१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

ताप्लेजुङमा पनि कालाजार

फाइल तस्बिर

हिमाली जिल्ला ताप्लेजुङमा पनि कालाजारका बिरामी देखिन थालेका छन्। ताप्लेजुङ जिल्ला अस्पतालका नर्सिङ निरीक्षक विजया राईले फागुन–चैतमा कालाजारका एक–एक संक्रमित भेटिएको जानकारी दिइन्। उनका अनुसार चैत २९ गते फुङलिङ– ८ का २३ वर्षीय पुरुषमा कालाजार संक्रमण देखिएको थियो।

त्यसअघि फागुन ११ गते आठराई त्रिवेणी गाउँपालिकाका ५५ वर्षीय पुरुषमा पनि कालाजार संक्रमण देखिएको थियो। कालाजार संक्रमित दुवै बिरामीलाई थप उपचारका लागि सुविधासम्पन्न अस्पताल रिफर गरिएको जिल्ला अस्पतालले जनाएको छ।

‘स्यान्ड फ्लाई’ नामको भुसुनाको टोकाइका कारण यो रोग लाग्छ। परजीवीका कारणले हुने मानिसको मृत्युका कारणमध्ये कालाजार औलोपछिको दोस्रो स्थानमा आउँछ। कालाजार संक्रमण भएपछि यो रोगका परजीवीहरू कलेजो तथा फियो जस्ता भित्री अंगमा सर्ने हुनाले यसलाई अंग्रेजीमा ‘भिसेरल लिस्मनाइअसिस’ भनिएको हो।

यो परजीवी हाडमासीमा पनि सर्छ। कालाजार संक्रमण भएपछि उपचार गरिएन भने मृत्युको जोखिम हुन्छ। ज्वरो आउनु, तौल घट्नु, थकान महसुस हुनु, रक्तअल्पता हुनु र कलेजो तथा फियोको आकारमा उल्लेख्य रूपमा वृद्धि यो रोगका मुख्य लक्षण हुन्।

प्रायः साँझदेखि बिहानसम्म स्यान्ड फ्लाई भुसुना सक्रिय हुने हुनाले सकेसम्म यो समयमा बाहिर ननिस्कन, बाहिर निस्किँदा शरीर छोप्ने कपडा लगाउनुपर्ने चिकित्सकको भनाइ छ। पहिला-पहिला तराईमा मात्र लाग्ने यो रोग पछिल्लो समयमा पहाड र हिमाली जिल्लामा पनि देखिन थालेको छ।

प्रकाशित: १७ वैशाख २०८१ ०६:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App