३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

नेपालप्रति सद्भाव राख्ने महारानी एलिजाबेथ,अब सम्झनामा मात्र

सन् १९८६ फेब्रुअरी १७ मा दोस्रोपटक नेपाल भ्रमणका क्रममा बेलायती महारानी एलिजाबेथ द्वितीया । तस्बिर: प्रेस एसोसिएसन

बेलायती महारानी एलिजाबेथ द्वितीयको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको छ। बेलायतमा ७० वर्षसम्म शासन गरेकी उनको स्कटल्यान्डको बालमोरलमा निधन भएको हो। उनले सन् १९५२ मा बेलायती महारानीका रूपमा राज्याभिषेक गरेकी थिइन्।

एलिजावेथ द्वितीयाको निधनपछि बेलायतका राजा बनेका उनका जेठा छोरा चाल्र्सले बिहीबार एक विज्ञप्ति जारी गरेर महारानीको मृत्युबारे जानकारी दिएका थिए। बेलायती प्रधानमन्त्री लिज ट्रसले महारानीको मृत्युले बेलायत र विश्वलाई ठुलो झड्का लागेको बताएकी छन्। डाउनिङ स्ट्रिटबाहिर बोल्दै उनले महारानीको निधनले ठुलो क्षति पुगेको बताएकी छन्। उनले महारानी एलिजाबेथलाई आधुनिक बेलायत निर्माणको आधारशिला भएको बताइन्।  

एलिजावेथ द्वितीयाले त्यतिबेला राजगद्दी सम्हालिन्, जतिबेला दोस्रो विश्वयुद्धपछि विश्वभरि बेलायतको प्रभाव कम हुँदै थियो। उनी शीतयुद्धको अन्त्य, युरोपेली संघमा बेलायतको सहभागिता र पुनः सो संघबाट बाहिरिएको परिघटनाकी साक्षी बनिन्। उनको कार्यकालमा बेलायतमा १५ जना प्रधानमन्त्री बने, जसमा सन् १८७५ मा जन्मिएका विन्स्टन चर्चिलदेखि त्यसको १ सय १ वर्षपछि जन्मिएकी लिज ट्रससम्म छन्। राष्ट्रमण्डलका देशहरूको समेत राष्ट्रप्रमुख रहेकी महारानी एलिजाबेथको सम्बन्ध र सद्भाव बेलायतदेखि निकै टाढाको नेपालसँग पनि थियो। दुईपटक नेपाल भ्रमणमा आएकी उनले गोर्खा सैनिकलाई अर्दली राख्ने आफ्नी हजुरआमाको परम्परालाई पुनः निरन्तरता दिएकी थिइन्।

सन् १९६१ मार्चमा राजा महेन्द्रको निमन्त्रणामा महारानी एलिजावेथ द्वितीया र युवराज फ्लिपले नेपालको भ्रमण गर्दा नेपालमा भर्खर पञ्चायती व्यवस्था सुरु भएको थियो। राजा महेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्थ गरेर बहुदलीय व्यवस्थाको सट्टामा निर्दलीय पञ्चायती व्यवस्था लागु गरेको अवस्थामा महारानीको भ्रमणलाई पुनर्विचार गर्न बेलायत र नेपालको निर्दलीय व्यवस्थाको विरोध गर्दै भारतमा बसेका नेपालीहरूले समेत उनलाई भ्रमण नगर्न सुझाएका थिए। तर बेलायतले राज्य–राज्यबीचको सम्बन्ध र राजनीतिक दलसँगको सम्बन्ध फरक रहेकाले राज्यसँगको सम्बन्धलाई बेवास्ता गर्न नमिल्ने भन्दै महारानीले नेपाल भ्रमण गरेको पूर्वपरराष्ट्र सचिव एवं कूटनीतिक मामिलाका जानकार मदन भट्टराई बताउँछन्।

