२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

राक्सिराङमा ज्येष्ठ नागरिकलाई घरमै उपचार सेवा

ज्येष्ठ नागरिक जितबहादुर मोक्तानको उपचार गर्दै स्वास्थ्यकर्मी। तस्बिर: नागरिक

मकवानपुरको राक्सिराङ गाउँपालिका-२ सुनारीका ७१ वर्षीय जितबहादुर मोक्तान घरमै स्वास्थ्य उपचार पाएपछि खुसी छन्। अत्यधिक खोकी र ज्वरोले एक हप्तादेखि थल्लिएर घरमै सुतिरहेको खबर पाएपछि राक्सिराङ गाउँपालिकाको स्वास्थ्यकर्मीको टोली उनको ओछ्यानमै पुगेर उपचार गरेको हो।

राक्सिराङ गाउँपालिकाले सुरु गरेको एकीकृत घुम्ती सेवा शिविरअन्तर्गत स्वास्थ्यकर्मीको टोली असक्त, अपांग र ज्येष्ठ नागरिकको उपचारका लागि घरघरमै पुगेको हो।

चार छोरी विवाह गरेर आफ्नै घर गएपछि सानो घरमा पतिपत्नी मात्रै बस्दै आएका मोक्तानलाई स्वास्थ्यकर्मी टोलीले स्लाइन पानी दिनुका साथै निःशुल्क औषधि समेत वितरण गरेको थियो। सिकिस्त बिरामी भएर सुतिरहेको अवस्थामा घरमै आएर उपचार गरिदिएकोमा उनले पालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीलाई धन्यवाद व्यक्त गरे।

‘दम बढेर हो कि के भो, ६/७ दिनदेखि निकै गाह्रो बनायो। एक्कासि डाक्टरको टोली ओछ्यानमै आइपुग्दा सुरुमा त अचम्म लाग्यो,’ मोक्तानले भने, ‘यसरी घरघरमै आएर उपचार गरिदिएकोमा खुसी लागेको छ। मजस्तै सबैले उपचार पाउन सकून्।’

यस्तै उच्च रक्तचापको समस्याका कारण केही दिनदेखि घरमै थला परिरेकी राक्सिराङ–१ की ८७ वर्षीया राममाया बल स्वास्थ्यकर्मीको सल्लाह र निःशुल्क औषधि पाएपछि खुसी देखिन्थिन्। उनले स्वास्थ्यकर्मीको सल्लाह बमोजिम औषधि खाने प्रतिबद्धता जनाउँदै घरमै आएर उपचार गरेकोमा खुसी लागेको प्रतिक्रिया दिइन्।

‘राक्सिराङ डाँडापाखा छ। बजारसम्म औषधिमुलो गर्न जान पनि सकसै छ,’ बलले भनिन्, ‘कम्तीमा महिनाको एक पटक गाउँपालिकाको डाक्टरको टोली यसरी घरघरमा आयो भने हामीलाई धेरै राहत हुन्थ्यो।’ शिविरको पहिलो दिन मोक्तान र बलजस्तै घरमै थलिएर बसेका राक्सिराङ–१ र २ का ६ जनालाई घरमै पुगेर उपचार गरिएको छ।

 स्वास्थ्यकर्मी पुगेको घरघरमा गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष वनस्तम थिङ, प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलासहित सम्बन्धित वडा अध्यक्ष पोसिलो खानेकुरा बोकेर पुगेका थिए। गाउँपालिकाका अध्यक्ष मल्लले शिविर र घरदैलोका क्रममा जटिल समस्या देखा परेकाहरूको थप उपचारमा गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए।

‘ज्येष्ठ नागरिक हाम्रा अमूल्य सम्पत्ति हुन्। आर्थिक अभाव र विभिन्न कारणले घरमा थला परेर बसेकाहरूको घरघरमै पुगेर उपचार गराउने क्रम जारी छ। यो अभियानलाई अझ प्रभावकारी तवरले कसरी सञ्चालन गर्न सकिन्छ भन्ने सोचिरहेका छौं,’ अध्यक्ष मल्लले भने। यस विषयमा आगामी दिनमा छलफल गरेर अघि बढ्ने उनले बताए।

आर्थिक अभाव र भौगोलिक विकटताका कारण राक्सिराङका धेरै अशक्त र ज्येष्ठ नागरिक रहेकाले उनीहरूका लागि थप योजनाबद्ध काम गर्नुपर्ने अवस्था रहेको पालिका उपाध्यक्ष वनस्तम थिङको भनाइ छ। पालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरले धेरै हदसम्म राहत मिलेको उनको विश्वास थियो।

प्रकाशित: १४ वैशाख २०८१ ०७:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App