२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सीमा क्षेत्रमा नेटवर्किङ व्यवसायका गिरोह सक्रिय

फाइल तस्बिर

आइतबार भारतीय नेटवर्किङ व्यवसायद्वारा सञ्चालित हेल्दी फुडका नाममा बिक्री गर्ने सामग्री नेपाल भारतको सीमा मथुरा, हरिद्वारबाट बरामद भएकाे छ।

औषधिजस्तो देखिने शंकास्पद बरामद वस्तु कहाँ र कसरी ग्रामीण भेगमा पुगिरेहेकाे भन्ने विषयमा फलोअप गरिरहेका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले त्यस्ता औषधिजस्ता वस्तु बिक्री गर्न गुलरियास्थित विजया गेष्ट हाउसको सभाहलमा कार्यक्रम गरिरहेको अवस्थामा भेटिएका चारजनालाई मंगलबार अनुसन्धानका लागि नियन्त्रणमा लिएका छन्।

बारबर्दिया नगरपालिका–३ का क्रान्टु रत्गैया, आमोश थारू, अमिल थारू र गुलरिया नगरपालिका–२ का धर्मबहादुर विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नेटवर्किङ व्यवसायमार्फत सर्वसाधारणलाई समान बिक्री गरेर चर्को रकम असुल्ने गिरोह सक्रिय रेहेको खुलासा भएको छ। नेटवर्किङ व्यवसायको नाममा भारतीय नागरिक अबुतलिबले भ्रामक प्रचार गरेर सर्वसाधारण ठग्न नेपालीलाई परिचालन गर्न कार्यक्रम आयोजना गरिएको आशंकामा प्रहरीले सहयोगी चारजनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी खरेलले जानकारी दिए।

‘अबुतलिब भारतीय नागरिक आएर नेपालीलाई औषधिजस्ता देखिने वस्तु बेच्न प्रोत्साहित गर्ने कार्यक्रम आयोजना भइरहेको खबर थियो,’ उनले भने, ‘त्यहाँ पुग्दा भारतीय नागरिक नभेटिए पनि नेपाली एजेन्ट फेला परेका हुन्।’

उनका अनुसार सोधपुछको लागि ल्याउने क्रममा अभद्र व्यबहार गरेकाले थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालको नेतृत्वमा गएको टोलीले आयोजित कार्यक्रमबाटै विभिन्न किसिमका औषधि जस्ता देखिने वस्तु नियन्त्रणमा लिएको छ। उक्त कार्यक्रममा ग्रामीण भेगबाट आएका ४० भन्दा बढी उपभोक्तालाई सहभागी गराएर भेस्टिजका एजेन्टले कार्यक्रमको तयारी गरिरहेको भेटिएको हो।

प्रहरीले नियन्त्रणमा लिएका एजेन्ट भेस्टिज प्रालिअन्र्तगत उत्पादित सामग्री चर्को मूल्यमा बिक्री गर्दै आएको खुलेको छ। जिल्लामा अवस्थित ८३.५ किलोमिटर नेपाल–भारत खुला सीमा राजस्व चुहावटको दृष्टिकोणले जोखिमयुक्त मानिन्छ।

पश्चिम तराईमा भारतसँग जोडिएका खुला सीमाबाट अवैध पैठारी र निकासी रोक्न नसक्दा प्रहरी र प्रशासन आलोचित बन्छन्। तीन महिनाअघि आएका प्रमुख जिल्ला अधिकारी खरेलले कार्यभार सम्हालेपछि ‘शून्य सहनशिलता’का लागि सीमाक्षेत्रमा हुने अपराधमा निगरानी बढाएको पाइएको छ।

प्रजिअ खरेलको सक्रियतासँगै अवैध रूपमा नेपाल भित्राएको अवस्थामा बरामद अवैध सामानको लामो सूची भन्सारको रेर्कडमा देखिन्छ।

जसले गर्दा सीमावर्तीका बजारबाट व्यापार व्यवसाय र घरायसी सामान खरिद गर्न भारतीय बजार पुग्ने ग्राहक घटेको भन्सारका कर्मचारीले बताए। फागुन मासान्तसम्ममा राजस्वको ९० प्रतिशत लक्ष्य पूरा भइसकेको राजापुर भन्सार कार्यालयका प्रमुख धनबहादुर शाहीले बताए।

प्रकाशित: २२ चैत्र २०८० ०८:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App