‘त्यतिबेला प्रतिकूल परिस्थितिमा पनि बेलायती रानीको भ्रमण हुनुले बेलायतले नेपाललाई कति महत्व दिएको थियो भन्ने पुष्टि हुन्छ,’ भट्टराईले भने। चार दिने भ्रमणमा आएकी रानी र उनका पति युवराज फ्लिपलाई राजा महेन्द्र र रानी रत्नले स्वागत गरेका थिए। उनको पहिलोपटक नेपाल आउँदा बाघको सिकार गर्नेदेखि विभिन्न मन्दिर तथा पर्यटकीय क्षेत्रमा भ्रमण गराइएको थियो भने राजा महेन्द्रले उनको सम्मानमा राजकीय भोजको आयोजना गरेका थिए।

महारानी एलिजावेथले पहिलोपटक नेपाल भ्रमणको २५ वर्षपछि सन् १९८६ फेब्रुअरी १७ मा पुनः नेपालको भ्रमण गरिन्। तत्कालीन राजा वीरेन्द्रको निमन्त्रणामा चार दिने राजकीय नेपाल भ्रमणमा आएकी उनको उक्त भ्रमण करिब १५० वर्षदेखि बेलायती सेनामा कार्यरत गोर्खा सैनिकप्रति केन्द्रित रहने त्यतिबेलाका सञ्चारमाध्यमहरूमा उल्लेख भएको पाइन्छ। उनी दोस्रोपटक नेपाल भ्रमण गर्दा राजा महेन्द्रको निधन भएर सत्ताको बागडोर राजा वीरेन्द्रले समालेका थिए।  

त्यतिबेला राजा वीरेन्द्र र रानी ऐश्वर्याले एलिजाबेथ र फ्लिपलाई स्वागत गरेका थिए। उनले नेपाल भ्रमण गर्दा नेपाल विश्वको एक मात्र हिन्दु अधिराज्य थियो। उनले भ्रमणका क्रममा २ सयको हाराहारीमा अवकाश प्राप्त गोर्खा सैनिकसँग भेट गरेकी थिइन्।  

सन् १९८५ मा भएको शृंखलाबद्ध विस्फोटको आठ महिनापछि नेपाल भ्रमणमा आएकी उनले राजा वीरेन्द्रले आयोजना गरेका राजकीय भोजमा बेलायतले आतंकवादको निन्दा र घृणा गर्ने बताउँदै उक्त घटनाका पीडित र उनीहरूको परिवारप्रति सहानुभूति व्यक्त गरेकी थिइन्। महारानी र उनका पति नेपालमा उत्रिएपछि उनलाई सयौं स्कुले बालबालिकाले नेपाल र बेलायतको झन्डा फहराउँदै स्वागत गरेका थिए। बेलायती महारानीले नेपालमा दुईपटकसम्म भ्रमण गरे पनि बेलायती प्रधानमन्त्रीले भने हालसम्म नेपालको भ्रमण गरेका छैनन्। यसले पनि बेलायती महारानीको नेपालप्रतिको सद्भाव र स्नेह रहेको देखिने जानकारहरू बताउँछन्। गत चैतमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बेलायती महारानीसमक्ष भर्चुअल ओहोदाको प्रमाणपत्र बुझाउने क्रममा महारानी एलिजावेथले आफ्नो दुईपटकको नेपाल भ्रमणको स्मरण गरेकी थिइन्।  

