१७ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

पर्यटनार्थ बाँके राष्ट्रिय निकुञ्जका सबै ‘वन पथ’ खुला

पर्यटन प्रवर्द्धनका लागि दुर्लभ पाटेबाघको फोटो प्रदर्शन गर्दै निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहलगायत। तस्बिर: अर्जुन/नागरिक

बाँके राष्ट्रिय निकुञ्जले स्वदेशी तथा विदेशी पर्यटकका लागि आफ्ना सबै वनपथ (बाटो) खुला राखेको छ।

पर्यटकको आगमनलाई ध्यानमा राख्दै निकुञ्ज मुख्यालय ओभरी र कोहलपुरस्थित सेक्टर कार्यालयबाट जुनसुकै समयमा पनि टिकट काट्ने व्यवस्था मिलाइएको छ। दुर्लभ पाटेबाघ संरक्षण गर्ने उद्देश्यले २०६७ सालमा स्थापना भएको यो मुलुककै कान्छो राष्ट्रिय निकुञ्ज हो।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहले निकुञ्ज क्षेत्रमा पर्यटकले दुर्लभ पाटेबाघसहित आहारा प्रजातिका वन्यजन्तु अवलोकन गर्नसक्ने अवस्था रहेको सुनाए।

‘निकुञ्जभित्रका प्रायः वनपथ अहिले चालु अवस्थामा छन्, पर्यटक घुम्न आउनुभयो भने हामी कुनै पनि कुराको कमी हुन दिँदैनौं,’ उनले भने, ‘निकुञ्जभित्र बाघको संख्या चारबाट बढेर अहिले २५ वटामा पुगेको छ, आहारा प्रजातिको संख्या पनि बढेको छ।’

गर्मी याममा निकुञ्जभित्र वन्यजन्तुलाई पिउने पानी अभाव हुन नदिन चालु आवमा पनि थप दुईवटा पोखरी निर्माण गर्न लागेको शाहले जानकारी दिए।

‘निकुञ्जको जलसैनी क्षेत्रमा बाघले पौडी खेलेको चाँडै हेर्न पाइयोस् भन्ने अपेक्षामा छौं, हामीले जलाशय र सिमसारको विकास गर्दै जाने योजना अगाडि बढाइरहेका छौं,’ उनले भने।

स्थापनाको १३ वर्षसम्म निकुञ्ज क्षेत्रमा संरक्षणसँगै पूर्वाधार निर्माणको काम भएको र अब भने पर्यटन प्रवर्द्धनकाे कामलाई केन्द्रमा राखिएको प्रमुख संरक्षण अधिकृत शाहले बताए।

निकुञ्जभित्र वन्यजन्तु अवलोकनका लागि मँचान, घाँसे मैदान, कृत्रिम पोखरी, वनपथजस्ता पूर्वाधार निर्माण गरिएको कार्यालयले जनाएको छ। उनले भने, ‘यसअघि कुनै पनि वर्षमा पाँच सयभन्दा बढी पर्यटक यहाँ घुम्न आएको अवस्था छैन। अब भने कम्तीमा दुई हजारभन्दा बढी पर्यटकको संख्या पुर्‍याउने प्रयासमा छौं, पर्यटनलाई हामी केन्द्रबिन्दुमा राखेर काम गरिरहेका छौं।’

‘पर्यटन प्रवर्द्धनमा समन्वय आवश्यक’

निकुञ्जको पर्यटन प्रवर्द्धन लागि आवश्यक समन्वय हुनुपर्ने यहाँका सरोकारवालाले जोड दिएका छन्। पर्यटन प्रवर्द्धनका लागि निकुञ्ज, होटल व्यवसायी, पर्यटन व्यवसायी, सञ्चारकर्मी, संरक्षण क्षेत्रमा लागेका व्यक्तिलगायत बिच समन्वय हुनुपर्नेमा जोड दिइएको हो। 

निकुञ्ज कार्यालयले मुख्यालय ओभरीमा शुक्रबार गरेको कार्यक्रममा उपस्थित विभिन्न क्षेत्रका व्यक्तिले सबैभन्दा नजिक र पायक पर्ने स्थानमा रहेको बाँके निकुञ्जमा पर्यटनको प्रचुर सम्भावना रहेको बताए।

निकुञ्जमा पर्यटकलाई तान्न राप्ती नदीमा बोटिङ, निकुञ्ज क्षेत्रमा रिसोर्ट निर्माणजस्ता कुरालाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिए।

राप्ती सोनारी गाउँपालिका–८ का वडाध्यक्ष शालिकराम डाँगीले निकुञ्जमा अब पर्यटकलाई बढीभन्दा बढी भित्र्याउन आवश्यक रहेको बताए। पर्यटन प्रवद्र्धनका लागि सरोकार राख्ने निकायबीच समन्वय हुनुपर्नेमा उनले जोड दिए।

प्रमुख संरक्षण अधिकृत शाहले निकुञ्जका लागि नेपाल सरकारको पर्यटन बोर्डले उल्लेखनीय लगानी नगरेको बताए। प्रदेश सरकारसँग पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रम भए पनि खासै सहकार्य हुन नसकेको उनले सुनाए।

नेचर गाइड एसोसिएसन बाँकेका अध्यक्ष भीम डाँगीले निकुञ्जमा अझै पनि पूर्वाधार कमी रहेको बताए। ‘निकुञ्जभित्र पर्याप्त मात्रामा वनपथ, घाँसे मैदान, पोखरी छैनन्, चुरेको फेदीमा प्रसस्त पानी छ, त्यहाँसम्म बाटो पुर्‍याउन सकियो भने त्यहाँसम्म लगेर पर्यटकलाई घुमाउन सकिन्छ,’ उनले भने।

होटल सिद्धार्थ नेपालगन्जका केशव न्यौपानेले बाँके निकुञ्जको पर्यटन प्रवर्द्धन गर्नका लागि आफूहरूले पनि प्रयास गरिरहेको बताए। होटलमा बास बस्न आउने पाहुनालाई निकुञ्जबारे जानकारी गराएर घुमाउने वातावरण बनाएको बताए।

रिम्ना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह ढकेरीका अध्यक्ष गोकुल ओलीले निकुञ्जसँगै सामुदायिक वनमा पनि पर्यटकलाई घुमाउने ठाउँ रहेको बताए। ‘मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा पनि निकुञ्जले पर्यटकीय गतिविधि बढाउने खालका कार्यक्रम गर्नुपर्छ,’ उनले भने। 

प्रकाशित: १७ चैत्र २०८० ०८:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App