको संकेत छ।’

उनले प्रायः अरूबेला जिल्ला आउने दलका शीर्ष नेतासमेत यो पटक गाउँसम्मै पुगेकाले पनि आर्थिक गतिविधि गाउँसम्म चलायमान हुन पाएको बताए। ‘यो निर्वाचनले इलामको पर्यटनको समेत राम्रो प्रचार भइरहेको छ,’ अध्यक्ष पौडेलले भने, ‘इलाम भनेको फिक्कल, कन्याम, अन्तुमात्र होइन, माइखोलावारि पनि इलामका दर्जनौं पर्यटकीय क्षेत्र छन् भन्ने पनि धेरै पर्यटकले देश–विदेशमा थाहा पाएका छन्। यसपटक विल्कुल नयाँ ठाउँहरूबाट पनि चुनावी अभियानका लागि मानिस आएको देखिन्छ।’

झापाबाट इलाम प्रवेश गर्ने जोरकलश सीमास्थित पर्यटन सूचना केन्द्रका अनुसार वैशाख १ देखि १० सम्म पाँच हजार पाँच सय ७५ पर्यटक इलाम भित्रिएका छन्। चैतमा आठ हजार र फागुनमा १३ हजार रहेको यो संख्या वैशाख पहिलो साता नै पाँच हजार नाघेको केन्द्रका सूचना संकलक गगन घिमिरेले जानकारी दिए । ‘तर, इलाम प्रवेश गर्ने सबै गाडी र पर्यटकको भने यहाँ पनि रेकर्ड रहँदैन,’ उनले भने, ‘जसले केन्द्रमा जानकारी गराउँछ, उसको मात्रै विवरण हो यो।’ विवरण टिपाउनेभन्दा नटिपाउनेको संख्या बढी हुने अनुमान गर्न सकिन्छ। र, इलाममा जोरकलसमात्र नभई अरू सीमाबाट पनि मानिस भित्रिन्छन्।

इलामस्थित होटल एसोसिएसन अध्यक्ष देवीप्रसाद पौडेलले इलाम नगर क्षेत्रका करिब डेढ सय होटल अहिले निर्वाचनका लागि भित्रिएका मानिसले खचाखच भएको बताए। उनले दिनहुँ तीन हजारभन्दा बढी मानिस इलामका होटलमा बास बसिरहेको जानकारी दिए। ‘गएका निर्वाचनहरूमा यसरी भिड लाग्दैनथ्यो,’ उनले भने, ‘चुनावी सभाको अघिल्लो दिन र सभाको दिन प्रायः मानिस खचाखच हुनेगरेका छन्।’

जिल्ला ट्राफिक प्रहरी कार्यालयले उम्मेदवारी मनोनयन दर्ता (चैत २४) पछि इलाम आउने गाडीको संख्या बाक्लिएको जनाएको छ। जिल्ला ट्राफिक प्रमुख डम्बरबहादुर दियालीले निर्वाचन नजिकिएसँगै इलाममा साविकभन्दा ५० प्रतिशत बढी सवारीका साधन इलाम भित्रिरहेको बताए। ‘इलामका विभिन्न जिल्लाबाट साना र ठूला सवारीका साधनमा मानिसको हुल आइरहेको छ,’ उनले भने, ‘कुन ठाउँबाट कति संख्यामा सवारीका साधन आए भन्ने त रेकर्ड छैन तर धेरै टाढाबाट पनि चुनाव केन्द्रित भएर हुलमै मानिस आइरहेका छन्।’

शीर्ष नेतासँग जम्बो टोली

गत वैशाख ५ मा नेकपा (एमाले)अध्यक्षसमेत रहेका केपी शर्मा ओली इलामको मंगलबारेमा आयोजित चुनावी सभामा सहभागी भए। एमाले उपाध्यक्ष तथा पूर्वउप्रधानमन्त्री रामबहादुर थापा बादल, नेपाल परिवार दल अध्यक्ष एकनाथ ढकाललगायत पनि त्यहाँ सहभागी भए। ओली वैशाख १२ मा पनि चुलाचुलीको सभामा सहभागी हुँदैछन्। एमालेले सुहाङ नेम्बाङलाई उम्मेदवार बनाएको छ।

अर्का पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल पनि इलाम क्षेत्र २ मा चुनावी घरदैलो गर्दै आइपुगे। खनालसँग पार्टीका अन्य शीर्ष नेतासमेत आए। खनाल चैत २४ मा उम्मेदवारी मनोनयन दर्ताको दिनसमेत इलाम आएका थिए। नेकपा (एस)बाट जितबहादुर राईलाई उम्मेदवार छन्।

उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष रवि लामिछाने पनि पटक–पटक इलाम क्षेत्र २ मा आए। उनीसँग रास्वपाको केन्द्रीय जम्बो टोलीसमेत आयो । त्यतिमात्र भएन, रास्वपाका हरेकजसो चुनावी सभामा जिल्लाभित्रका मतदाताभन्दा बाहिरका व्यक्तिको ठूलो भिड हुनेगरेको ट्राफिक प्रहरी स्रोत बताउँछ। ‘रास्वपाको चुनावी सभाको दिन जिल्दाबाहिरबाट ठूलो हुल आउँछ, आइरहेको छ,’ उनले भने । रास्वपाले मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ।

