१७ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

इजरायलले २५२ नेपालीलाई केयर गिभरमा लैजाने

इजारायलले जी–टु–जीमार्फत थप २५२ जनालाई केयरगिभर (वृद्धवृद्धा, अपांगता भएका, बालबालिका तथा अशक्तको स्याहारसुसार) मा लैजाने भएको छ। यसअघि इजरायलका रोजगार केन्द्रहरूमा स्वास्थ्य सहायकका रूपमा काम गर्न १ हजार ६०० जनामध्ये लक्की ड्रमार्फत १ हजार १७५ जनालाई छनोट गरिएको थियो।

दुई वर्ष लगाएर छनोटमा परेकाहरू इजरायल पुगेका हुन्। लक्की ड्रमार्फत छनोटमा नपरेका ४२५ जनालाई लैजान नेपालले इजरायलसँग ताकेता गरेको थियो।

अहिले इजरायलले लक्की ड्रमार्फत छनोटमा नपरेकाहरूलाई समेत लैजान लागेको वैदेशिक रोजगार विभागका अधिकारीले बताएका छन्। इजरायलले नयाँ कामदार लैजाने प्रस्ताव गर्दा नेपालले ४२५ जनालाई पहिला लैजानुपर्ने अडान लिँदै आएको थियो। सोही आधारमा इजरायल छनोटमा नपरेका उनीहरूलाई लैजान तयार भएको थियो।

पहिले छनोटमा नपरेका ४२५ जनामध्ये इजरायल जान २५२ जना मात्रै सम्पर्कमा आएको विभागले जानकारी गराएको छ। अन्य बाँकी भने सम्पर्क नभएको तथा धेरै वैदेशिक रोजगारीका लागि अन्य देश गइसकेको विभागका सूचना अधिकारी कविराज उप्रेतीले बताए। विभागको सम्पर्कमा आएका युवाहरूलाई यतिबेला पूर्वप्रस्थान अभिमुखीकरण तालिम सञ्चालन गर्न लागिएको उनले बताए।

‘पुराना छनोटमा नपरेका ४२५ जना हुन्,’ उनले भने, ‘त्यसमध्ये हामीसँग सम्पर्कमा आएका भनेकै २५२ जना हो। उनीहरूलाई नै इजरायल पठाउने तरखरमा छौं। यही चैत ६ गते र ९ गते गरी दुई चरणमा पूर्वप्रस्थान अभिमुखीकरण तालिम उनीहरूलाई दिने भएका छौं।’

सरकारी सम्झौतामा आधारित रोजगार इजरायलमा भएकाले नेपाली कामदारको आकर्षण बढेको छ।

मानवअधिकार ग्यारेन्टी भएको देश, सुरक्षित गन्तव्य, ठगी नहुने र आकर्षक तलब सुविधाजस्ता विशेषताका कारण कामदारको आकर्षण बढेको हुनसक्ने उप्रेतीले बताए। योग्यताका आधारमा नेपाली नागरिकले कामको अवसर पाउने भएकाले योग्य नागरिक प्रायः महिला र केही पुरुष पनि इजरायल जान चाहन्छन्।

इजरायलमा नेपाली कामदारको तलब करिब दुई लाख ५० हजार रूपैयाँ हुन्छ। इजरायली सरकारी नियमअनुसार ओभरटाइमको सुविधा पनि भएको विभागले जनाएको छ। कामदारले सातामा एक दिन बिदा पाउँछन् भने बस्ने व्यवस्था रोजगारदाताले नै व्यवस्था गर्छन्। कामदारको करार सम्झौता सुरुमा एक वर्ष हुने र पछि पाँच वर्षसम्म थप गर्न सकिने प्रावधान छ।

इजरायल जानुपूर्व आवेदकले आवेदन रुजु गर्ने काम सम्पन्न भएसँगै छनोटका अन्य प्रक्रिया सुरु हुन्छन्। सोही क्रममा पहिला भाषा परीक्षा हुन्छ। आवेदकले हिबु्र र अंग्रेजी भाषा जानेको हुनुपर्छ। यसबाहेक आवेदनकको उचाइ र तौलको पनि परीक्षण हुन्छ। कम्तीमा ४.९ फिट उचाइ र तौल कम्तीमा ४५ केजी हुनुपर्ने मापदण्ड तोकिएको छ। आवेदकको उमेर २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेका हुनुपर्ने विभागका अधिकारीले बताए।

इजरायल जान शैक्षिक योग्यतामा कम्तीमा १० कक्षा उत्तीर्ण हुनुका साथै नेपाल सरकारबाट मान्यताप्राप्त तालिम प्रदायक संस्थाबाट केयरगिभिङसम्बन्धी तीन महिनाको तालिम लिएको हुनुपर्ने उप्रेतीले बताए।

