२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पशु चिकित्सक लाइसेन्समा अधिकतर अनुत्तीर्ण

बनेपा – नेपाल पशु चिकित्सा परिषद्को नाम दर्ता प्रमाणपत्र परीक्षा दोस्रो चौमासिकमा पनि विदेशमा पढेका पढेका अधिकांश विद्यार्थी अनुत्तीर्ण भएका छन्। परिषद्ले नेपाल पशु चिकित्सा परिषद् नियमावली, २०५७ अनुसार अनुत्तीर्ण हुनेहरूमा अधिकांश बंगलादेशस्थित विभिन्न कृषि विश्वविद्यालयहरूबाट पशु चिकित्सा कोर्ष अध्ययन गरेका विद्यार्थी रहेको बताइएको छ।

त्रिवि अन्तर्गतको इन्स्टिच्यूट अफ एग्रीकल्चर एण्ड एनिमल साइन्सेजबाट सहभागी सबै विद्यार्थी पनि अनुत्तीर्ण भएको बताइएको छ। परीक्षामा बंगलादेशको हाहम्मद दानेस साइन्स एण्ड टेक्नोलोजी युनिभर्सिटीबाट विभिएस्सी एण्ड एएच उत्तिर्ण सात जना सहभागी भएकामा एक जना मात्रै उत्तिर्ण भएका छन्।

नेपालकै भेटेरीनरी कलेजबाट पशु चिकित्सा कोर्ष उत्तिर्ण भएका विद्यार्थीहरूको परीक्षामा मिश्रित परिणाम आएको जनाइएको छ। विगतमा ५० प्रतिशतको हाराहारीमा त्रिविका विद्यार्थी उत्तिर्ण हुने गरे पनि यो वर्ष भने निकै कम उत्तिर्ण भएको बताइएको छ। कृषि तथा वन विश्वविद्यालयबाट सहभागी एक जना विद्यार्थी भने उत्तिर्ण भएका छन्। निजी क्षेत्रबाट सञ्चालित हिमालय कलेज अफ एग्रीकल्चरल साइन्सेज एण्ड टेक्नालोजीका १२ जना विद्यार्थीहरू नाम दर्ता परीक्षामा सहभागी भएकामा ३ जना मात्रै उत्तीर्ण गरेका छन्।

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त हिकास्टका २५ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन्। प्रथम चौमासिकमा भने हिकास्टबाट ५१.८५ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका थिए। पूर्वाञ्चलकै सम्बन्धन प्राप्त नेशनल पोलिटेक्निक इन्स्टिच्यूटका ७ जना विद्यार्थी सहभागी मध्ये २ जना उत्तिर्ण भएका हुन्। पछिल्लो समय मुलुकमा पशु तथा पंक्षीपालनमा व्यावसायिकता आएसँगै पशु चिकित्सकहरूको माग पनि बढ्दो छ। तर, यहाँका कलेजहरूले सीमित संख्यामा मात्रै विद्यार्थीहरू भर्ना लिने भएकाले अधिकांश विद्यार्थीहरू विदेशमा रहेका भेटेरीनरी कलेजहरू जाने गर्दछन्।

परिषद्ले प्रत्येक चौमासिकमा नाम दर्ता प्रमाणपत्र (लाइसेन्स परिक्षा) लिने गरेको छ। गत कात्तिक मसान्तमा प्रथम चौमासिकको परीक्षामा नेपाली कलेजका ४६ जना र विदेशमा पढेका १५ गरी ६१ जनासँग परिषदले नाम दर्ता परीक्षा लिएको थियो। त्यसमा विदेशी कलेज पढेर सहभागी भएका १५ जनामध्ये ४ जनामात्रै उत्तिर्ण भएका थिए भने नेपाली कलेजमा पढेका ४६ मध्ये २६ जना उत्तीर्ण भएका थिए। परिषद्मा हालसम्म एक हजार तीन सय १३ जना दर्तावाला पशु चिकित्सक रहेका छन्। परिषदको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स परिक्षा) उत्तिर्ण नहुनेले प्रयोगात्मक गर्न पाउँदैनन्।

प्रकाशित: २६ फाल्गुन २०७६ ०४:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App