२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

बाढीले पुल भासिएपछि यातायातमा समस्या

उदयपुर- केही दिनयताको लगातार वर्षाका कारण गाईघाट–कदमाहा सडक खण्डमा पर्ने त्रियुगा नगरपालिका ६ स्थित जलजले खोलाको पक्की पुल भासिएको छ। एकसातायता केही घण्टाको फरकमा भईरहने वर्षाका कारण पिल्लरको जगको माटो बगेपछि पुल भासिन पुगेको छ। बाढीले पिल्लरको माटो खोतल्दै गएपछि पूर्वपट्टिको बिम पनि चर्किन पुगेको  छ।

३ स्पानको उक्त पुलको पूर्वपट्टिको पिल्लरको जगको माटो बाढीले बगाएर पुल भासिंदै गएको स्थानीयको भनाई छ। उदयपुर सिमेन्ट उद्योगद्वारा सञ्चालित उदयसी बोर्डिङ स्कुलको गेटअगाडि पुलको उत्तरपट्टि पिल्लर धस्सिदै गएपछि भासिन पुगेको र वर्षा निरन्तर भईरहे पिल्लर बगाउने खतरा रहेको स्थानीय बताउँछन् । बाढीले पुललाई सपोर्ट गर्न बाँधिएको बाँधको स्पर पनि भत्काए र बाढीको मूल धार पिल्लरमा ठोक्किन जाँदा बाढीको पिल्लर भासिन पुगेको हो।

उक्त पुल उदयपुर सदरमुकामलाई सिराहा, सप्तरी हुँदै देशका मुख्य भागसँग जोड्ने प्रमुख माध्याम हो । २० वर्षअघि जापान सरकारले उदयपुर सिमेन्ट उद्योगको स्थापना गरिदिएपछि सदरमुकाममा पहिलोपटक सडक सञ्जाल जोडिने क्रममा सो पुल निर्माण भएको थियो। १६ वर्षअघि निर्मित पुल सडक डिभिजन कार्यालय लाहान अन्तरगत निर्माण भएको हो ।

पुरानो हुँदै गएको र बाढीले निरन्तर माटो बगाउँदै गएकाले पुल भत्कने खतराबारे स्थानीयले सडक डिभिजन कर्यालय लाहानलाई जानकारी गराएका थिए । तर, सडक कार्यालयले वास्ता नगरेका कारण पुल भासिने खतरा बढेको स्थानीय पृथ्वी राईले बताए । बाढीले वर्षेनी कटान गर्दै आएको पाएपछि सडक डिभिजन कार्यालयलाई यसबारे जानकारी गराउँदै रोकथामका लागि अनुरोध गरे पनि वास्ता नगरेको राईले बताए ।

दिनहुँ हजारौं मालबाहक र यात्रुबाहक सवारीसाधन आउजाउ गर्ने सो पुल भासिने खतरा भएपछि सवारी चलाउन जोखिम बढ्दै गएको हिमाली यातायात व्यवसायी संघले जनाएको छ। संघका अनुसार दैनिक हजार पटक भन्दा बढी ठूला साना सवारीसाधन सो पुल भएर आउजाउ गर्नेगर्छन् । तर, एक्कासी पुल भासिने खतरा बढेपछि अव विकल्प निकाल्नुपर्ने भएको छ।

पुल भासिने भएपछि सो रुटका सवारीसाधन पुलको दक्षिणतर्फबाट खोलिएको उदयपुर सिमेन्ट उद्योगले प्रयोग गर्दै आएको घुमाउरो कच्ची सडक भएर आउजाउ गर्न थालेका छन् । यात्रुबाहक सवारीलाई धेरै समस्या नपरे पनि विरामी बोक्ने एम्बुलेन्सलाई भने कठिनाई परेको छ । स्थानीय टेम्पो चालक बालकृष्ण सापकोटाले पुल भासिदै गएको थाहा पाएपछि घुमाउरो र कच्ची सडक हिड्नुपर्दा टेम्पो चलाउन कठिनाई भएको बताए ।

सडक कार्यालय गाईघाटले लाहान डिभिजन सडकसँगको सहकार्यमा पुलको तत्काल मर्मत गर्ने तयारी थालेको छ । गाईघाटस्थित सडक कार्यालयका ईन्जिनियर कलप्रसाद साहले भासिन लागेको पुलको पिल्लरवरिपरि जालीमा ढुंगा र बालुवाको बोरा भरेर पिल्लरको सुरक्षा गर्ने तथा बाढीको बहाव डाईभर्ट गर्नेगरी बाँध पनि मर्मत गर्ने तयारी भईरहेको बताए । दुईतीन दिनभित्र पुल मर्मत गरिसकेर यातायात सुचारु गराउनेगरी लाहान सडक डिभिजनको प्राविधिक टोली परिचालन भईसकेको इन्जिनियर साहले बताए।

                गतवर्ष जलजले–भान्टाबारी खण्डको एउटा पुलछेउको जमिन यसरी नै बाढीले कटान गरेका कारण आवागमन सातादिनसम्म अवरुद्ध हुन पुगेको थियो । उदयपुर सिमेन्ट उद्योगको जलजलेस्थित प्लान्टबाट जाल्पा चिलाउनेस्थित चुनढंगा खानी रहेको सिँधाली जाने खण्डको १ नम्बर पुलको दक्षिणी भागमा त्रियुगाको बाढीले जमिन कटान गर्दा आउजाउमा समस्या परेको थियो । उद्योगले तत्काल जाली भरेर मर्मत गरेपछि सडक सुचारु भएको थियो ।

 

प्रकाशित: २१ श्रावण २०७४ १३:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App