३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

६६ सामुदायिक वनबाट डेढ लाख क्युफिट काठ कटान

सिन्धुलीकाे सरस्वती सामुदायिक वन उपभाेक्ता समूहमा कटान गरिएका रूखकाे फेद। तस्वीर: अनिल /नागरिक

डिभिजन वन कार्यालय सिन्धुलीबाट यस वर्ष झन्डै डेढ लाख क्युफिट काठ कटान हुने भएको छ। डिभिजन वन कार्यालय सिन्धुलीअन्तर्गत पर्ने सामुदायिक वनबाट सो काठ कटान हुने भएको हो।

डिभिजन वन कार्यालय सिन्धुलीअन्र्तगत पर्ने ६६ ओटा सामुदायिक वन उपभोक्ता समूहले कटान गर्न आदेश लिएको डिभिजन वन कार्यालय सिन्धुलीले जनाएको छ।

दिगो  व्यवस्थापनअन्तर्गत पर्ने २९ ओटा सामुदायिक वनबाट ९७ हजार ३१६ दशमलव ८३ क्युफिट काठ कटान गरी संकलन गर्न आदेश भएको छ। वार्षिक स्वीकार्य कटानअन्तर्गत ३७ ओटा सामुदायिक वनबाट ५२ हजार ९२ दशमलव जिरो २ क्युफिट काठ कटान हुने भएको हो। डिभिजन वन कार्यालय सिन्धुलीअन्तर्गत ३१३ ओटा सामुदायिक वन उपभोक्ता समूहहरू पर्छन्।

महाभारत क्षेत्रका सामुदायिक वनहरूले कटान आदेश नलिएकाले डिभिजन वन कार्यालयअन्तर्गत ६६ ओटा वन समूहले मात्रै कटान आदेश लिएका छन्। महाभारत क्षेत्रमा उत्तिस, चिलाउने सल्लालगायत जातका मात्रै काठ पाइने भएकाले उक्त क्षेत्रका सामुदायिक वन समूहले कटान आदेश लिने गरेका छैनन्।

 विशेषगरी साल जातका रुखहरू भएका सामुदायिक वन उपभोक्ता समूहले मात्रै काठदाउरा कटानका लागि आदेश लिएका छन्। ढलापढा र सुखडा तथा मर्न लागेका वयस्क अवस्थाका बुढो पुरानो रुखहरू सामुदायिक वन समूहले कटान गरी काठदाउरा संकलन तथा बिक्री गर्न आदेश लिएको डिभिजन वन कार्यालय सिन्धुलीका वन अधिकृत अरूणकुमार तिवारीले जानकारी दिए। उनका अनुसार सामुदायिक वनमा कटान आदेश भएका रुख धेरै अस्वस्थ भएकाले काठको भन्दा दाउराको मात्रा बढ्ने देखिएको छ।

सबै सामुदायिक वन समूहले छपान कटान गरिसकेको र हाल कटान भएका रुख संकलन तथा घाटगद्दी गर्ने काम भइरहेको सामुदायिक वन समूहले जनाएका छन्।

बुढा पुराना रुखले नयाँ बिरुवाको वृद्धि विकासमा बाधा पुग्ने भएकाले ढलापडा सुखडा रुखहरू काट्दै वनको थप संरक्षण गर्नुपर्ने सामुदायिक  वन समूहका पदाधिकारी बताउँछन्।

सरस्वती सामुदायिक वन उपभोक्ता समितिका सचिव गंगाबहादुर सुनुवारका अनुसार जिल्लास्थित सामुदायिक वनमा अस्वस्थ रुख प्रसस्तै भए पनि त्यसको व्यवस्थापन हुन नसक्दा नयाँ रुख हुर्कन सकेका छैनन्।

‘वनमा भएका बुढा पुराना रुख जति काट्छौं, त्योभन्दा धेरै वृक्षरोपण गर्छौं,’ उनले भने, ‘कटान गरिएका काठ बेचेर वनकै संरक्षणमा खर्च गर्छौं।

डिभिजन वन कार्यालयले कटान गर्ने रुखलाई विभिन्न चरणमा अनुगमन गरी कटान गर्नयोग्य र मापदण्ड पूरा भएका रुख मात्रै कटान भएको जनाएको छ। हामी विभिन्न चरणमा अनुगमन गर्छौं, वन अधिकृत तिवारीले भने, ‘अनुगमनमा उपयुक्त नलागेमा हामी त्यस्ता रुख काट्न आदेश गर्दैनौं ।’

प्रकाशित: १७ चैत्र २०८० ०८:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App