३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

उदयपुरका घर-गोठ र जंगलमा फैलिँदै आगाे

तीन दिनअघि लिमचुबुङ गाउँपालिका १ बाँसबोटेमा लागेको डढेलो। तस्बिर : नागरिक

उदयपुरमा शनिबार पनि आगलागीबाट घर जलेर नष्ट भएको छ। घरकै चुलोबाट उम्केको आगोले त्रियुगा नगरपालिका ७ होक्सेस्थित होमबहादुर सिग्देलको घर आगलागी भएको हो।

गाई-भैँसीलाई खोले पकाउने क्रममा अत्यधिक चलेको हावाहुरीका कारण आगो उम्केर घर जल्न पुगेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आगोले सिग्देलको तल ढुंगा माटो र माथि बाँसको टाटी बेराको टिनको छानावाल दुईतले मतान घर जलेर नष्ट भएको छ।

आगोले सिग्देलको घरभित्र रहेका सम्पूर्ण लत्ताकपडादेखि भाँडावर्तन तथा अन्य धनसम्पत्ति तथा चिरान काठ जलेर नष्ट भएको छ। त्यसैगरी बिजुलीको मिटरबक्स, खानेपानी पाइप, पराललगायत सामग्री पनि आगोले नष्ट गरेको छ। घरछेउमै रहेको कुखुराको खोर र बाख्रोको खोर पनि आगोले ध्वस्त बनाएको प्रहरी भनाइ छ।

आगो लागेको खबर पाएलगत्तै खटिएको जिल्ला प्रहरी कार्यालय उदयपुर र प्रहरी चौकी चुहाडेको टोलीले दमकल र स्थानीयबासीको सहयोगमा आगो तीन घन्टापछि नियन्त्रणमा ल्याएको छ। आगलागीबाट सिग्देलको ७ लाख १० हजार रुपैयाँबराबरको क्षति भएको प्रारम्भिक अनुमान प्रहरीको छ। आगोले मानवीय तथा चौपाया क्षति भने नगरेको प्रहरी भनाइ छ।

गएको बिहीबार पनि रौतामाई गाउँपालिका ७ पुँवारेस्थित दोर्जेलिङमा दुई घर आगोले नष्ट भएको थियो। विद्युत् सट भई लागेको आगोले स्थानीय विष्णु कटुवाल र खड्ग कटुवालको घर पूर्णरुपमा ध्वस्त पारेको वडाध्यक्ष मनोज रानामगरले बताए।

कटुवालद्वयको घरसँगै घरभित्र रहेको अन्नपात, लत्तकपडा, भाँडावर्तन, कागजातलगायत सम्पूर्ण नष्ट भएको उनले बताए। घरसँग जोडिएका ग्वाली, भान्सा घर र बाख्रा खोर, कुखुरा खोर पनि आगोले खरानी बनाएर ५० लाख रुपैयाँ बराबरको क्षति भएको मगरले बताएका छन्।

त्यसैगरी बुधबार पनि उदयपुरगढी गाउँपालिका ७ कमेरेस्थित चित्रबहादुर मगरको घर विद्युत् सर्ट भएरै आगलागी हुँदा काठ र टिनले छाएको २ तले घर र घरभित्रका सम्पूर्ण अन्नपात, लुगाफाटा, भाँडावर्तन र कागजातलगायत धनसम्पत्ति जलेर नष्ट भएको छ। आगोले मगरको १२ लाख ५० हजार हाराहारी क्षति भएको उदयपुरगढी ७ का वडाध्यक्ष भुवन मगरले बताएका छन्।

आगोले उदयपुरगढी– ६ स्थ्ति रातेमाटेका निरबहादुर कटुवालको घर पनि सोमबार जलेर नष्ट भएको थियो। आगोले कटुवालको इँटा र काठले बनेको टिनको छाना भएको २ तले घर र गोठ जल्दा ८ लाख ६६ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

