२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

विदेशमा काम गर्ने नेपालीको पीडा, न सरकारले खोज्छ न दूतावासले

काठमाडौं  - मलेसियाको राजधानी क्वालालाम्पुरस्थित निच्या एलइडिई कम्पनीमा काम गर्दै आएका एक सय ६५ नेपाली कामविहीन भएको आइतबार २४ दिन पूरा भएको छ। 

जापानीहरूले चलाउँदै आएको उक्त कम्पनी कोरोना जोखिमबाट जोगिन बन्द गरिएपछि त्यहाँ कार्यरत एक सय ६५ नेपालीसहित ६ सय श्रमिक होस्टलमा बसेका छन्। 

सञ्चालकले लकडाउनपछि काम सुरु हुने बताए पनि मलेसिया सरकारले अवधि थप गर्दै गएकाले कम्पनी कहिले खुल्छ भन्नेबारे कुनै यकिन छैन। 
मलेसिया सरकारले तेस्रोपटक थपेको लकडाउन अवधि अप्रिल २८ सम्म छ। साढे एक वर्षदेखि सोही कम्पनीमा काम गर्दै आएका रुकुम, खारा–६ का महेशकुमार ओलीले अहिलेसम्म कम्पनीले खाने, बस्ने व्यवस्था गरे पनि लकडाउन अवधि थपिँदै गएकाले भविष्य पनि अनिश्चित बन्दै गएको नागरिकसँगको टेलिफोन सम्पर्कमा बताए।

उनका अनुसार भारत, फिलिपिन्स, बंगलादेशका सरकारी अधिकारीले बेलाबेला फोन गर्दै आफ्ना नागरिकले भोगिरहेको समस्याबारे जानकारी लिइरहेका छन्। ‘तर यस अवधिमा नेपाल सरकारका कुनै पनि अधिकारीले हामीले भोगिरहेको अवस्थाबारे जानकारी लिएका छैनन्,’ नेपाली जनप्रगतिशील मोर्चाको संयोजकसमेत रहेका ओलीले भने, ‘नेपाल सरकारको व्यवहार देख्दा अत्यास लागिरहेको छ।’

‘मलेसियामा लकडाउनपछि भारत, फिलिपिन्स, बंगलादेशका सरकारी अधिकारीले फोन गरेर  आफ्ना नागरिकको जानकारी लिइरहेका छन्। तर नेपालबाट कसैले सोधीखोजी गरेका छैनन्।’

उनले सरकारले तत्काल उद्धार गर्नुपर्ने बताए। ‘नेपाल लगेपछि हामीलाई जति दिन पनि क्वारेन्टाइनमा राखे हुन्छ,’ उनले भने, ‘विदेशमा अलपत्र पर्न त दिनु भएन।’

सहयोगका लागि हारगुहार गर्दा पनि सरकारी निकाय जिम्मेवारीबाट पन्छिने गरेको उनको गुनासो छ। ‘नेपालबाट कुनै पनि सरकारी अधिकारीले चासो नराखेपछि मलेसियास्थित नेपाली राजदूताबासमा केही दिनअघि मैले फोन गरेँ,’ उनले भने, ‘दूतावासका कर्मचारीले समस्या परे खबर गर्नुहोला भन्दै फोन राखिदिए।’ 

दुतवासका कर्मचारीको भनाइप्रति रुष्ट उनले भने, ‘वैदेशिक रोजगारीमा आएका हामी नेपाली महिना दिनसम्म बेरोजगार हुनु समस्या होइन र ? बेरोजगार भइसकेपछि कसरी बसेका छन् ? के खाइरहेका छन् ? भन्ने जानकारी दूतावासका कर्मचारीले लिनुपर्ने होइन र ?’ 

श्रम स्वीकृति जारी संख्या आधारमा नेपालको सबैभन्दा ठूलो गन्तव्य मलेसिया हो। हालसम्म रोजगारीका लागि मलेसिया जान ११ लाख बढीले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएका छन्। तीमध्ये यतिखेर करिब साढे चार लाख मलेसियामै रहेको अनुमान छ। 

कोरोना त्रासले उद्योगधन्दा बन्द हुँदै गएपछि यतिखेर मलेसियामा साढे दुई लाख नेपाली कामविहीन भइसकेको त्यहाँ रहेकाले बताएका छन्।  ‘सुरक्षा गार्ड, खाद्यान्न पसलमा काम गर्नेले मात्र काममा निरन्तरता दिइरहेका छन्,’ ओलीले भने, ‘काम बन्द भएकाहरू कोठाभित्रै थुनिएका छन्।’ 

पनौती–८, काभे्रका उमेश केसीले धेरैजना एउटै कोठामा बस्नुपर्दा कोरोना संक्रमणको जोखिम बढेको बताए। ‘सरकारले कोरोना भाइरसबाट बच्न व्यक्ति–व्यक्तिबीचको दूरी कायम गर्नुपर्छ भन्छ,’ उनले भने, ‘तर एउटै कोठमा २० जनासम्म  बस्नुपरेको छ।’ 

