२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सेनाले दिने एनसिसी तालिमप्रति विद्यार्थीको आकर्षण बढ्दो

नेपाली सेनाले धादिङको थाक्रे गाउँपालिकाको जनजागृति माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई  एनसिसी तालिम दिन सुरु गरेको छ। विद्यालयका ३६ जना छात्रछात्रा छनौट गरी तालिम दिन सुरु गरिएको शिव दल गणका गणपति प्रमुख सेनानी अशोक राज बरालले जानकारी दिए।  

नेपाली सेनाले राष्ट्रिय सेवा दल मार्फत २०२२ सालदेखि विद्यार्थीहरुलाई एनसिसी तालिम दिन सुरु गरेको हो। सभ्य, अुनशासित र असल नागरिक उत्पादन गर्नु एनसीसी तालिमको मुख्य उद्देश्य रहेको उनले बताए। साउन १ गतेबाट सुरु भएको १७औं सिनियर डिभिजन तालिम मंसिर १८ गतेसम्म संचालन हुनेछ।  

नेपालमा नेपाली  सेनाले सिनियर र जुनियर गरि दुईवटा डिभिजन छुट्याएर तालिम दिदै आएको शिव दल गण गजुरीका मेजर धिरज कुमार पण्डितले बताए। जनजागृतिका विद्यार्थीलाई दिएको सिनियर डिभिजनको तालिम हो। ‘कक्षा ८ देखि कक्षा १० सम्मका  विद्यार्थीलाई दिईने तालिम जुनियर डिभिजनको हो, उनीहरुलाई हतियार सम्वन्धि तालिम दिइदैन’, मेजर पण्डितले भने– ‘कक्षा ११ र १२ का विद्यार्थीलाई दिईनेसिनियर डिभिजनको तालिममा हतियार चलाउन समेत सिकाईन्छ।’  

तालिममा सहभागी विद्यार्थीहरुलाई ७९ दिनसम्म नेपाली सेनाका प्रशिक्षकले तालिम दिनेछन्। बाँकी २१ दिन सामुहिक क्याम्प गरी विभिन्न स्थानहरुको अवलोकनसहितको तालिम गराइने उनले बताए।

तालिम लिएपछि भविष्यमा सेना प्रहरी लगायतका सुरक्षा फौजको छनौटका लागि प्राथमिकतामा परिने आसले पनि एनसिसी तालिमप्रति विद्यार्थीहरुको आकर्षण बढ्दो छ। पछिल्लो समय तालिममा जान विद्यार्थीहरु स्वतःस्फूर्त अग्रसर हुन थालेका छन्।  

एनसिसी तालिममा छनौट हुनका लागि नेपाली सेनाले विभिन्न मापदण्ड पुरा गर्नुपर्छ। तालिममा सहभागि हुने विद्यार्थीहरुले आफुलाई सक्षम बनाउन, अनुशासित नागरिक हुन र पछि नेपाली सैनिकमा भर्ना हुने ईच्छा भएकोले एनसिसी तालिम रोजेको प्रतिकृया दिए। अहिले धादिङका ३ वटा विद्यालयमा राष्ट्रिय सेवा दल तालिम भइरहेको छ।  

एनसिसी तालिमले बानी व्यवहार तथा आचरणमा पनि उल्लेखनीय सुधार आउने महसुस भएको भन्दै अभिभावकहरु पनि तालिमप्रति सकारात्मक देखिएको मेजर पण्डितले बताए। जनजागृति माविमा सुरु भएको तालिम शुभारम्म कार्यक्रममा थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य, उपाध्यक्ष राम यन्त्र बहादुर थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित शिक्षकहरुले तालिम सफलताको शुभकामना दिएका थिए।  तालिमको सही सदुपयोग गर्न सके वैदेशिक रोजगारीमा होमिनुपर्ने नेपाली युवायुवतीको बाध्यता पनि हट्ने उनीहरुले विश्वास व्यक्त गरेका छन्।

प्रकाशित: २ भाद्र २०७९ १५:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App