२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मेयर साम्पाङसँग सहमति पछि व्यवसायीले हटाए सडकबाट ट्याक्टर

सहमति पछि धरान उपमहानगरपालिका परिसरबाट ट्याक्टर फिर्ता लैजाँदै चालकहरू। तस्बिर: रोहित/नागरिक।<br>

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसँग सहमति भएपछि आन्दोलनरत व्यवसायीहरुले धरान उपमहानगरपालिका परिसर र सडकबाट ट्याक्टर हटाएका छन्।

आन्दोलनरत धरान ट्याक्टर व्यवसायी संघका प्रतिनिधि र मेयर साम्पाङबीच बिहीबार दिउँसो कार्यकक्षमा वार्ता भएको थियो। उक्त वार्तामा नदीजन्य पदार्थ निकासी गर्नेबारे यथाशीघ्र अध्ययन गर्ने र निकासी गर्नुपर्ने स्थान भेटिएमा निर्माणार्थ कार्यपालिकामा पेश गर्ने सहमति भएको थियो।

दुवै पक्षबिच यो मौखिक सहमति भएको हो। यो सहमति भएपछि ट्याक्टर व्यवसायीहरुले उपमहानगर परिसर र सडकबाट ट्याक्टर फिर्ता लगेका छन्।

व्यवसायीहरुले राजश्व तिरेर खोलाबाट नदीजन्य पदार्थ निकासी गर्न पाउनुपर्ने माग गर्दै बुधबार दिउँसोदेखि उपमहानगर परिसर र सडकमा ट्याक्टर राखेर आन्दोलनमा उत्रिएका थिए।

उनीहरुले बुधबार रातभर पनि उपमहानगर परिसरमा नै धर्ना दिएका थिए। बिहीबार पनि दिनभर नै ट्याक्टर व्यवसायी र मजदुरहरूले उपमहानगरपालिकाको मेन गेटमा नै बेल्चा पनि प्रदर्शन गर्दै धर्ना दिएका थिए।

बिहीबार दिउँसो धरान उपमहानगरपालिकाको मेन गेटमा बेल्चासहित धर्नामा बसेका ट्याक्टरका मजदुरहरू।

मेयर साम्पाङले खोलामा जथाभाबी उत्खनन गर्न नदिने अडानमा छन्। साथै, ठेक्का पनि नलगाउने अडान राख्दै आएका उनले कार्यपालिका बैठकमा पनि खोला ठेक्का नलगाउने निर्णय गरेका थिए। 

यता, ट्याक्टर व्यावसायीहरुले भने ठेक्का नलगाउने निर्णयलाई समर्थन जनाएका छन्। तर, उपमहानगरपालिकालाई राजश्व तिरेर तोकिएको मापदण्ड अनुसार ढुंगा, गिट्टी निकासी गर्न पाउनुपर्ने माग उनीहरुको छ।

नगरले राजश्व पुर्जी काटेर निकासी अनुमति दिएमा आम्दानी बढ्ने र अहिले लुकीछिपी भइरहेको चोरी, तस्करी पनि रोकिने व्यवसायीहरुको भनाई छ। नगरको निर्णयले ट्याक्टरमा आश्रित परिवारको बिचल्ली हुने अवस्थामा पुगेको र बैंकबाट ऋण लिएर ट्याक्टर किनेकाहरुलाई किस्ता तिर्न धौ धौ भइरहेको संघका अध्यक्ष विक्रम तामाङले बताए।

प्रकाशित: १ चैत्र २०८० १९:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App