६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

मकैमा कीराको सङ्क्रमणले किसान चिन्तित

बाँकेमा लगाइएको मकै बालीमा रोग तथा कीराको प्रकोप बढ्दै गएपछि किसान चिन्तित बनेका छन्। व्यावसायिकरुपमा बेमौसमी मकैखेती हुँदै आएको डुडुवा गाउँपालिका–६ हिरमिनियाको महन्तपूर्वालगायतका क्षेत्रमा रोग तथा कीराको सङ्क्रमणले मकैमा क्षति पुगेको छ।

डुडुवा–६ हिरमिनियाका किसान जियालाल यादवले मकै फल्ने बेलामा कीराले पात हुँदै बोटमा आक्रमण गरेपछि बोट मर्ने समस्या देखिएको बताए।

‘मेहनत गरेर लगाएको बाली फल्ने बेलामा कीराले खाएको छ, यो पटक मकैमा लगाएकाले लगानी पनि नउठ्ने भयो’, बारीमा कीराले सङ्क्रमण गरेको मकैका बोट देखाउँदै किसान यादवले भने, ‘रोग लागेकाबारे गाउँपालिकाको कृषि शाखामा जानकारी गराए पनि उपचार हुन सकेको छैन।’

यादवको करिब १४ कट्ठा जमिनमा लगाइएको बेमौसमी मकैमा रोगको सङ्क्रमण देखिएको हो। पातमा कीराले खाएर प्वाल पार्ने र विस्तारै बिरुवा सुक्दै जाने समस्या देखिएको उनको भनाइ छ।

स्थानीय सावितराम यादवले सुरुमा लगाएको मकैबाली सप्रिए पनि पछिल्लो पटकको मकै बालीमा रोग कीराको सङ्क्रमण देखिएको बताए।

जिल्ला कृषि ज्ञानकेन्द्र बाँकेका सूचना अधिकारी जीवनकुमार केसीले कहिँकतै रोगको सङ्क्रमण देखिएको कृषकले गुनासो गरे पनि प्रकोपका रुपमा नरहेको उल्लेख गरे। 

उनले स्थलगत रूपमा अनुगमन गरेर मकैमा सङ्क्रमण गरिरहको कीरा र रोगका बारेमा पहिचानका लागि स्थानीय तहका कृषि शाखासँग समन्वय भइरहेको बताए।

बाँकेमा राप्ती सोनारी गाउँपालिकाको वैजापुर, फत्तेपुर, बिनौना, नेपालगञ्जको भवानीयापुर, बाबुगाउँ, डुडुवाको हिरमिनिया र खजुरा क्षेत्रमा किसानले बमौसमी मकैखेती गर्दै आएका छन्।

बेमौसमी मकै खेतीका लागि राहत तथा अनुदानको कार्यक्रम नभए पनि किसानले स्वस्फूर्तरुपमा खेती गर्दै आएको किसान महासङ्घ बाँकेका अध्यक्ष कृष्णविक्रम केसीले जानकारी दिए। -रासस

प्रकाशित: २४ वैशाख २०८१ १२:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App