३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

पहिचानसहित संघीयता चुनावी मुद्दा : दाहाल

काठमाडौं- एकीकृत माओवादीले पहिचानसहितको संघीयतालाई आगामी संविधानसभाको प्रमुख चुनावी मुद्दा बनाउने भएको छ। अध्यक्ष पुष्पकमल दाहालले आउँदो चुनावमा पहिचानसहित संघीयता पक्षधर र यथास्थितिवादीबीच प्रतिस्पर्धा हुने दाबी गर्दै पार्टीले पहिचानको मुद्दा प्रमुख रुपमा उठाउने जानकारी दिएका हुन्।


'निर्वाचनका लागि हामीले पहिचानको मुद्दा अघि सारेका छौं,' सोमबार नागरिकसँग विशेष वार्तामा दाहालले भने, 'पहिचानसहितको संघीयता, संघीयतासहितको संविधानमा मुद्दा मिल्नेहरू र यथास्थिति चाहनेबीच चुनाव हुन्छ।' मुद्दा मिल्नेहरूबीच छलफल हुने र तालमेल हुन सक्ने दाहालले बताए। 'कति मिल्न सकिन्छ, पछिमात्र थाहा हुन्छ,' उनले प्रस्ट पारे।

पहिचानसहितको संघीयता पक्षधर, आदिवासी जनजाति, मधेसी, उत्पीडित क्षेत्र, मुस्लिम, महिला, मजदुर, किसानको एजेन्डा लिएकाले पार्टी बलियो भएको जिकिर दाहालको छ। दुई छिमेकी चीन र भारत भ्रमणपछि पार्टीले पहिचानसहितको संघीयता छाड्ने चर्चाबारे दाहालले भने, 'महाधिवेशनले जे निर्णय गर्योन, त्यही हो। पहिचानको मुद्दा छाड्ने कल्पनै गर्न सकिन्न। कोही भ्रममा नपरे हुन्छ। पहिचानसहितको संघीयताबाट दायाँ–बायाँ गर्न सकिन्न।'

उनले नेपाली जनता र अन्तर्राष्ट्रिय समुदायमा चुनावी माहोल बनेको बताए। आफ्नो देशदौडाहा, दुई छिमेकी मुलुकको औपचारिक भ्रमण र संयुक्त राष्ट्रसंघको सन्देशले देश चुनावी माहोलमा होमिइसकेको दाहालको भनाइ छ।

संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले चुनाव सफल पार्ने सन्देश पठाएको उनले जानकारी दिए। राष्ट्रसंघका उपमहासचिव ज्ञानचन्द्र आचार्यमार्फत मुनले चुनाव मंसिरभित्र सफल बनाउन सन्देश पठाएको उनले बताए।

'पाँच ठाउँमा आमसभा, प्रशिक्षण गरियो। जहाँ पुगे पनि जनलहर उर्लेको छ। चुनावी माहोल छ। दुई छिमेकी मुलुकले नोभेम्बर (मंसिर) भित्र चुनाव गराऊ भनेका छन्। राष्ट्रसंघका महासचिव बान कि मुनले आजै (सोमबार) मात्रै औपचारिक पठाउनुभएको छ,' उनले भने, 'नेपाली जनता र अन्तर्राष्ट्रिय समुदायमा चुनावी माहोल देखिएको छ।'

सबैतिरको वातावरणले कात्तिक अन्तिम वा मंसिर पहिलो साता चुनाव हुने उनले ठोकुवा गरे। भेटमा दाहालले भने, 'कसैले चुनाव हुँदैन भनेर शंका गर्नु गलत सोचाइ हो। नेपाली जनता र विश्व समुदाय चुनावी माहोलमा गइसक्यो। राष्ट्रसंघले जुनसुकै सहयोग गर्न तयार भएको सन्देश पठाइसक्यो,' उनले भने।

