३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

‘नेपाल भूमिबाट चीनविरोधी गतिविधि नहोस

नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीको तेस्रो वरियताका नेता एवं राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली झान्सु उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त भएका छन्।  

सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा ६७ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चार दिवसीय औपचारिक भ्रमणमा सोमबार काठमाडौं आएका उनले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री नारायण खड्का, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेटवार्ता गरे।  

प्रधानमन्त्रीसहित प्रमुख दलका नेताहरूसँगको भेटका क्रममा लीले नेपालको एक चीन नीतिप्रतिको प्रतिबद्धतामा कमी आउन नहुने र अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसनको दुरुपयोग हुन नहुने आशय व्यक्त गरेको स्रोतले बतायो।

सिंहदरबारमा अपराह्न प्रधानमन्त्री देउवासँग भएको भेटमा लीले नेपालको भूमि प्रयोग गरी चीनको राष्ट्रिय स्वार्थविरुद्ध गतिविधि हुनसक्नेतर्फ चासो व्यक्त गरेका थिए। उनले एमसिसीको दुरूपयोग हुनसक्नेतर्फ पनि चासो व्यक्त गरेको बालुवाटार स्रोतले बतायो। ‘एमसिसी कार्यान्वयनमा आइसकेको अवस्थामा त्यसको दुरूपयोग हुनसक्नेतर्फ उहाँको चासो देखिन्थ्यो,’ स्रोतले भन्यो।  

अमेरिकी राज्य साझेदार कार्यक्रम (एसपिपी) लाई नेपालले अस्वीकार गरेको विषयमा भने चिनियाँ पक्षले धन्यवाद दिएको थियो। चिनियाँ पक्षले नेपालमा अमेरिकालगायत देशको चासो र स्वार्थबारे पनि चासो राखेको थियो। ‘चिनियाँ टोलीले दुईपक्षीय सम्बन्ध मात्र नभएर नेपालको बहुपक्षीय सम्बन्धबारे पनि चासो राखेको थियो। तर प्रधानमन्त्रीज्यूले दुईपक्षीय सम्बन्धबारेमै केन्द्रित रहेर छलफल गर्नुभयो,’ स्रोतले भन्यो।

प्रधानमन्त्रीसँगको भेटमा लीले नेपालको एक चीन नीतिप्रतिको प्रतिबद्धता र अडानको सराहनासमेत गरेका थिए। भेटमा दुईपक्षीय व्यापार, लगानी, कनेक्टिभिटी, शैक्षिक मामिला, हवाई सेवालाई पुनः निरन्तरता, सीमानाका सञ्चालनलगायतका विषयमा छलफल भएको थियो। नेपालले सीमानाका बन्द भएको विषय उठाएपछि चिनियाँ पक्षले तिब्बतमा कोरोना नियन्त्रण भएलगत्तै पुनः सञ्चालन गर्ने र मालबाहक कन्टेनर आवतजावतलाई सहज बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो।

चिनियाँ पक्षले चिनियाँ सहयोगमा टोखामा निर्माण हुने सुरुङलगायतका परियोजना अघि बढाउन तत्काल पहल गर्ने जानकारी गराएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार अरूणकुमार सुवेदीले बताए।

चिनियाँ जनकंग्रेसका अध्यक्ष लीले नेकपा एमालेका अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालसँगको भेटमा पनि नेपाली भूमिबाट हुनसक्ने चीनविरोधी गतिविधिबारे चासो राखेका थिए। ओलीसहितका नेताहरूसँग संघीय संसद् भवन नयाँ बानेश्वरमा भएको भेटमा लीले नेपालबाट चीनलाई अप्ठेरो नहोस् भन्ने धारणा व्यक्त गरेको भेटमा संलग्न एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिइन्। ‘उहाँहरूको चासो नेपालबाट चीनलाई अप्ठेरो नहोस् भन्ने देखिन्थ्यो। अध्यक्ष ओलीले हामी एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध छौं, नेपालबाट चीनविरोधी कुनै किसिमको गतिविधि हुन दिन्नौं भन्ने प्रतिबद्धता जाहेर गर्नुभयो,’ शाक्यले भनिन्।

भेटमा दुई देशबीचको सम्बन्ध थप बलियो बनाउने विषयमा पनि छलफल भएको शाक्यले बताइन्। ओलीले सीमानाका, नेपाली विद्यार्थीहरूको चीन फिर्तीलगायतका विषयमा चिनियाँ पक्षसँग छलफल भएको जानकारी उनले दिइन्। भेटमा ओलीले चिनियाँ कम्युनिस्ट पार्टीको २०औं महाधिवेशनको सफलताका लागि शुभकामना व्यक्त गरेका थिए। माओवादी केन्द्रका अध्यक्ष दाहालसँगको भेटमा पनि लीले नेपाली भूभागबाट चीन विरोधी गतिवधि नहोस् भनेका थिए। दाहालले नेपालबाट चीन विरोधी गतिवधि हुन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए। दाहालले तातोपानी, रसुवागढीसहितका सीमानाका खुला गरिदिन चिनियाँ पक्षलाई आग्रह गरेका थिए।

लीले बिहान राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र परराष्ट्रमन्त्री खड्कासँग भेट गरेका थिए। दुवै भेटमा दुईपक्षीय हितबारेमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। काठमाडौं उत्रिएलगत्तै लीले सोमबार सभामुख सापकोटासँग प्रतिनिधिमण्डलस्तरीय भेट गरेका थिए। भेटपछि दुई नेताले अन्तरसंसदीय सहयोगसम्बन्धी ६बुँदे सम्झौतामा हस्ताक्षर गरेका थिए। ली नेतृत्वको प्रतिनिधिमण्डलको सम्मानमा सभामुख सापकोटाले सोमबार रात्रिभोजको आयोजना गरेका थिए।

पछिल्ला ६ महिनाको अवधिमा चिनियाँ जन कंग्रेस प्रमुख लीसहित चीनबाट तीन उच्चस्तरीय भ्रमण भएका छन्। ती भ्रमणका क्रममा चिनियाँ पक्षले एक चीन नीतिप्रति नेपालको प्रतिबद्धताको प्रभावकारी कार्यान्वयनको विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको छ। विशेषगरी नेपालको संसद्बाट अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) पास भएपछि चीन थप सशंकित देखिन्छ। वर्तमान सरकार बनेपछि हुम्लामा सीमा विवादको कुरा, संसद्बाट एमसिसी अनुमोदन तथा नेपाल भ्रमणमा आएका उच्च अमेरिकी अधिकारीले तिब्बती क्याम्पमा भ्रमण गरेको विषयले चीन नेपालप्रति विश्वस्त हुन सकिरहेको छैन। यस्तो अवस्थामा चीन एक चीन नीतिप्रति नेपालको प्रतिबद्धताप्रति थप आश्वस्त हुन खोजिरहेको छ।

प्रकाशित: २९ भाद्र २०७९ ०१:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App