२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रौतहटका दुई गाउँमा आगलागी हुँदा लाखौंको क्षति

रौतहटका दुई गाउँमा आगलागी भएको छ। आगोले आधा दर्जनभन्दा बढी घर खरानी भएको छ भने लाखौंको क्षति पनि भएको छ।

शुक्रबार दिउँसो रौतहटको दुर्गा भगवती गाउँपालिकाको मन्सरी गाउँका आनन्द झाको गोठमा बिजुली सर्ट भई आगो लाग्दा गोठ पूर्ण रूपमा नष्ट भएको छ। त्यसबाट १ लाख ५० हजारभन्दा बढीको क्षति भएको बताइएको छ। सशस्त्र प्रहरीको सुरक्षा बेस भलोहिया, इलाका प्रहरी कार्यालय गंगापिपरा तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

यसैगरी रौतहटकै गढीमाई नगरपालिका–६ पकाहा टोलका रामसागर राय यादवको फुसको गोठमा भैंसीलाई पानी खुवाउन पानी तताउने क्रममा अचानक आगलागी हुँदा टोलका सात जनाको घर खरानी भएको छ।

स्थानीय रामसागर राय यादव, रामबलम राय यादव, दिनेश साह कानू, काशी राय यादव, वीरेन्द्र साह कानु, श्याम साह तेली, विनोद साह तेलीको फुसको घर तथा गोठ पूर्ण रूपमा खरानी भएको छ।

सातै जनाको घर आगोले खरानी भएपछि कम्तीमा ४ लाख ५५ हजार रूपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

आगो लागेपछि गौर नगरपालिकाको दमकलका साथै सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी मिलेर नियन्त्रणमा लिएका छन्। आगोले घरमा रहेको धेरै सामान खरानी भएको छ। मानिस तथा चौपायालाई भने कुनै क्षति नपुगेको प्रहरीको भनाइ छ। अत्यधिक गर्मी बढेसँगै हरेक दिन आगलागीका घटना भइरहँदा स्थानीयवासीमा त्रास छाएको छ।

प्रकाशित: १५ वैशाख २०८१ ११:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App