२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कामै नगरी ३३ लाख झ्वाम पार्ने योजना तुहियो

कामै नगरी ३३ लाख रकम भुक्तानीको लागि काटिएको चेक रद्द गर्ने पत्र ।

सोलुखुम्बु– सोलुखुम्बुमा कामै नगरी ३३ लाख झ्वाम पार्ने योजना सोलु–दुधकुण्ड नगरपालिकाका मेयरले तुहाइदिएका छन्। ढल व्यवस्थापनका लागि ‘ढल निर्माण तथा प्रशोधन कार्यक्रम’ अन्तर्गत आएको बजेट काम नै नगराई उपभोक्ता समिति गठन गरी रकम भुक्तानी गरेको खुलेको हो। 

खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालयको ढल व्यवस्थापनका लागि ‘ढल निर्माण तथा प्रशोधन कार्यक्रम’को लागि आएको ३३ लाख रकम कामै शुरु नगरी भुक्तानी गरेको पाइएको हो। असार मसान्तमा गुपचुपमा समिति बनाएर चेक नं. ००३४२०००६००२०१ बाट ३३ लाख ४० हजार ६६५ रुपियाँको चेक उपभोक्ता समितिका नाममा भुक्तानी भएको हो। आर्थिक बर्षको अन्तिममा केन्द्रबाट निकासा भएको रकम खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय सोलुखुम्बुका प्रमुख कुलप्रसाद शर्माले सोलुदुधकुण्ड नगरपालिकाको वडा नम्बरमा ६ मा उपभोक्ता समिति गठन गरी काम नै नगराई एकमुष्ट रकम भुक्तानी गरेका हुन्। 

अन्तिम समयको अख्तियारीको कार्यान्वयनका लागि नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पाले चासो देखाएर कार्यालय प्रमुख शर्मालाई पटक पटक रकमको बारेमा सोधपुछ गर्दा बजेट फ्रिज हुने बताएका थिए। रकम भुक्तानीको कुरा बाहिरिएपछि मेयर शेर्पाले अनियमितताको आशंका गर्दै भुक्तानी रोक्नका लागि हस्तक्षेपकारी भुमिका निर्वाह गरेर दबाब दिएपछि खोनापनी तथा सरसफाई सब डिभिजन कार्यालयका प्रमुख शर्माले गएको बिहीबार कोष तथा लेखा नियन्त्रण कार्यालयलाई चलानी नं. १ रहेको पत्रमार्फत भुक्तानी रद्द गरिदिन पत्र लेखेका हुन्। अनियमित रुपमा कागजी फरफारक बनाएर भुक्तानी भएको विषयमा मेयर शेर्पा र प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानामगरले कारवाहीको चेतावनी दिएपछि कार्यालय प्रमुख शर्माले कोष तथा लेखा नियन्त्रण कार्यालयलाई भुक्तानी रोक्न पत्राचार गरेका गरेका हुन्। 

आफू विकासको पक्षमा रहेको भन्दै मेयर शेर्पाले कामै नगरी रकम झ्वाम गरेर राज्यको रकम दोहन गर्ने प्रबृत्तिलाई सधैँ निरुत्साहित गर्ने बताए। कार्यालयले चेक रद्द गर्न पत्राचार गरेपछि अनियमितता पुष्टि भएको र मिलेमतोमा काम नगरी सम्पन्न भएको प्रतिवेदन बनाएर भुक्तानी दिएको देखिएकाले भ्रष्टाचारको नियत स्पष्ट भएको मेयर शेर्पाको भनाई छ। ‘आफू जनताको प्रतिनिधि भएर नगरपालिकामा रहुन्जेल भ्रष्टाचार मुक्त नगरपालिका निर्माण एक मात्र लक्ष्य लिएकाले नगर क्षेत्रभित्र यस्ता खाले अनियमितता हुन दिने छैनौं’, मेयर शेर्पाले भने। 

‘यस्तो काम अत्यन्तै गलत हो र जिल्लामा सुशासन कायम गर्न यस्ता खाले कामलाई कडा रुपमा निगरानी गर्नेछौँ’, प्रमुख जिल्ला अधिकारी रानामगरले भने, ‘आफूले गलत कामलाई सच्याउन कार्यालय प्रमुखलाई निर्देशन दिइसकेका छौँ।’ 

प्रकाशित: ७ श्रावण २०७५ १४:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App