२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रधान सेनापति शर्माले भने: फास्ट ट्र्याकबाट पूर्वपश्चिम राजमार्ग पुर्‍याए भने हजुरहरूले माला लगाइदिनुहुन्छ

प्रधान सेनापति प्रभुराम शर्माले काठमाडौँ–तराई/मधेस द्रुतमार्गको लागत अहिलेसम्म नबढेको र निर्धारित समयमा सक्ने बताएका छन्। शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधान सेनापति शर्माले काठमाडौँ–तराई/मधेस द्रुतमार्ग तोकिएकै समयमा निर्माण सम्पन्न हुने बताएका हुन।

उनले अहिले सेनाले पुल र टनेल निर्माणको कार्यलाई प्राथमिकताका साथ अगाडी बढाइरहेको जानकारी पनि दिए।  शर्माले फास्ट ट्र्याक निर्माण सम्पन्न नहुँदा लागत बढिरहेको भन्ने प्रचार भएको भन्दै सो प्रचारमा सत्यता नभएको बताए।

उनले हालसम्म निर्धारित बजेट भित्रैबाट काम भइरहेको भन्दै कुनैपनि लागत नबढेको दाबी गरे। ‘तोकिएकै बजेट भित्र रहेको र निर्धारित समयमै काम सम्पन्न गर्न नेपाली सेना ढुक्क छ’, प्रधान सेनापति शर्माले भने, ‘नसक्ने भए म सक्दिनँ भनिदिन्थेँ। मलाई केही छैन। नेपालमा हजुर, हामी दाजुभाइ नै हौँ। केही लाज लाग्दैन। सक्ने, नसक्ने भन्नमा सकिन्छ।’

उनले अगाडी थपे, ‘एकदम सिँगारेर, फास्ट ट्र्याक भनेर युरोपको सडकजस्तो नगरेपनि हजुरहरूलाई खोकनाबाट गाडी चढाएर पूर्वपश्चिम राजमार्गसम्म पुर्‍याउन पाएँ भने हजुरहरूले मलाई माला लगाइदिनु हुन्छ, त्यत्ति हो मैले बोलेको।’

शर्माले निर्धारित समयमै सक्नका लागि पहिले पुल र टनेललाई विशेष महत्त्व दिएको बताए। ‘अन्य खन्ने बाटो त राती पनि खनेर सकिदिउँला। केही फरक पर्दैन। प्राविधिक रूपमा भित्तो कोपर्ने र पुल त बनाउनै पर्छ। त्यसमा जोड दिइएको कारण यहीँ हो’, उनले भने, ‘पाँच वर्ष अगाडीको योजनामा अहिलेसम्म ठेक्का लाग्दाखेरि पनि हामीले कसरी मिलायौँ होला? त्यो कुरा विचार गर्नुपर्छ। यो यस्तो योजनामा कहिल्यै पनि हुँदैन। बढ्दै गएको भनिन्छ। बढेको छैन। कहाँ बढ्नु?’

प्रधान सेनापति शर्माले काठमाडौँ–तराई/मधेस द्रुतमार्गको हालसम्मको भौतिक प्रगति ३३ दशमलव २ प्रतिशत रहेको जानकारी दिए। उनले आयोजनाको वित्तीय प्रगति भने ३३ प्रतिशत पुगेको बताए। 

प्रकाशित: ७ वैशाख २०८१ २०:११ शुक्रबार

प्रधान सेनापति प्रभुराम शर्मा काठमाडौँ–तराई/मधेस द्रुतमार्ग