बेलायतमा गोर्खा सैनिकको भर्ती सुरु भएको २ सय वर्ष पुगेको अवसरमा र सन् २०१५ मा लन्डनमा आयोजना गरिएको गोर्खा परेडमा राजपरिवारका अन्य सदस्यसँगै आफू पनि सहभागी भएर महारानीले हौसला बढाउने काम गरेकी थिइन्। बेलायती महारानी एलिजावेथ द्वितीयाले राजगद्दी समालेको करिब दुई वर्षपछि आफ्नी हजुरआमाको परम्परालाई निरन्तरता दिँदै सन् १९५४ मार्च ११ देखि दुई गोर्खा सैनिक अधिकृतलाई अर्दली अफिसर्सका रूपमा नियुक्तिको प्रचलनलाई सुरु गरिन्। प्रत्येक वर्ष अदलीबदली हुने गरी दुई गोर्खा सैनिक अधिकृत नियुक्त गर्ने उक्त प्रचलन गोर्खाहरूप्रतिको सम्मान भएको पूर्वगोर्खा सैनिकहरू बताउँछन्। सन् १९९१ अप्रिलदेखि १९९२ अप्रिलसम्म महारानीको अर्दली अधिकृत चयन भएका पूर्वगोर्खा सैनिक मेजर सूर्यबहादुर थापाले बेलायती महारानी निकै भद्र स्वभावको भएको स्मरण गरे। ‘हाम्रो नियमित भेट त हुँदैनथ्यो। कुनै सार्वजनिक कार्यक्रममा जाँदा मात्र हामी उहाँको सुरक्षाका लागि खटिन्थ्यौं। तर उहाँ निकै भद्र स्वभावको हुनुहुन्थ्यो,’ मेजर थापाले भने। अर्दली सैनिक अधिकारी चयन भएर गएपछि महारानीले न्यानो स्वागत गरेको र बिदाइको दिन ‘अब तपाईंहरू कहाँ खटिनुहुन्छ ?’ भनेर चासो राखेको थापाले बताए।

सन् १९७७ मा महारानी एलिजाबेथका जेठा छोरा एवं वर्तमान राजा चाल्र्सले शाही गोर्खा राइफलमा कर्नेल इन चिफका रूपमा सेवा गरेका थिए। उनका नाति युवराज ह्यारीले सन् २००७ मा अफगानिस्तानमा शाही गोर्खा राइफल्समा काम गरेका थिए। उनी सन् २०१६ मा नेपाल भ्रमणमा पनि आएका थिए। सन् २०१८ मा भएको ह्यारी र मेघनको बिहेमा गोर्खा सैनिकहरूलाई निमन्त्रणा गरिएको थियो।

नेपालप्रति सद्भाव राख्ने बेलायती महारानीको निधनप्रति नेपाल सरकारले तीन दिन शोक मनाउने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले महारानीको निधनप्रति दुःख व्यक्त गर्दै तीन दिन शोक मनाउने निर्णय गरेको हो। शनिबारदेखि तीन दिनसम्म देशभरका सरकारी कार्यालय र विदेशमा रहेका कूटनीतिक नियोगहरूमा नेपालको राष्ट्रिय झन्डा आधा झुकाइनेछ। राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंस्थित बेलायती दूतावासमा पुगेर समवेदना पुस्तिकामा हस्ताक्षर गर्दै महारानी एलिजावेथ द्वितीयाको निधनप्रति दुःख व्यक्त गरेकी छन्।  

राष्ट्रपति भण्डारीले एलिजावेथले सन् १९६१ र १९८६ मा नेपाल भ्रमण गरेको स्मरण गर्दै दुई देशबीचको सम्बन्ध विस्तारमा उनको महत्वपूर्ण योगदान रहेको समवेदना पुस्तिकामा उल्लेख गरिन्। प्रधानमन्त्री शेरबहादुर देउवाले पनि एलिजावेथ द्वितीयाको निधनप्रति दुःख व्यक्त गरेका छन्। उनले महारानीको दुईपटक भएको राजकीय नेपाल भ्रमण सम्झनामा रहिरहने बताएका छन्। साथै उनले बेलायती राजपरिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। यसैगरी परराष्ट्रमन्त्री नारायण खड्काले पनि काठमाडौंस्थित बेलायती दूतावासमा पुगेर महारानी एलिजावेथ द्वितीयाको निधनप्रति समवेदना व्यक्त गरेका छन्।  

(एजेन्सीहरूको समेत सहयोगमा)

प्रकाशित: २५ भाद्र २०७९ ००:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App