३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

परिवेशअनुकूल बोल्दा चिप्लिँदै दाहाल

फाइल तस्बिर

जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शनिबार नेपाल फेस्टीभल २०२२ लाई सम्बोधन गर्दै दिवंगत जापानी पूर्वप्रधानमन्त्री सिन्जो आवेसँग पटक पटक भेट गरेको दाबी गरे।

पार्टीको विदेश विभाग मातहतको जनप्रगतिशिल मञ्च जापानको निमन्त्रणामा जापान भ्रमणमा रहेका उनले पूर्वप्रधानमन्त्री आवे नेपाल भ्रमण आएका उनलाई दुई तीन पटक भेट गरेको र उनीसँगको सम्बन्ध राम्रो रहेको दाबी गरे। सोही कार्यक्रममा दाहालले नेपाल जापान सम्बन्ध नयाँ उचाईमा पुर्‍याउन आफ्नो भ्रमणले महत्वपूर्ण भूमिका खेल्ने पनि दाबी गरे।

दाहालले आवेलाई भेटेको पहिलो दाबी पूर्णतया गलत छ जसलाई उनी आफैले पनि सच्याएका छन्। दुई पटक प्रधानमन्त्री बनिसकेका र सत्तारुढ दलका अध्यक्ष समेत रहेका दाहालले हुँदै नभएको आवेको नेपाल भ्रमण गराएर पटक पटक भेटेको दाबी गरेका थिए।

अर्काेतर्फ उनको भ्रमण औपचारिक तहमा नभई आफ्नै पार्टीको जनवर्गीय संगठनको निमन्त्रणामा भएको हो। उनको भ्रमणका क्रममा उच्च सरकारी अधिकारीहरुसँग भेटने पूर्व निर्धारित कार्यक्रम तय भएको छैन। त्यसैले पार्टी निकट संगठनको निमन्त्रणामा जापान गएर नेपाली समुदायसँग भेटघाट गर्दैमा जापान नेपाल सम्बन्ध नयाँ उचाईमा पुग्छ भन्ने उनको दाबी पनि वास्तविकता भन्दा टाढा देखिन्छ।

गत असार ३१ मा तीन दिने भारत भ्रमणमा निस्किएका दाहालले भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने बताएका थिए। तर भ्रमणका क्रममा मोदीसँग भेट हुन सकेन। दाहालले भ्रमणको अन्तिमसम्म पनि मोदीसँग भेटको कार्यक्रम रहेको र अन्तिममा रद्द भएको दाबी गरे। जबकी दाहाल नेपाल फर्किएपछि भारतीय समाचार माध्यमहरुले भारतीय विदेश मन्त्रालय स्रोतलाई उदृद गर्दै मोदी र दाहालबीच भेटको तय नै नभएको र भेटको सम्भावना पनि नभएको समाचार प्रकाशित गरे।

परिस्थिति अनुसार बोल्न सिपालु दाहाल विभिन्न कार्यक्रमहरुमा सहभागी हुने क्रममा पटक पटक तथ्य भन्दा पनि माहोल अनुसार अभिव्यक्ति दिने गरेको छन्। तर, त्यस्ता अभिव्यक्ति तथ्य भन्दा फरक हुँदा उनी आफैंलाई आफ्ना भनाई प्रतिउत्पादक हुने गरेका छन्।

राजनीतिक विश्लेषक हरि रोका नेपालका राजनीतिक दलका नेताहरुमा अध्ययको कमि र कुनै विषयमा अुनसन्धान नगरी परिस्थिति अनुसार बोल्ने प्रवृत्तिका कारण तथ्यबाट चिप्लिने गरेको बताउँछन्। ‘पटक पटक प्रधानमन्त्री भइसकेको र जिम्मेवार पदमा रहेका व्यक्तिले के बोल्दा त्यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा समेत के असर पार्छ भन्ने कुरामा वेवास्ता गरेको देखिन्छ,’ रोकाले भने। उनी प्रधानमन्त्री वा महत्वपूर्ण पदमा रहेको व्यक्तिले मात्र नभएर अन्य व्यक्तिहरुले पनि तथ्यसंग र अध्ययन गरेर मात्र बोल्नुपर्ने रोका बताउँछन्।

बोली एउटा व्यवहार अर्कै

दाहालको भनाई र गराइमा भिन्नता नभएको भए करिब तीन दशक अघि तत्कालिन शेरबहादुर देउवालाई ४० बुँदे माग बुझाएर उनीबाट परिवर्तन सम्भव नभएको भन्दै सशस्त्र युद्ध सुरु गरेका दाहाल ती माग पुरा नहुँदै शान्ति प्रक्रियामा आएर देउवाकै सारथी बन्ने थिएनन्।

तत्कालिन सरकार र नेपाली कांग्रेसलाई वर्ग दुश्मन घोषणा गरेर सुरु भएको शसस्त्र द्वन्दका नाइके दाहालका लागि अहिले तिनै देउवा परिवर्तनका सम्वाहक बनेका छन्। सर्वहारा वर्गको नायकत्व स्थापना गर्ने उद्देश्यले सुरु भएको सशस्त्र द्वन्दले मानवीय क्षति मात्र नभएर आर्थिक रुपमा पनि मुलुकले धेरै ठूलो मूल्य चुकाउनु पर्‍यो। उनै दाहाल झण्डै दुई दशक देखि सत्ताको वरीपरित घुमिरहँदा उनलाई सशस्त्र युद्धमा साथ दिने वर्ग भने अभाव र कष्टसँग जुधिरहेको छ। जबकी दाहाल स्वयमको भने वर्ग उत्थान भइसकेको छ। हिजो गरिखाने वर्गसँग दाहालले गरेको बाचा र सत्तामा पुगेपछिको उनको व्यवहारमा आकाश जमिनको फरक हुँदा पनि दाहालले गरिखाने वर्गको हक स्थापना गर्न काम गर्ने भनेर झुठ बोल्न छोडेका छैनन्। सुखको बेला हुने खाने वर्गको वरिपरि लुटपुटिने दाहालले संकट पर्दा अहिले पनि त्यही गरिखाने वर्गलाई झुठो आश्वासन दिएर सडकमा उतार्ने गरेका छन्।

आफ्नै पहलमा स्थापना गरेको गणतन्त्रलाई चुनौति दिने गरी राजतन्त्रवादी दलसँग गोत्र मिल्ने अभिव्यक्ति दिने देखि आफैले रुढीवादी र परम्परावादी भनेका स्वामी रामदेवलाई वैज्ञानिक र क्रान्तिकारी भन्ने जस्ता विरोधाभास अभिव्यक्ति दाहालका लागि खासै नौलो होइन।

गत वर्ष भदौमा सुरेश वाग्ले स्मृति दिवसका अबसरमा बोल्ने क्रममा दाहालले एमाले जस्तै हुने हो भने माओवादी पार्टी किन चाहियो भन्दै बरु पार्टी विघटन गरिदिए हुने अभिव्यक्ति दिएका थिए। जबकी एमालेबाट परिवर्तन सम्भव नरहेको भन्दै युद्धको बाटो समाएका दाहालले २०७५ मा त्यही एमालेसँग पार्टी एकीकरण गरि एमाले अध्यक्ष ओलीलाई आफूले पनि अध्यक्ष मान्न तयार भए। यसरी आफ्नो भनाई र गराइमा एक मत बनाउन नसक्दा लामो समयसम्म नेपालको राजनीतिको केन्द्रमा रहेका दाहालमाथिको आम विश्वास भने कमजोर हुँदै गइरहेको छ।

प्रकाशित: २३ श्रावण २०७९ ००:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App