२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

उदयपुरमा दिनैपिच्छे आगलागी, बढ्दै क्षति

ताप्ली नारीमालाका अग्निपीडितलाइ राहत वितरण गरिंदै। तस्विर: महेश्वर/नागरिक

उदयपुरमा एक साताय दिनजसो डढेलो र विद्युत लिक भएर आगलागी हुँदा घर, गोठ जलेर व्यापक धनमालको क्षति हुने क्रम जारी छ। शुक्रबार दिउँसो जिल्लाका विभिन्न स्थानीय तहका आधा दर्जन ठाउँमा आगलागी भएको स्थानीयले बताएका छन्।

पछिल्लो साता दर्जन बढी घर, मतान र गोठ जलेर करोडो रूपैयाँको धनमाल क्षति भएको छ। बिहीबार जिल्लाको रौतामाई गाउँपालिका–७, पुँवारेस्थित दोर्जेलिङमा विद्युत् लिक भएर दुई घर जलेर नष्ट भए। वडाध्यक्ष मनोज रानामगरका अनुसार विष्णु कटुवाल र खड्ग कटुवालको घर आगोले पूर्णरूपमा ध्वस्त पारेको छ।

आगोले कटुवालद्ववयको घरसँगै अन्नपात, लत्ताकपडा, भाँडा, कागजात लगायत सम्पूर्ण जलेको छ। त्यसैगरी दुवै घरसँग जोडिएका ग्वाली, भान्सा घर र बाख्रा खोर, कुखुरा खोर पनि जलेर खरानी भएका छन्।

स्थानीय, जनप्रतिनिधि र अस्थायी प्रहरी पोस्ट संगमचोकबाट खटेको टोली मिलेर राति अबेर आगो नियन्त्रणमा लिन सफल भएको रानामगरले बताए। आगलागीबाट दुवैको गरी झण्डै ५० लाख रूपैयाँ बराबरको क्षति भएको प्रारम्भिक रिपोर्ट प्रहरीले निकालेको जनाइएको छ।

अग्निपीडित दुवै परिवारलाई तत्कालीन राहत वडा कार्यालयले उपलब्ध गराएको छ। वडाध्यक्ष रानामगरका अनुसार बास बस्न १–१ थान त्रिपाल र भोक टार्न एक बोरा चामल, दाल, तरकारी लगायत खाद्यान्न तथा केही थान भाँडा र थाल बटुका राहत उपलब्ध गराइएको छ। गाउँपालिका, प्रशासन र रेडक्रसलाई छिटो राहत उपलब्ध गराउन प्रहरी सर्जमिन मुचुल्कासहित वडाले सिफारिस पनि गरिसकेको रानामगरले बताए।

बुधबार पनि जिल्लाको उदयपुरगढी गाउँपालिका–७, कमेरेस्थित चित्रबहादुर मगरको घरान पनि विद्युत् सर्ट भएरै आगालगी भयो। आगोले मगरको काठ र टिनले छाएको २ तले घर र घरभित्रका सम्पूर्ण अन्नपात, लुगा, भाँडा, कागजातलगायत जलेर नष्ट भएको छ। मगरको १२ लाख ५० हजार रूपैयाँ हाराहारीमा क्षति भएको वडाध्यक्ष भुवन मगरले बताए।

वडाध्यक्ष भुवनका अनुसार आगलागीको खबर पाएलगत्तै स्थानीयले प्रहरीलाई खबर गरेको र प्रहरी चौकी नेपालटारबाट खटेको टोलीले स्थानीयको सहयोगमा दुईघण्टा लगाएर आगो नियन्त्रणमा लिएको थियो।

त्यस्तै सोमबार उदयपुरगढी–६, रातमाटेस्थित निरबहादुर कटुवालको घर जलेर खरानी भएको थियो। कटुवालको घर जल्दा ८ लाख ६६ हजार रूपैयाँँबराबरको क्षति भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख एसपी रमेश थापाका अनुसार जिल्लाको ताप्ली गाउँपालिका–२ को नारीमाला र लिमचुङबुङ गाउँपालिका–५ जाँते चौलानेमा पनि २ घर, २ मतान र ४ गोठ जलेर नष्ट भएका छन्।