‘इजरायल जान पैसा लिएर छनोट गराइदिने भन्ने खालका व्यक्तिहरूबाट सबै सचेत हुनुपर्छ,’ उनले भने, ‘इजरायल पठाइदिने भन्दै ठगी गर्ने एजेन्टको कमी नहुने भन्ने छैन। ठगी गर्ने हेतुले बसेका व्यक्तिले जस्तो मानिसलाई पनि ठग्न सक्छन्। कसैले पैसा खुवाएको आधारमा इजायल जान सम्भव छैन।’

इजरायलमा जाने कामदारको शारीरिक तथा मानसिक रूपमा स्वस्थ हुनुका साथै दीर्घ रोग नलागेको तथा लागुपदार्थ सेवन नगर्ने हुनुपर्ने विभागले जनाएको छ।

त्यस्तै इजरायलमा गैरकानुनी बसोबास गरी फर्किएका पनि इजरायली रोजगारीमा सहभागी हुन पाउनेछैनन्। इजरायल जान भिसा, हवाई शुल्कलगायत गरी करिब एक लाख ६५ हजार रूपैयाँ खर्च लाग्ने अनुमान छ। लाग्ने सबै खर्च श्रमिक आफैंले बेहोर्नुपर्छ।

मेडिकल परीक्षण, कल्याणकारी शुल्क, बिमा, टिकटलगायतको खर्च श्रमिककै हुनेछ। इजरायलमा नेपाली सहयोगी कामदार पठाउनेसम्बन्धी निर्देशिका २०७८ मा इजरायल रोजगारीमा जाँदा लाग्ने शुल्क रोजगारदाताले बेहोर्न नमाने श्रमिक आफैंले तिर्नुपर्ने व्यवस्था छ।

सरकारी अधिकारीका अनुसार विगतमा इजरायल गई काम गरेका, आमा, बुवा, पति, पत्नी, छोरा वा छोरी इजरायलमा बसोबास गरिरहेका वा कार्यरत रहेका र लागुपदार्थ वा मादक पदार्थ दुव्र्यसनमा लागेका व्यक्ति इजरायल जान पाउँदैनन्।

मलेसिया तथा खाडी मुलुकमा नेपाली श्रमिक पठाउँदा फ्रि भिसा, फ्रि टिकटको व्यवस्था छ। तर इजरायल रोजगारीमा यस्तो अभ्यास नरहेकाले तत्काल सो व्यवस्था लागु गर्न नसकिने अधिकारीहरूले बताए।

इजरायल वैदेशिक रोजगारीका गन्तव्य मुलुकमध्ये आकर्षक मानिन्छ। सन् २०१५ मा सम्झौता भए पनि कामदार इजरायल जान पाएका थिएनन्। त्यतिबेला बिजनेज टु बिजनेसबाट मुस्किलले सय जना जति मात्र जान पाएका केही अधिकारीले बताए।

नेपाली युवाले कोरियापछि धेरैले मन पराएको गन्तव्य मुलुक इजरायल नै रहेको केही विज्ञ बताउँछन्। उत्कृष्ट गन्तव्यमा गएर राम्रो आम्दानी गर्नु अहिलेको आवश्यकता रहेको मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम) का अध्यक्ष सोम लुइँटेलले बताए।

‘इजरायल पारिश्रमिकको दृष्टिकोणले जति आकर्षक छ। त्यति नै सुरक्षाको दृष्टिकोणले पनि जोखिम कम भएको मुलुक हो। नेपालले इजरायलजस्ता राम्रा गन्तव्यलाई गुमाउनु हुँदैन,’ उनले भने।

हाल इजरायलस्थित विभिन्न क्षेत्रमा करिब तीन हजार नेपाली कार्यरत छन्। उनीहरू केयरगिभर, होटल, उद्योग, कृषिलगायत क्षेत्रमा आबद्ध छन्।

नेपालसँगको श्रम सम्झौतापछि इजरायलले पहिलो चरणमा केयरगिभरमा कामदार लैजाने भए पनि विस्तारै कृषि, उद्योगलगायत अन्य क्षेत्रमा समेत नेपाली श्रमिक लैजाने इच्छा देखाएको छ। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत आव २०७९/८० मा एक हजार ८४ जना कामदार इजरायल पुगेकामा ७८५ जना महिला रहेका छन्।

त्यस्तै गत वर्ष २०७८/७९ मा ५९८ जना युवामा ४१५ जना महिला सरकारको प्रावधान पुर्‍याएर इजरायल गएको विभागको तथ्यांकले देखाएको छ। इजरायलले महिला श्रमिकलाई प्राथमिकतामा राखेको भए पनि आवेदन दिनेमा पुरुषहरूको संख्या पनि निकै सक्रिय छ।  

नेपाल र इजरायलबीच २०७७ को असोज १४ गते नर्सिङ क्षेत्र, अस्पताल, नर्सिङ होम, दिवा सेवा केन्द्रमा नेपाली केयरगिभर लैजाने सम्बन्धमा श्रम सम्झौता भए पनि २०७८ को माघदेखि कामदारहरू इजरायल जान सुरु गरेका थिए।

प्रकाशित: ६ चैत्र २०८० १३:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App