२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

आज नेपाल आउँदै कतारी राजा

दुई हात्ती उपहार

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका राजा सेख तमिम बिन हमाद अल थानी पहिलो पटक दुईदिने भ्रमणमा नेपाल आउने भएका छन्। तीन एसियाली मुलुकको भ्रमणका लागि गत आइतबार दोहाबाट फिलिपिन्स उडेका राजा बंगलादेश हुँदै मंगलबार नेपाल आउन लागेका हुन्।

कतारी राजाको भ्रमणले कतार र नेपालबीचको सम्बन्ध उचाइमा पुग्ने विश्वास लिइएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनको स्वागतमा मंगलबार सार्वजनिक बिदासमेत दिएको छ। उनी दुई निजी विमान लिएर आउन लागेका हुन् । उनका साथमा आधा दर्जनभन्दा बढी मन्त्री आउने परराष्ट्र मन्त्रालयले जनाएको छ।

कतारी राजाको नेपाल भ्रमणले दुई देशबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनुका साथै पारस्परिक सहयोग र सहकार्यको क्षेत्र विस्तारमा मद्दत पुग्ने विश्वास रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले बताए। ‘नेपाली युवाका लागि वैदेशिक रोजगारीको महत्त्वपूर्ण प्रमुख गन्तव्य मुलुक कतार हो,’ उनले भने, ‘कतार एउटा सम्पन्न मुलुक हो। जहाँ चार लाखभन्दा बढी नेपाली युवाले काम गरिरहेका छन्।

कतारी राजा अमिर सेख नेपाल आएपछि पक्कै कतारमा रहेका नेपाली श्रमिकका लागि केही सुधार हुने अपेक्षा छ।’ गत मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्याल र नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीसँगको भेटवार्ताका क्रममा राजदूत अन्सारीले नेपाल सरकारले अघि सार्ने प्रस्तावमा सहयोग गर्न कतार तयार रहेको बताएका थिए।

स्वागतमा सार्वजनिक बिदा

सरकारले कतारका अमिर (राजा) सेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणमा आउने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कतारका राष्ट्र प्रमुखसमेत रहेका उनको सम्मानमा मंगलबार बिदा दिने निर्णय गरेको हो।

 राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका राजा पहिलो पटक नेपाल भ्रमणमा आउन लागेका हुन्। दुई निजी जहाज लिएर आउन लागेका उनका साथमा आधा दर्जनभन्दा बढी मन्त्री हुनेछन्। उनको भ्रमणपूर्व नै चार दर्जनभन्दा बढी कतारी प्रतिनिधि काठमाडौं आइपुगेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

दुई हात्ती उपहार

नेपाल सरकारले कतार सरकारलाई दुईवटा हात्ती उपहार दिने तयारी गरेको छ। यसअघि गैंडालगायत विभिन्न प्रजातिका वन्यजन्तु तथा आखेटोपहार उपहार दिएको नेपालले कतारलाई पहिलोपटक हात्ती उपहार दिन लागेको हो।

चितवन राष्ट्रिय निकुञ्जका अनुसार सौराहास्थित चितवन राष्ट्रिय निकुञ्ज हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसरमा हुर्किएका खगेन्द्रप्रसाद (भाले) र रुद्रकली (पोथी) हात्ती कतार पठाउन लागिएको हो। ‘सरकार र कतारबीच भएको एक किसिमको सम्झौता अनुसार यहाँका दुईवटा हात्ती कतार पठाउने तयारीमा छौं,’ चितवन राष्ट्रिय निकुञ्जका प्रमुख डिलबहादुर पुर्जा पुनमगरले भने, ‘कतार सरकारले चाहेको समयमा लैजाने गरी व्यवस्थापन भएको छ। यही दिन लैजाने भन्ने अझै यकिन छैन।’  

प्रकाशित: ११ वैशाख २०८१ ०८:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App