२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अब गाडीमै सरर ओलाङचुङगोला...

लेलेप–ओलाचुङगोला सडक स्तरोन्नति हुँदै।

ताप्लेजुङकाे लेलेप–ओलाचुङगोला सडकखण्डको स्तरोन्नति लगभग अन्तिम चरणमा छ। सडक ट्रयाक खोल्न काम अहिले बाटो सफा गर्ने, ग्रेडिङ मिलाउने सहितको कार्य भइरहेको हो।

सडक निर्माण कम्पनी एलाईट जेभीका साईट इञ्चार्ज राजीव लामिछानेका अनुसार सडक ट्रयाक खोल्न काम पुर्णरुपमा सकिएको छ। बाँकी स्तरोन्नतिका काम एक किलोमिटर भन्दा कम दुरीमा मात्र बाँकी छ। ‘अहिले काम देउराली क्षेत्र काटेर गोलातर्फ अघि बढेको छ। आइतबारसम्म गोला पुग्नेछ।’ ओलाङचुङगोलालाई छोटकरीमा ‘गोला’ भन्ने गरिन्छ।

सुन्दर गोला बस्ती। (ओलाङचुङगोला)

सडक बिस्तारसँगै सवारी साधानमार्फत ओलाङचुङगोलामा पुग्ने सपना साकार हुने भएको छ। ओलाङचुङगोलामा पूर्वकै सुन्दर पर्यटकीय स्थलका रुपमा चिनिन्छ।

इञ्चार्ज राजीव लामिछाने गोला भन्दा चार किलोमिटर तल जोङगिमबाट फुङलिङसम्म अहिले पनि चार पाङ्ग्रे जीपहरु सञ्चालन भइरहेका जानकारी दिए। जोङिगमबाट देउराली सम्मको बाटो स्तरोन्नति भइसकेकोले अब देउरालीबाट फुङलिङसम्म सवारीका साधन कुद्न सक्ने उनले बताए।

एलाईट जेभीले फुङलिङदेखि ३८ किलोमिटर दुरीमा रहेको रानीपुलबाट गोलातर्फको बाटोको ट्रयाक खोल्ने, बाटो सफा गर्ने र ग्रेडिङ मिलाउने कार्य गरिरहेको छ।

लामिछानेका अनुसार रानीपुलबाट गोला सम्मको दुरी ३४ किलोमिटर हो। सुरुमासुकेटारबाट फुरुम्बुको गढीडाँडा हुँदै ओलाङचुगोला जोड्ने गरी सडकको ट्रयाक खोल्न थालिएको थियो। अहिले यो योजना तमोर करिडोरसँगै गाभिएको छ।

योसँगै अहिले सुकेटारतर्फको सडकखण्ड भने वैकल्पिक भएको छ। सदरमुकाम फुङलिङबाट मित्लुङ, सिंवा हुँदै तमोर नदीको किनार भएर सडकको ट्रयाक खुलेपछि फुङलिङ–गोलाको दुरी पनि छोटिएको छ।

‘नयाँ वर्ष नयाँ गन्तव्यमा मनाउन सक्नेगरी सडकको कार्य तीव्र रुपले अघि बढाएका हौं, पूर्ण रुपले सफल हुने स्थिति देखिन्छ।’ लामिछानेले भने।

निर्माण कम्पनी एलाईट जेभीका प्रवन्धक पेम्बा शेर्पाले फुङलिङ–ओलाङचुङगोला सडक खण्डको ट्रयाक खुलेपछि नै यो सडक खण्डमा स्तरोन्तीका कामहरु पूरा गरी नयाँ वर्ष ओलाङचुङगोलामा मनाउने घोषणा गरेका थिए।

नेपाल–चीन र भारत जोड्ने सबैभन्दा छोटो नाका मानिएको उत्तर दक्षिण सडक अन्तर्गत पर्ने फुङलिङ–ओलाङचुङगोला सडक खण्डको गत फागुन पहिलो साता ट्रयाक ओपनमा ब्रेक थ्रु भएसँगै चीनसँग जोडिएको थियो।

‘नयाँ वर्ष, सवारीमै ओलाङचुङगोलामा पुगेर मनाउन सकिने भयो’ ब्रेक थ्रु पछि थप उत्साहित भएर काम गरेका छौँ। नयाँ सालमा गोलामै गाडीमा सरर पुगिने भयो।’  निर्माण कम्पनीका प्रबन्धक शेर्पाले भने।

सडक निर्माण कार्य पूरा नभएको अवस्थामा हिउँद याममा इलाडाँडासम्म सवारीमा र बर्षायाममा सो भन्दा केही वर सम्मको क्षेत्रमा मात्र सवारी पुग्ने गर्थे।

मौलिक संस्कृति र पहिचानमा रमेको ओलाङचुङगोला झुरुप्प बस्ती रहेको पर्यटकीय स्थल हो। धेरैले यसलाई स्वर्गको टुक्रा समेत भन्ने गर्छन्। समुद्री सतहबाट करिब ३ हजार १ सय मिटरको उचाइमा रहेको त्यहाँ अहिले त्यहाँ ५६ घर छन्। करिब साढे ४ सय वर्ष पुरानो मानिएको दिकीछ्योलिङ गुम्बा ओलाङचुङगोलाको अर्को सान हो।

नयाँ वर्ष अघि नै सडक ओलाङचुङगोला पुग्ने भएपछि स्थानीय भने पर्यटकलाई स्वागत गर्न आतुर देखिएका छन्। ‘हामी आगन्तुकलाई स्वागत गर्न पाउँदाको स्वर्गीय अनुभूतिको कल्पना गरेर बसेका छौं’ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पा लामाले भने।

गोलासम्म गाडी नपुग्दा गोला हिँडेका यात्रीलाई पैदल यात्राको क्रममा कठिनाइ भए बोकेर सम्म लैजाने, पानी, चिया र बिस्कुट लिएर अप्ठ्यारो महसुस भएको ठाउँसम्म पुगेर यात्रीलाई सहयोग गर्ने वडाध्यक्ष शेर्पा नयाँ वर्षमा पर्यटकहरू गोला आउने हर्षले गाउँ पूरै उमंगित भएको बताउँछन्।

गोलाबाट करिब २४ किलोमिटर दुरीमा टिपताला भञ्ज्याङ पर्छ। टिपताला नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतको सीमा नाका हो। यहाँसम्म यसअघि नै सडक निर्माण भईसकेपनि ठाउँ ठाउँमा स्तरोन्नतिका कार्य भने गर्नैपर्ने अवस्था रहेको छ।

प्रकाशित: २४ चैत्र २०८० १६:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App