२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नदीजन्य पदार्थ निकासी गर्न पाउनुपर्ने माग गर्दै व्यवसायीले सडकमा तेर्स्याएर ट्याक्टर

धरान उपमहानगरपालिका गेटमा नै आवागमन अवरुद्ध हुने गरि व्यवसायीहरुले तेर्स्याएर राखेकाे ट्याक्टर। तस्बिर: रोहित/नागरिक<br>

राजश्व तिरेर खोलाबाट नदीजन्य पदार्थ निकासी गर्न पाउनुपर्ने माग गर्दै धरानका ट्याक्टर व्यवसायीहरू आन्दोलित भएका छन्।

विगत एक वर्षदेखि स्थानीय सरकारले आफूहरूको मागको सुनुवाइ नगरेको भन्दै उनीहरुले बुधबार दिउँसोदेखि उपमहानगरपालिका परिसर र बाहिर सडकमा ट्याक्टर तेर्स्याएर घेराउ गरेका छन्।

धरानको चतरालाईन सडकमा व्यवसायीहरुले राखेको ट्याक्टर। तस्बिर: रोहित/नागरिक

ट्याक्टरले गर्दा उपमहानगरपालिका गेटभित्र र बाहिर सवारीसाधनलाई आवतजावत अवरुद्ध भएको छ। धरान-१२ चतरालाइन सडकमा पनि सवारी आवागमनमा असहज भएको छ।

खोलाबाट नदीजन्य पदार्थ निकासी गर्न नपाउँदा व्यवसायीहरू आर्थिक मारमा परेको भन्दै ट्याक्टर व्यवसायीहरुले संघर्ष समिति गठन गरेर आन्दोलनमा उत्रिएका छन्।

धरानमा मात्रै ५६ वटा ट्याक्टरहरु रहेको ट्याक्टर व्यवसायी संघको भनाई छ। संघका अध्यक्ष विक्रम तामाङका अनुसार उपमहानगरपालिकाले खोला ठेक्का नलगाउने भए आफैले राजश्व लिएर मापदण्ड बमोजिम नदीजन्य पदार्थ मिक्सगिट्टी निकासी गर्न दिनुपर्ने एक मात्र माग रहेको छ।

‘पुर्जी नगरपालिकाले नै काटोस्, हामी राजश्व तिर्न तयार छौं। खोलामा नगर प्रहरी खटाओस्, हामी मापदण्ड भन्दा बढी निकाल्दैनौँ,’अध्यक्ष तामाङले भने,‘तर हाम्रो मागको सुनुवाइ एक वर्षदेखि भएको छैन। व्यवसायीहरू मारमा परेका छौं।’ विगतमा पनि नगरले पुर्जी काटेर ट्याक्टरहरुलाई निकासी गर्न दिएको उनको भनाई छ।

धरानका मेयर हर्क साम्पाङ भने नदीजन्य पदार्थ ठेक्का लगाएर वा निजी क्षेत्रलाई उत्खनन गर्न दिएर निकासी नगर्ने पक्षमा छन्। जथाभाबी नदीजन्य पदार्थ झिक्का पहिरो गएर धनजनको क्षति हुने, प्राकृतिक विनाश हुने भन्दै उनले कार्यपालिका बैठकमा खोला ठेक्का नलगाउने एजेण्डा पारित गराएका थिए। पछि पुनः नगरलाई विकासको काममा आवश्यक पर्दा मापदण्ड बमोजिम आफैले नदीजन्य पदार्थ झिक्ने भनेर अर्को निर्णय पनि भएको छ।

सोही निर्णय अनुसार नगरले सडकहरु निर्माण हुँदा आफ्नै ट्रिपर र जेसिबी प्रयोग गरेर मिक्सगिट्टी, ढुंगा निकासी गरेर प्रयोग गर्ने गरेको छ।

ट्याक्टर व्यवसायीहरू मंगलबार मेयर साम्पाङलाई भेटेर राजश्व लिई नदीजन्य पदार्थ निकासी गर्न दिनुपर्ने माग गरेका थिए। तर, मेयर साम्पाङले खोलाबाट त्यसरी नदीजन्य पदार्थ झिक्न नदिने अडान राखेपछि ट्याक्टर व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन्।

नगरले निकासी अनुमति नदिए पनि लुकीछिपी ट्याक्टरहरुले निकासी गरिरहेको र नगर प्रहरीले पक्राउ गर्ने गरेको छ। यसले ट्याक्टरमा आश्रित परिवारको बिचल्ली हुने अवस्थामा पुगेको व्यवसायीहरुको भनाई छ। व्यवसायीहरुले पनि बैंकबाट ऋण लिएर ट्याक्टर किनेको र किस्ता तिर्न नपाएर समस्या भइरहेको गुनासो अध्यक्ष तामाङले गरे।

प्रकाशित: ३० फाल्गुन २०८० २०:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App