१७ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

किशोरी हत्याका आरोपी सार्वजनिक, सामान्य विवादमा हँसियाले हानेर हत्या

पाल्पाको रिब्दीकोटमा चैत १३ गते भएको किशोरी हत्याका आरोपी पक्राउ परेका छन्। पाल्पाको रिब्दीकोट १ ख्वाहाकी १९ वर्षीया पद्मा सुनारको चैत १३ गते हत्या भएको थियो।

हत्यामा संलग्न सोही वडाको लप्सीखोला बस्ने १९ वर्षीय सागर भनिने देवलाल सार्कीलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। लुगा धुन गएकी पद्मासँग पँधेरामा सामान्य विवाद हुँदा सार्कीले आवेशमा हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। 

गोठमा काम गरेर हँसिया लिएरै पँधेरोमा हातखुट्टा धुन गएका सार्की र कपडा धोएर डोकोमा राख्दै गरेकी पद्माबीच विवाद भएको थियो। रिस थाम्न नसकेपछि सार्कीले डोकोमा कपडा राखेर घर हिँडेकी पद्मालाई पछाडिबाट हँसिया प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डिएसपी) सुगन्ध श्रेष्ठले जानकारी दिए। ‘पँधेरामा दुईजनाबीच विवाद भएको रहेछ। 

आपसमा गालीगलौच गरेपछि डोकोमा कपडा राखेर पद्मा घर हिँडिन्। सार्कीले रिस थाम्न नसकेपछि अलिपर गएर हात,टाउको र खप्परमा हँसिया प्रयोग गरी हत्या गरे’,उनले भने।

हतियार प्रहारपछि पनि भाग्दै गरेकी पद्मालाई २० मिटर पर पुगेर पुनः हँसिया प्रयोग गरी हत्या गरेको उनले प्रहरीसमक्ष स्वीकार गरेका छन्। हत्यापछि पद्माको मोबाइल उनले सँगै लिएर गएका थिए।  

कक्षा १२ मा अध्ययनरत विद्यार्थी पद्मा घरबाट दुई किलोमिटर टाढा पँधेरामा लुगा धुन गएकी थिइन्। बिहान ९ बजे घरबाट हिँडेकी छोरी दिउँसो ३ बजेसम्म नफर्किएपछि परिवारजनले खोजतलास गरेका थिए। मंगलबार बेलुका ४ बजेको समयमा जंगलमा परिवारजनले मृतअवस्थामा शव फेला पारेका थिए। घटनापछि आफन्तले प्रहरीलाई खबर गरेका थिए।

भैरहवाबाट तालिम प्राप्त कुकुर ल्याएर हत्यारा पत्ता लगाउने प्रयाससहित शंकास्पद व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याइएको थियो। तालिम प्राप्त कुकुरले घटनास्थलबाट स्मेलिङ गर्दै जाने क्रममा सार्कीको घरमा पुगेपछि ती दुईजनालाई नियन्त्रणमा लिइएको थियो। अनुसन्धानका क्रममा सार्कीले हत्या स्वीकारेको प्रहरी भनाइ छ। पद्माको शव परीक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ।

प्रकाशित: १६ चैत्र २०८० १४:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App