नारीमालामा उत्तमबहादुर मगरको घरमा लागेको आगो बस्तीमा फैलिँदा अमिर मगर र यामबहाुदर मगरको घर, मतान र गोठ जल्दा २२ लाख ४९ हजार रूपैयाँ बराबर क्षति भएको थापाले बताए। थापाका अनुसार उत्तमको ११ लाख २९ हजार, अमिरको १० लाख र यामबहादुरको १ लाख २० हजार रूपैयाँबराबर क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको छ।

तीन दिनअघि पनि लिमचुङबुङ–५ चौलानेमा आगलागी हुँदा अशोक राई र बयानसिंह राईको घर, मतान र गोठ जलेर नष्ट भएका थिए। स्थानीय हुरुङमा सामुदायिक वन उपभोक्ता समूहमा लागेको आगो अनियन्त्रित भई गाउँ पसेर आगलागी भएको एसपी थापाले बताए। आगोले तीन परिवारको गरी साढे ७ लाख रूपैयाँबराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ।

एसपी थापाका अनुसार पछिल्ला ५ दिनमा ८ घर, ८ मतान र १२ गोठ जलेर ५० लाख रूपैयाँ हाराहारीमा धनमाल क्षति भएको छ। आगोले ३ वटा खसी जलेर मरेका छन्। सुक्खा याम र चर्को हावाहुरीका कारण जिल्लाका सबै स्थानीय तहका जंगलमा डढेलो लागेर गाउँबस्ती जोखिममा परेको प्रहरीले जनाएको छ।

डिभिजन वन कार्यालय गाईघाटका अनुसार डढेलो नियन्त्रणभन्दा बाहिर पुगिसकेकाले जोखिम अझै बढ्दै छ। सहायक वन अधिकृत रामभगत यादवका अनुसार स्थानीय सामुदायिक वनमा लागेको डढेलोले गाउँबस्ती पसेर घरगोठ पनि सखाप पारेको हो।

 डढेलो नियन्त्रण गर्न सामुदायिक वन समूह, वन कर्मचारी र सशस्त्र प्रहरीसँग सहकार्य भइरहेको भए पनि चर्को हावाहुरीका कारण नियन्त्रणभन्दा बाहिर गइरहेको छ। दक्ष जनशक्ति र बजेट अभावका कारण पनि आगो नियन्त्रण गर्न नसकिएको हो।

अग्निपीडितलाई गाउँपालिकाको राहत

जिल्लाको ताप्ली गाउँपालिकाले स्थानीय अग्निपीडितलाई राहत प्रदान गरेको छ। दुई दिनअघि आगलागीमा परी घर ध्वस्त भएका ताप्ली–२ नारीमालाका पीडितलाई गाउँपालिकाले राहत प्रदान गरेको हो।

गाउँपालिका अध्यक्ष ढुंगराज विश्वकर्मालगायतको टोली घटनास्थल नारीमालामै पुगेर बुधबार दिउँसो राहत वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत भक्त राईले बताए। राईका अनुसार पीडितलाई चामल, दाल, नुन, तेल, एकसरो कपडा र भाँडा प्रदान गरिएको छ।

राहत वितरण गर्दै अध्यक्ष विश्वकर्माले आगलागीबाट बर्सेनि करोडौं मूल्यको धनमाल नष्ट हुँदै आएकाले यसबाट जोगिन स्थानीयलाई सचेत गराए। डढेलो लाग्न नदिन सबैले सतर्कता अपनाउन अनुरोध गर्दै उनले आवश्यक वन प्राविधिकको अभाव तथा आगलागीबाट जोगिने तरिकाबारे जनचेतना अभावले बारम्बार आगलागी भइरहेको बताए। 

प्रकाशित: १५ वैशाख २०८१ ११:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App