२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हत्या आरोपी माओवादी पूर्वकमाण्डर खाम १५ वर्षपछि पक्राउ

कोटेश्वरका व्यवसायी रामहरि श्रेष्ठको हत्या आरोपी माओवादी सेनाका पूर्वकमान्डर कालीबहादुर खाम पक्राउ परेका छन्।

हत्याको १५ वर्षपछि जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले खामलाई पक्राउ गरेको हो। खाम पक्राउ परेको परिसरका एक उच्च अधिकारीले पुष्टि गरे।

व्यापारी श्रेष्ठको २०६५ सालमा हत्या भएको थियो। खामको आदेशबाटै उनको हत्या भएको आरोप छ।

यस्तो थियो घटना

माओवादी केन्द्र शान्ति प्रक्रियामा आएपछि व्यवसायी श्रेष्ठको घरमा ‘जनमुक्ति सेना’ तेस्रो डिभिजनको सम्पर्क कार्यालय भाडामा राखिएको थियो। सोही ठाउँबाट २०६४ चैत १४ मा १७ लाख नगदसहित हतियार चोरी भएको बताइन्छ।

उक्त घटनाको छानबिन गर्न भन्दै तत्कालीन जनमुक्ति सेनाका तत्कालीन ब्रिगेडियर कमान्डर गोविन्दबहादुर बटालालाई खटाएको थियो। बटाला २०६५ वैशाख ७ गते काठमाडौं पुगेर व्यवसायी श्रेष्ठ, केशव अधिकारी, गंगाराम थापालाई सोधपुछ गरेर फर्किएका थिए।

त्यसपछि कमान्डर खामको निर्देशनमा बटाला फेरी २०६५ वैशाख १५ गते श्रेष्ठको घरमा पुगे। मध्यरातमा परिवारसँग सुतिरहेका बेला श्रेष्ठलाई लगेर चितवन शक्तिखोरमा पुर्‍याइयो। शक्तिखोरमा बटालाले केशव र गंगारामलाई थुनेर राखेका थिए।

वैशाख २८ राति व्यवसायी श्रेष्ठलाई मरणासन्न हुनेगरी कुटिएको थियो। उक्त कुटपिटमा श्रेष्ठको टाउको, छाती, तिघ्रामा गम्भीर चोट लागेको बताइन्छ। सोही कुटपिटबाट उनको मृत्यु भएको दाबी गरिएको छ।

श्रेष्ठको शव २०६५ वैशाख २८ बिहान नारायणी नदीमा फेला परेको थियो। त्यसपछि श्रेष्ठकी पत्नी रमिलाले आफ्ना पतिको अपहरणपछि हत्या गरिएको भन्दै किटानी जाहेरी दिएकी थिइन्।

त्यसपछिको अनुसन्धानमा शक्तिखोर शिविरमै मृत्यु भएका श्रेष्ठको शव जनमुक्ति सेनाकै बोलेरो गाडीमा ओसारेर चितवनको भालुढुंगा भन्ने ठाउँमा पुर्‍याइएको सरकारी वकिलको निवेदनमा उल्लेख छ। जहाँ शव तन्नामा पोको पारी ढुंगा बाँधी नारायणी नदीमा फालिएको बताइन्छ।

श्रेष्ठको हत्यामा जनमुक्ति सेनाको तत्कालीन डिभिजन कमान्डर खाम, श्रेष्ठलाई अपहरण कार्यमा संलग्न बटाला, केशव अधिकारी, गंगाराम थापा र अर्जुन कार्की संलग्न रहेको आरोप छ। उनीहरूविरुद्ध जिल्ला अदालत चितवनमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो।

मुद्दाको २०६८ जेठ १७ मा फैसलाले बटालालाई तीन वर्ष कैद हुने फैसला भएको थियो। जिल्लाको फैसलापछि बटाला थुनामा गएपनि खाम, अधिकारी र थापा भने फरार रहेको भन्दै अदालतले मुद्दा मुल्तबीमा राखेको थियो।

सरकारी पक्षले जिल्ला अदालतको फैसला त्रुटिपूर्ण भएको भन्दै तत्कालीन पुनरावेदन अदालत हेटौंडामा निवेदन दर्ता गरेको थियो। २०७० माघ ५ मा पुनरावेदनले जिल्लाकै फैसला सदर गरेको थियो। त्यसविरुद्ध दुवै पक्षले सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका थिए।

यही मुद्दामा सर्वोच्च अदालतका न्यायाधीश द्वय तेजबहादुर केसी र टंकबहादुर मोक्तानको संयुक्त इजलासले २०७६ फागुन १८ मा बटाला र अर्जुन कार्कीलाई सफाइ दिने फैसला गरेको थियो।

सोही फैसला त्रुटिपूर्ण रहेको भन्दै पुनरावलोकन मागेर २०७७ भदौ २६ गते महान्यायाधिवक्ता कार्यालयले फैसला पुनरवलोकनका निवेदन दर्ता गरेको थियो। सो निवेदनउपर २०७७ असोज १५ गते न्यायाधीशहरू दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माको पूर्ण इजलास बसेर बटालालाई सफाइ दिएको कानुनी आधार त्रुटिपूर्ण रहेको भन्दै मुद्दा पुनरवलोकनका लागि अनुमति दिने निर्णय गरेको थियो।

त्यसपछि भने उक्त मुद्दामा थप कुनै निर्णय भएको छैन। उता बटाला र कार्की छुटिसकेका छन्।

प्रकाशित: २० चैत्र २०८० १५:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App