३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ: प्रधानमन्त्री

तस्बिर: दिपेश दर्शनधारी/नागरिक

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल, भारत र बङ्गलादेशका ऊर्जासम्बन्धी निकायहरूमाझ त्रिपक्षीय ऊर्जा व्यापार सम्झौता भई यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा ४० मेगाबाट विद्युत् निर्यात गरिने बताएका छन्।

मर्स्याङ्दी–काठमाडौँ २२० केभी डबल सर्किट प्रसारण लाइन तथा २२० केभी मातातीर्थ सबस्टेसनको आज उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले गत जेठमा आफ्नो भारत भ्रमणका क्रममा भएको दीर्घकालीन विद्युत् व्यापारको प्रारम्भिक सहमतिले बजार सुनिश्चित गरेको बताए।

‘उक्त प्रारम्भिक सहमतिलाई मूर्तरूप दिन अन्तिम सम्झौतामा हस्ताक्षर भइसकेको छ। यो नेपालको जलविद्युत् विकास र बजार सुनिश्चिताका लागि अर्को महत्त्वपूर्ण र ऐतिहासिक खुड्किलो हुने मैले विश्वास लिएको छु,’ प्रधानमन्त्री दाहालले भने, ‘नेपाल, भारत र बङ्गलादेशका निकायहरूबीच त्रिपक्षीय सम्झौता छिट्टै हुँदै छ। यसले नेपालको जलविद्युत्को बजार विस्तार हुनेछ।’

उत्तरतर्फको छिमेकी देश चीनसँग पनि विद्युत्को बजार पहुँच जोड्न चिलिमे–केरुङ प्रसारण लाइन निर्माण गर्न समझदारी बनिसकेको बताउँदै प्रधानमन्त्री दाहालले यसका लागि दुई देशका संयन्त्रहरूले आवश्यक कार्यहरू गरिरहेको जानकारी दिए।

विकास निर्माणका कार्यक्रमलाई निरन्तर अगाडि बढाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री दाहालले भने, ‘विकास आयोजनाहरूको काम रोकिनु हुँदैन। विकास र पर्यावरणबीच सन्तुलन कायम हुनेगरी योजनाहरू अगाडि बढाउन महत्त्वपूर्ण निर्णय गर्नै पर्नेछ।’

उनले विकास निर्माणको कार्यमा बाधक नभई व्यवहारिक बनिदिन अनुरोधसमेत गरे। 

प्रकाशित: १६ वैशाख २०८१ १८:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App