विदेशमा रहेका नेपाली कुन अवस्थामा छन् र कसरी गुजारा चलाइरहेका छन् भन्नेबारे नेपाल सरकारले अहिलेसम्म कुनै चासो नदिएकाप्रति गुनासो गर्दै उनले तत्काल समस्या सम्बोधन गर्न आग्रह गरे। उनले भने, ‘राष्ट्रपति, प्रधानमन्त्रीले रेडियो, टेलिभिजनबाट श्रमिकप्रति चासो दिएको सुनिन्छ तर श्रमिकसँंग कसैले सोधीखोजी गरेको छैन।’

समस्याबारे मलेसियास्थित नेपाली दूतावासमा फोन गर्दा पनि चासो नदिएको बताए। विश्वव्यापी रूपमा कोरोना महामारी फैलिँदै गएपछि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई कसरी सुरक्षित राख्ने भन्ने नीति सरकारले सार्वजनिक गर्न सकेको छैन। खासगरी संकटका बेला सरोकारवाला निकाय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको भूमिका निकै फितलो देखिएको वैदेशिक रोजगारीमा गएका नेपाली बताउँछन्। विज्ञहरू संकटका बेला  सरकारको दायित्व बढी हुने भएकाले कुनै बहाना गर्न नमिल्ने बताउँछन्। श्रम विज्ञ सोम लुइँटेल भन्छन्, ‘वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सुरक्षित राख्न तत्काल सरकारले स्वास्थ्य सुविधा उपलब्ध गराउनुपर्छ।’ कतिपय गन्तव्य मुलुकमा रहेका नेपालीले राम्रो स्वास्थ्य उपचार गर्न नपाएको गुनासो गरेका छन्। 

त्यस्तै वैदेशिक रोजगारीमा रहेका  कति नेपाली जोखिममा छन् र कतिले रोजगारी गुमाएका छन् भन्ने लेखाजोखा गर्न पनि सरकारले ढिलाइ गर्न नहुने उनको भनाइ छ। ‘अहिले देखिएको जोखिम कम गर्ने हो भने सरकारको पहिलो काम विदेशमा रहेका नेपाली लक्षित राहत, उपचार र उद्धार हुनुुपर्छ,’ लुइँटेलले भने, ‘त्योबाहेक बहुसरोकारवाला सम्मिलत कोभिड–१९ व्यवस्थापन समिति गठन गरेर समस्या समाधान गर्नुपर्छ।’ 

वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष रोहन गुरुङ गन्तव्य मुलुकमा लकडाउन खुल्नेबित्तिकै धेरै नेपाली घर फर्कन सक्ने भएकाले उद्धारका लागि सरकारी निकाय तयार रहनुपर्ने बताउँछन्। ‘कतिपय त्रासका कारण त कतिपय रोजगारी गुमाएर फर्कनेवाला छन्,’ उनले भने, ‘उनीहरूलाई कसरी स्वदेश फर्काउने र स्वदेशमा फर्काएर के काम दिने हो सरकारले अहिले नै योजना बनाउनु पर्छ।’ 

मुलुकमा लकडाउनको एक सातापछि सरकारले राहत प्याकेज घोषणा गरे पनि त्यसले श्रमिक र वैदेशिक रोजगारीमा रहेकाको समस्या सम्बोधन नगरेको गुनासो छ। वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहाल विदेशमा समस्या परे नेपाली नियोगले सहयोग गर्ने बताउँछन्।

स्वदेशमा रोजगारी नपाएपछि करिब ४६ लाखले विदेशमा काम गर्न जान स्वीकृति लिएका छन्। जसमध्ये २५ देखि ३० लाख अझै पनि गन्तव्य मुलुकमै रहेको अनुमान छ। त्योबाहेक अध्ययन, पर्यटन भिसामा गएका र भारतमा रहेका नेपालीको संख्या जोड्ने हो भने विदेशमा नेपालीको संख्या अझै धेरै छ। विभागले वैदेशिक रोजगारीमा जानेको मात्र विवरण राख्ने तर फर्कनेको विवरण नराख्दा विदेशमा रहेका नेपालीको यकिन तथ्यांक छैन। सरकारले विश्वका एक सय आठ देशमा संस्थागत रूपमा (म्यानपावरमार्फत) र एक सय ७२ देशमा व्यक्तिगत रूपमा जानेलाई श्रमिक स्वीकृति दिने गर्छ। 

श्रम स्वीकृति लिएकामध्ये करिब ९० प्रतिशतले खाडी मुलुक (कतार, युएई, साउदी अरेबिया, बहराइन, कुबेत र ओमान) तथा मलेसियामा श्रम बेचिरहेका छन्। 


रोजगारीका लागि मलेसियामा रहेका रुकुम, खारा–८ का महेशकुमार ओली र पनौती–८ काभ्रेका उमेश केसी। 

प्रकाशित: १ वैशाख २०७७ ०१:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App