त्यसअघि ताप्ली गाउँपालिका २ को नारीमाला र लिमचुङबुङ गाउँपालिका ५ जाँते चौलानेमा गरी ५ घर र आधादर्जन मतान तथा गोठहरु जलेका थिए। नारीमालामा उत्तमबहादुर मगर, अमिर मगर र यामबहाुदर मगरको घर, मतान र गोठ जलेर २२ लाख ४९ हजार बराबर क्षति भएको प्रहरीले जनाएको छ।

त्यसैगरी जाँते चौलानेमा लागेको आगोले चौलानेमा भएको आगलागीमा परी अशोक राईको घर, मतान र गोठ, बयानसिंह राईको घर, मतान र गोठ तथा कुमार राईको गोठ जलेर नष्ट भएको थियो। स्थानीय हुरुङमा सामुदायिक वन समूहमा लागेको डढेलो अनियन्त्रित हुँदै गाउँ पस्दा आगलागी भएर साढे ७ लाख बराबर क्षति भएको प्रहरी रिपोर्टले जनाएको छ।

लगभग दुई महिनायता डढेलो र विद्युत सर्टलगायत कारणले उदयपुरमा दुई दर्जन बढी घर मतान र गोठ जलेर नष्ट भइसकेका छन् भने वनजङ्गल त हजारौँ हेक्टर ध्वस्त भइसकेको छ। डढेलो र विद्युत् सर्टले हरेक दिनजसो आगलागीका घटना हुँदा धनमाल र वन सम्पदा जलेर व्यापक क्षति हुने क्रम जारी रहेको छ।

अहिले पनि दर्जन बढी ठाउँ डढेलो लागिरहेको स्थनीयले बताएका छन्। जिल्लाको पहाडी लिमचुङबुङ गाउँपालिकाका पाँचवटै वडाका वनजङ्गल आगोले ध्वस्त बनाइसकेको छ भने अहिले पनि डढेलो गइरहेको स्थानीयले बताए।

गाउँपालिकाका लेखापाल विवेक आचार्यका अनुसार १ नं. वडा बाँसबोटेका विभिन्न सामुदायिक वनका जङ्गलमा डढेलो लागिरहेको छ। त्यसैगरी २ नं वडाको ताम्लिछा, ३ नं. बाराहा, ४ नं बलम्ता र ५ नं को जाँतेका वन जङ्गलमा डढेलो निरन्तर लागिहेको स्थानीयलाई उद्धृत गर्दै लेखापाल आचार्यले बताएका छन्।

डिभिजन वन कार्यालय उदयपुरले डढेलोका कारण धेरै वन जङ्गल विनाश भईसकेको जनाएको छ। सहायक वन अधिकृत रामभगत यादवका अनुसार डिभिजनमा जनशक्ति कमी भएकाले डढेलो नियन्त्रणका लागि पर्याप्त कर्मचारी खटाउन नसकिएको बताए। कर्मचारी अभावले गर्दा आगलागी हुनबाट बचाउने तथा डढेलो लागिहाले नियन्त्रण गर्ने जिम्मा स्थानीय सामुदायिक वन उपभोक्ता समूहलाई सुम्पेको यादवको भनाइ छ।

यादवका अनुसार कार्यालयलाई आवश्यक्ताअनुसार बजेट र जनशक्ति दुवै कमी हुँदा डढेलो नियन्त्रण कार्य प्रभावकारी गर्न सकिएको छैन। त्यसकारण डिभिजनले सामुदायिक वन, प्रहरी तथा सशस्त्र प्रहरी र स्थानीय तहका जनप्रतिनिधिसँग समन्वय गर्दै डढेलो नियन्त्रणको काम गर्नुपरेको उनले बताए।

अलि ठूलो खालको अग्नि बिपत्ति परेको खण्डमा भने नेपाली सेनाको सहयोग लिएर उद्धार कार्यमा खट्ने गरिएको यादवले बताए।

प्रकाशित: १७ वैशाख २०८१ ०९:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App