२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

मुआब्जा विवादले सडक निर्माण प्रभावित

तस्विरः सडकले छोएको त्रियुगा ६ चुहाडेस्थित जनज्योति मावि भवन।

उदयपुर-राष्ट्रिय गौरवको धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली जोड्ने निर्माणाधीन ‘मदन भण्डारी वैकल्पिक लोकमार्ग’मा मुआब्जा विवादले एक ठाउँको कालोपत्रेको काम रोकिएको छ।

महिना दिनयता सुरु कालोपत्रे गर्ने काम गाईघाट–नेपाटार खण्डको चुहाडेमा पुग्दा मुआब्जा आएको छ। जसले दुईदिनयता काम हुन सकेको छैन। चुहाडेस्थित जनज्योति मावि र आसपासका केही घरको मुआब्जामा विवाद भएपछि त्यो ठाउँको कालोपत्रे निर्माण कार्य अवरोध भएको हो। 

गाईघाटदेखि चुहाडेसम्मको ७ किलोमिटर खण्डमा गतसाता नै कालोपत्रे भइसकेको छ। सो खण्डको कालोपत्रे सकेर चुहाडदेखि तोरीबारी झोलुंगे हुँदै चिसापानी खण्डको ४ किलोमिटर कालोपत्रे गर्ने काम अघि बढाउँदै गर्दा स्थानीयबाट गुनासो आएपछि चुहाडेको काममा अवरोध भएको मदन भण्डारी लोकमार्ग कार्यालय गाइघाटले जनाएको छ। चुहाडेदेखि पश्चिम जनज्योति माविको भवन र आसपासका केही घरटहरा भत्काउनुपर्ने भएपछि मुआब्जाको विषयमा सामान्य विवाद भएको आयोजना कार्यालयका इन्जिनियर शंकर पौडेलले बताए।

उनका अनुसार लोकमार्गमा परेको जग्गाको मुआब्जा सरकारले नदिने निर्णय गरेको छ भने घरटहराको मुआब्दाचाहिँ दिने काम भइरहेको छ। गाईघाट–चुहाडे खण्डको कालोपत्रे सकिए पनि मुआब्जा वितरण बाँकी रहेकाले विवाद भएको हो। स्थानीयले भने निर्माण कम्पनीले मुआब्जाको टुंगो नलगाई सडकको काम सम्पन्न गर्न खोजेपछि विवाद उत्पन्न भएको बताएका छन्।

लोकमार्ग निर्माणको जिम्मा पाएको जेडआईईसी/लामा/शर्मा जेवीले सडकले छोएका घरटहराको मुआब्जा नदिई धमाधम काम गर्दा स्कुल र स्थानीयलाई मार्का परेको जनज्योति माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष अम्मर दनुवारले बताए। 

स्कुलको एउटा भवन र अन्य स्थानीयको थुप्रै भत्काउने घरटहराको मागेजत्ति र समयमा मुआब्जा नदिएकाले बाध्य भएर काम रोक्नु परेको उनले बताए । साविक सडकको बीच भागबाट नापेर काम गरेको भए विद्यालय भवन नभत्किनेमा नाप्नै गल्ती गर्दा आधा भवन भत्कनेस्कुललाई लाखौं घाटा पुग्ने दावी उनले गरे।

आधा भत्कने विद्यालय भवन बनाइदिनुपर्ने माग राख्दा निर्माण कम्पनीले नमानेको पनि उनको भनाइ छ। बीच भागबाट नापेर दुवैतर्फ बराबरी जग्गा मिच्नुपर्नेमा मनपरी गर्दा पहुँचवालाको घरजग्गा बचाउने र निमुखा निम्छरालाई हेप्ने काम भएको स्थानीयको गुनासो छ। यसबारे स्थानीयले सडक, ठेकेदार र प्रशासन सबैतिर गुनासोसहित निवेदन दिइसकेको बताएका छन्। 

विवादका कारण कालोपत्रेको काम रोकिएपछि जिल्ला समन्वय समितिले लोकमार्गको स्थलगत अनुगमन गरेको छ। समन्वय प्रमुख खड्ग परियारलगयत टोली अनुगमनमा जाँदा स्थानीयले सडक कार्यालय र निर्माण कम्पनीले उचित मुआब्जा दिन र जथाभावी जमिन नमिच्न सुझाव दिएका छन्।

परियारले काममा अवरोध नगर्न सुझाउँदै प्रशासन, सडक आयोजना, निर्माण कम्पनी र स्थानीयबासी सँगै बसेर सहमति जुटाउने आश्वासन दिएका छन्। सडक खन्दा खानेपानीको पाइपविच्छेद गरेर पानीको हाहाकार स्थिति सिर्जना गरेको विषयमा स्थानीय गरेको गुनासो र विद्यालय भवनको मुआब्जा विषयमा पनि परियारले दुवैपक्षबीच बसेर समाधान निकाल्ने प्रतिबद्धता जनाएका छन्। 

सुनसरीको धरानदेखि चतारा हुँदै सदरमुकाम गाईघाट–कटारी–सिन्धुली भएर हेटौंडा जोड्ने १ सय ३४ किलोमिटर बैकल्पिक लोकमार्गको उदयपुर खण्डमा आधाभन्दा बढीलाई मुआब्जा वितरण गर्न बाँकी रहेको लोकमार्ग कार्यालय प्रमुख (डिई) ललिजङ खनालले बताए ।

उनका अनुसार सडक मापदण्डभित्र परेका कटारीदेखि नेपालटार खण्डसम्मका सबै घरटहराधनीले जिल्ला प्रशासन कार्यालय उदयपुरमार्फत मुआब्जा पाईसकेका छन् । नेपालटार–गाईघाट–बेलटार–बसाहा खण्डका पीडितलाई भने मुआब्जा दिन बाँकी रहेको र केहीदिनभित्रै दिन थालिने डिई खनालले बताएका छन् ।

  जिल्ला प्रशासन कार्यालयले अहिलेसम्म ५ करोड २९ लाख ७४ हजार ३० रुपैयाँ मुआब्जा वितरण गरिसकेको जनाएको छ। कार्याललयकी लेखापाल वर्षा तिम्सिनाका अनुसार डिभिजन सहरी कार्यालयको मूल्यांकनका आधारमा लोकमार्गको उदयपुरमा पर्ने ७० किलोमिटर खण्डका ३ सय ७९ वटा घरटहराको ८ करोड रुपैयाँ भुक्तानी दिनुपर्ने प्रशासनको निर्णयअनुसार नेपालटार–कटारी खण्डका २ सय ४० जनाले मुआब्जा पाईसकेका छन्। अब नेपालटारदेखि बसाहासम्मका १ सय ३९ घरटहरालाई २ करोड ३९ लाख मुआब्जा दिन बाँकी रहेको उनले बताइन्। 

 

 

प्रकाशित: ५ चैत्र २०७५ १२:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App