नेपाली कांग्रेस पनि अहिले इलाम केन्द्रित भएको छ। गत निर्वाचनमा पार्टीभित्रको आन्तरिक विवाद छताछुल्ल भएपछि कांग्रेस यो विवाद समाधानमा बढी केन्द्रित देखिन्छ। केन्द्रका नेता अहिले जिल्लाको पार्टी विवाद मिलाउन लागिपरेको पार्टी स्रोत बताउँछ।

कांग्रेस महामन्त्री गगन थापा चुनावी कार्यक्रममा दुई पटकसम्म इलाम आए। अर्का शीर्ष नेता विश्वप्रकाश शर्मा इलामको चुनावी कमान्डरका रूपमा केही सातादेखि इलाममै छन्। पार्टी नेताहरू शेखर कोइराला, धनराज गुरुङ, शशांक कोइराला, मीन विश्वकर्मा, भीष्मराज आङ्देम्बेलगायत नेता उम्मेदवारी मनोनयनपछि पटक–पटक इलाम आएका छन्। कांग्रेसले जिल्ला सभापति डम्बरबहादुर खड्कालाई उम्मेदवार बनाएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेन केही साताअघि इलाम आएका थिए। उनीसहित नेता रवीन्द्र मिश्रसमेत आएका थिए। राप्रपा नेता तथा प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीसहितका दुई सांसदसमेत चुनावी अभियानमा इलाम आए। राप्रपाले लक्ष्मी गुरुङलाई उम्मेदवार बनाएको छ। जनमत पार्टी अध्यक्ष सिके राउतसमेत यसअघि इलाम क्षेत्र २ आएका थिए। जनमत पार्टीले प्रेमकुमार थाम्सुहाङलाई उम्मेदवार बनाएको छ।

शक्ति देखाउने होड

विशेषगरी चुनावी सभाहरूमा ‘शक्ति देखाउन’ अहिले उम्मेदवारबीच अघोषित ‘होड’ चलिरहेको छ। मतदाता नभएपनि अरूतिर निर्वाचन नभएर फुर्सदिला नेता–कार्यकर्ता यस्तो भिड चुनावका मुखमा इलाममा खन्याउन उद्यत देखिन्छन्। ‘मतदाता नै नभएपनि चुनावी सभामा संख्या ठूलो भएपछि त्यसले माहोल बनाउँछ,’ एक उम्मेदवारनिकट नेता भन्छन्, ‘सभामा जसको भिड बढी देखिन्छ, स्वभावैले मतदाता प्रभावित हुन्छन्।’

\वैशाख ४ मा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले इलाम बजारमा चुनावी सभा आयोजना गरे। उनको चुनावी सभामा सहभागी हुन सुनसरी, मोरङ, झापासहितमा मान्छे इलाम ल्याइए। इलाममा थेमिगका मतदाता नभएका होइनन् तर धरानका मेयर हर्क साम्पाङ नेतृत्वमा केही बस खचाखच बनाएर मानिस आएका थिए। उनीहरू चुनावी सभामा सहभागी भएर उतै फर्किए।

वैशाख ६ मा झापाका मेडिकल व्यवसायी दुुर्गा प्रसाईंले चाहिँ निर्वाचन आचारसंहिताविपरीत ‘धर्म, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियान’को सभा नै आयोजना गरे। प्रसाईंको उद्देश्य थियो–इलाम २ मा कुनैपनि मतदाता वैशाख १५ को निर्वाचनमा मतदान गर्न नजाऊन्। उनले मतदातालाई भोट हालन नजान पनि पटक–पटक आह्वान गरे।

इलाम बजारको यो सभामा पनि इलामबाहिरका मानिसको भिड लाग्यो। उनको सभामा पाँच दर्जन हाराहारी सवारीका साधन बाहिरबाट आउँदा एकतिहाई हाराहारी चाहिँ भारतीय नम्बरप्लेटका समेत थिए। महाभियानमा सहभागी एक अगुवाले भने, ‘इलाममात्र होइन, मोरङ, सुनसरी, झापा र अन्य जिल्लाबाट पनि हाम्रो अभियानमा जोडिन पाहुना आउनुभएको छ।’

त्यसलगत्तै नेपाल मजदुर किसान पार्टीको एउटा हुल चुनावी अभियानमा क्रियाशील देखियो। नेमकिपाको यो हुलमा इलामका केही र जिल्लाबाहिरकै मानिस (जो मतदाता छैनन्)को बाहुल्य देखियो। नेमकिपा नेता–कार्यकर्ता भक्तपुरबाट दुई बसमा चुनावी अभियानमा इलाम आएका थिए। केही दिनपछि उनीहरू फर्किए।

उपनिर्वाचनमा १२ दल र सात स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन्। एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्षसमेत रहेका सुवासचन्द्र नेम्बाङको गत भदौ २६ मा निधन भएपछि यहाँ उपनिर्वाचन हुनलागेको हो। निर्वाचन आयोगले आज राति १२ बजेसम्मलाई निर्वाचन प्रचारको अवधि तोकेको छ। भरे राति १२ बजेपछि मौन अवधि सुरु हुनेछ।

प्रकाशित: १२ वैशाख २०८१ ०८:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App