२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

‘साइक्लोक्रस एमटिबि रेस’ मा काभ्रेका अच्युतकृष्ण प्रथम

रोटरी साइक्लोक्रस एमटिबी रेसका विजेताहरुसँग आयोजक, अतिथिहरु।

बालबालिकाको शिक्षाको लागी धरानमा आयोजित राष्ट्रिय स्तरको १६ किलोमिटर ‘साइक्लोक्रस एमटिबि रेस’ मा काभ्रेका अच्युतकृष्ण खरेल प्रथम भएका छन्।

रोटरी क्लब अफ धरानले आयोजना गरेको रेसमा निर्धारित दुरी ३६ मिनेटमा पुरा गर्दै खरेल प्रथम भएका हुन्।

यस्तै, धरानका दिप सागर तामाङ रेसमा दोस्रो हुँदा एपिएफका लक्ष्मण मल्ल तेस्रो भए। प्रथम, द्वितीय र तृतीय भएका विजेताहरूले क्रमशः नगद २० हजार, १५ हजार र १० हजार नगदसँगै मेडल, प्रमाणपत्र पुरस्कार हात पारे।

रेसमा महिलातर्फको फाष्टर राइडरको पुरस्कार धरानकी आशा लिम्बुले जितिन्। उनले नगद ५ हजार पुरस्कार पाइन्।

४० वर्षको उमेर माथि समूहका मास्टर फाष्टर राइडरको पुरस्कार धरानका ४२ वर्षीय पदम थापाले जिते। उनले पनि नगद ५ हजार हात पारे।

यस्तै, १६ वर्षमुनिका खेलाडीहरुबीच आयोजित स्लो साइकल रेसमा अनुशिल कार्की प्रथम र कुसाङ शेर्पा द्वितीय हुँदै क्रमशः नगद २ हजार र १ हजार, प्रमाणपत्र, मेडल पुरस्कार पाए।

धरानको भानुचोकबाट सुरु भएको रेस विभिन्न वडा तथा चोक हुँदै धरान १५ खोरिया बस्तीस्थित जनता आधारभूत विद्यालयमा पुगेर समापन भएको थियो।

साइक्लोक्रस १ रेससँगै च्यारिटी फन राइड रोटरी साइक्लोफन २.० पनि आयोजना गरिएको कार्यक्रम संयोजक विनयलाल श्रेष्ठले जानकारी दिए।

उनका अनुसार फन राइड भने मात्र ७ किलोमिटरको रहेको थियो। फनराइड र रेसमा धरान, विराटनगर, पोखरा, काभ्रेलगायत विभिन्न जिल्लाबाट १०५ जना खेलाडीहरु सहभागी थिए।

रेस तथा फन राइडको उद्घाटन धरानका मेयर हर्क साम्पाङले रोबटमार्फत रिबन काटेर गरेका थिए भने समापन समारोहमा उपमेयर अइन्द्रबिक्रम बेघाले पुरस्कार वितरण गरेका थिए।

कार्यक्रम आयोजनाबाट सङ्कलित रकम जनता आधारभूत विद्यालयमा विभिन्न खेल सामग्री निर्माण गरेर हस्तान्तरण गरिने संयोजक श्रेष्ठले जानकारी दिए।

शिक्षा र स्वास्थ्यको क्षेत्रमा सामाजिक दायित्व पुरा गर्दै आएको रोटरीले प्रायोजक, खेलाडी दर्ता, रोटरीको फण्ड संकलनलगायतबाट विद्यालयहरूलाई सहयोग गर्दै आएको अध्यक्ष शिवनन्द साहले बताए।

रोटरीले गत वर्ष पनि साइक्लोफन १.० च्यारिटी राइडबाट सङ्कलित रकमले चोक्टीस्थित जन्मभूमि आधारभूत विद्यालयलाई पिङ, चिप्लेटीलगायत खेल सामग्रीहरू हस्तान्तरण गरेको थियो।

समुदायका आधारभूत विद्यालयहरूमा विद्यार्थीहरुको आकर्षण बढाउन खेल तथा शैक्षिक सामग्री सहयोग गर्ने उद्देश्यले फन राइड र रेसलाई रोटरीले हरेक वर्ष आयोजना गर्ने सचिव दिभा श्रेष्ठले जानकारी दिइन्।

प्रकाशित: ७ फाल्गुन २०८० १५:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App