२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कोरोना संक्रमण रोक्न जलेश्वरमा निश्चित स्थल तोकेर पुर्णरुपमा बन्द गर्ने निर्णय

कोरोना संक्रमणको दोस्रो लहर तीव्र गतिमा बढ्न थालेपछि मंगलबारदेखि सदरमुकाम जलेश्वरमा निषेधाज्ञालाई थप कडाइ गर्ने निर्णय भएको छ। जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन समितिको निर्णयानुसार वैशाख २२ गतेदेखि जिल्लाभर निषेधाज्ञा रहेपनि सदरमुकाम जलेश्वरमै ठूलो संख्यामा संक्रमितको मृत्यु भएपछि मंगलबारदेखि जलेश्वर भित्र भिडभाड हुने तीन स्थानलाई केन्द्रित गरि पुर्णरुपमा बन्द गर्ने निर्णय गरिएको हो।  

जलेश्वर नगर क्षेत्र भित्र नै आधा दर्जन भन्दा बढी व्यक्तिको कोरोना संक्रमणका कारण मृत्यु भएपछि सोमबार बसेको जिल्ला स्तरीय सो बैठकले मंगलबार विहान ६ बजेदेखि लागु हुने गरि जलेश्वर नगरपालिकाको मिना बजार तथा आसपासका क्षेत्र, साहुजीपटि, र महादेव मन्दिर लगायतका स्थानहरुलाई पूर्णरुपमा बन्द गर्ने निर्णय भएको हो।  

प्रमुख जिल्ला अधिकारी तिर्थराज भटराईले सार्वजनिक सूचना जारि गरि पूर्णरुपमा बन्द गर्ने तोकिएको क्षेत्रमा निर्णयको बर्खिलाप गरेमा सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिई कारबाही गर्ने जानकारी समेत गराएको छ।  

यसअघि वैशाख २२ गते विहान ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्मको लागि जिल्लाभरिमै संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम निषेधाज्ञा जारि गरिएकोमा पूर्व निषेधाज्ञाको आदेशलाई यथावतै राखि बाँकी सदरमुकाममा निश्चित क्षेत्रलाई पुर्णरुपमा बन्द गरिएको हो।  

जिल्लामा यसपालि कोरोना संक्रमणका कारण १२ जनाको ज्यान गइसकेको छ। जसमध्ये आधा दर्जन व्यक्ति सदरमुकाम जलेश्वरकै छन्। जलेश्वरमा मृत्यु हुने सवैको निषेधाज्ञा अवधिभित्र निधन भएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ। गत वर्ष वैशाखदेखि कात्तिकसम्म कोरोनाकै संक्रमणले १८ जनाको मृत्यु भएको थियो।

प्रकाशित: २७ वैशाख २०७८ १४:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App