२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कपिलवस्तुमा आगलागी नियन्त्रण नमुना अभ्यास

कपिलवस्तुमा आगलागी नियन्त्रण नमुना अभ्यास गर्दै। गर्दै। तस्बिर : नागरिक

हावाहुरीका कारण कपिलवस्तुमा आगलागीका घटना बढ्दै गएपछि कपिलवस्तुमा आगलागी नियन्त्रण नमुना अभ्यास गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नं २८ गण हेडक्वाटर कपिलवस्तुको आयोजनामा गणको कार्यालय बर्मेलीमा नमुना अभ्यास गरिएको हो।

जिल्लामा गर्मी याममा विपद जोखिममध्येको आगलागीका घटना बढ्न नदिन, नियन्त्रणमा सहयोग पुर्‍याउन र घटनाबारे समुदायलाई सचेत बनाउने उद्देश्यले नमुना अभ्यास गरिएको हो। अहिले जिल्लामा कम्बाइन हारबेस्टले गहुँको स्याहार गरेपछि बचेको गहुँको ठुटोमा आगो लगाइनाले जिल्लाका आगलागीका घटना बढेका छन्।

जिल्लाका सुरक्षा निकायका प्रमुख, प्रतिनिधि, जनप्रतिनिधि, विद्यार्थी र स्थानीयको उपस्थितिमा नमुना अभ्यास गरिएको हो। नमुना अभ्यासमा आगलागीबारे समुदाय सचेतना, फायरलाइन निर्माण, भान्सामा ग्यास सिलिन्डरमा हुने आगलागी नियन्त्रण, शरीरमा हुने आगजनीमा नियन्त्रण र उद्धार, घरमा हुने आगलागी नियन्त्रण, मानव साङ्गलो र दमकलको प्रयोग, घाइतेको उद्धार, प्राथमिक उपचार, अस्थायी टहराको तयारी र राहत वितरण प्रक्रिया बारेको नमुना अभ्यास गरिएको थियो।

सो अभ्यासका क्रममा गणमा भएका अग्नि नियन्त्रण गर्ने सामग्री, जनशक्ति, कपिलवस्तु नगरपालिकाको दमकल र कपिलवस्तु अस्पतालको एम्बुलेन्सलाई प्रयोग गरिएको थियो। आगलागी नियन्त्रणमा अन्तरनिकायबीचको समन्वय कसरी गर्ने भन्ने विषयमा अभ्यासले प्रदर्शन गरेको थियो। गर्मी याममा जिल्लामा आगलागीका कारण धेरै धनजनको क्षति हुने भएकाले त्यससम्बन्धी  नमुना अभ्यासले सचेतना बढ्ने प्रजिअ विश्वप्रकाश अर्यालले बताए।

सुख्खा याममा आगलागी र डढेलो तथा मनसुनमा बाढीपहिरोका घटना हुँदा ठुलो धनजनको क्षति हुँदै आएकाले अभ्यासले आवश्यक पूर्वतयारीले सहयोग पुग्ने उनले बताए। उनले विपदको पूर्व तयारी र प्रतिकार्य, राहतका लागि विपद् व्यवस्थापन समितिले आवश्यक तयारी गरेको बताए। उनले पालिकासमेत यसबारेमा सचेत हुनुपर्ने बताए।

कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले अहिले जिल्लामा आगलागीका घटना बढ्दै गएकाले त्यसको न्यूनीकरणका लागि सबै निकायबीच समन्वय हुुनुपर्ने बताए। आगलागीका घटना बढ्दै गर्दा दमकलका लागि एकदमै चाप बढेको उनले बताए। कृषकले गहुँ खेतमा ठुटा जलाउन आगो लगाउँदा आगलागीका घटना बढ्दै गएकाले समुदायलाई यो विषयमा सचेत बनाउन आवश्यक रहेको उनले बताए।

सो अवसरमा गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक रामजंग पाण्डेयले आगलागीका घटना बढेपछि न्यूनीकरणका लागि सहयोग हुने भन्दै नमुना अभ्यास गरी देखाइएको बताए। जिल्लामा पनि विपदका घटना बर्सेनि हुने गरेकाले ती घटनाबारे समुदायलाई सचेतना प्रवाह र  समयमै घटना नियन्त्रणमा सहयोग पुगोस् भनेर नमुना अभ्यास गर्ने गरिएको उनले बताए।

जिल्लामा विपदका घटना हुन नदिन नमुना अभ्यासले पूर्वतयारी, घटना नियन्त्रण र उद्धारमा सहयोग पुग्नेमा बताइएको छ। नमुना अभ्यासको विद्यार्थीले समेत अवलोकन गरेका थिए।

प्रकाशित: ७ वैशाख २०८१ १९:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App