देशका पाँचै ठाउँमा सभा गर्दा एमालेको ठूलो पंक्ति माओवादीमा प्रवेश गर्ने लहर चलेको उनले बताए। पहिचानका मुद्दा लिएका परिवर्तनकारी शक्ति एकै ठाउँ भएकाले नेतृत्व माओवादीले लिएको उनले बताए। पार्टी विभाजनबाट कमजोर भएर मोर्चामा जोड दिएको हो? भन्ने नागरिकको जिज्ञासामा दाहालले भने, 'परिवर्तनको मुद्दा लिएकाले हामी बलियो छौं। बलियो भएकाले अरूलाई समेटेर लैजान मुद्दा मिल्नेहरूसँग मोर्चा बनाएर जाऔं भनेका हौं।'

माओवादी विशेषगरी मधेसकेन्द्रित भएकाले त्यहाँ जनतामा व्यापक उभार आएको उनले बताए। 'पहिचानसहितको परिवर्तन खोजेको पार्टी माओवादी हो भन्ने मधेसका जनता स्पष्ट भए। म मधेसबाट चुनाव लड्ने भनेपछि त झन् मधेसमा उभारै आएको छ। जहाँ जाँदा पनि कांग्रेस, एमालेका कार्यकर्ताले हाम्रो क्षेत्रमा आइदिनुपर्योप भने,' दाहालले भने।

नेकपा–माओवादीलाई चुनावी सहमतिमा वातावरण बनाइने उनले बताए। 'वैद्यजीहरूले पनि संविधानसभा चुनाव चाहनुहुन्छ। ०५७ सालको दोस्रो राष्ट्रिय सम्मेलन गरेको निर्णय हो। जुनबेला जनयुद्ध चरम उत्कर्षमा पुगेको थियो। त्यही बेलाको निर्णय हो संविधानसभा। त्यो उद्देश्यलाई वैद्यजीहरुले बुझ्नुपर्छ', दाहालले भने।

लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुख बनाउन पहिले एमालेले नाम लिएको दाहालले बताए। 'राजनीतिक नैतिकता नभएपछि के भन्ने? अख्तियारमा प्रमुख आयुक्त बनाउनेमा कसैको नाममा सहमति जुटेन। अनौपचारिक छलफलमा एमालेले पहिलोपटक लोकमान सिंहको नाम लिएको हो,' दाहालले भने।

औपचारिक बैठकमा मधेसी मोर्चाबाट कार्कीको नाम आएको उनले बताए। लोकमान सिंहको विरोध गर्नासाथ भ्रष्टाचारी भइन्न भनेर हल्ला गर्नु बेकार भएको उनले बताए। 'चारजनाको नाम सिफारिस गर्ने बेला औपचारिक रुपमा मधेसी मोर्चाले लोकमानको नाम प्रस्ताव गर्यो।। अन्य तीनजनाको नाममा सहमति भएर चारैजना शीर्ष नेताले हस्ताक्षर गर्यौं। छिटो मन्त्रिपरिषद अध्यक्षमा पुर्याऊँ भन्ने उनीहरू नै हुन्। म उच्चस्तरीय राजनीतिक समितिको संयोजक भएका नाताले मन्त्रिपरिषद अध्यक्षलाई हस्ताक्षरसहितको नाम बुझाएको हुँ,' दाहालले प्रस्ट पारे।

कसले, कति भ्रष्टाचार गरेको छ भन्ने इतिहास साक्षी भएकाले विरोध गर्नुको कुनै अर्थ नभएको उनले बताए। 'प्रमुख चार दलका शीर्ष नेताले हस्ताक्षर गरेका हौं। बाहिर आएर आलोचना गर्नु गलत प्रवृत्ति हो। कसले कति–कति भ्रष्टाचार गरेको छ भन्ने इतिहास साक्षी छ। लोकमानको विरोध नगर्दैमा सफाचट भइन्छ भन्ने सोचमै खोट छ,' उनले भने।

प्रकाशित: २३ वैशाख २०७० २२:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App