२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

बुढासुब्बा गोल्डकप: सडन डेथमा आयोजक धरान विजयी

आयोजक धरान (सेतो) र युकेएफसी (पहेलो जर्सी) का खेलाडीहरु मैदानमा।

पाहुना टोली युनाइटेड खर्साङ (युके) एफसी भारतलाई सडन डेथमा स्तब्ध बनाउँदै आयोजक धरान फुटबल क्लबले २४ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपमा विजयी सुरुवात गरेको छ।

धरान-१६ स्थित रंगशालामा शनिबार भएको उद्घाटन खेलमा आयोजक क्लबले सडन डेथमा युकेएफसीलाई १०–९ गोल अन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको छ।

निर्धारित समयको खेल १–१ को बराबरीमा टुङ्गिएपछि समय अभावको कारण खेल टाई ब्रेकरमा धकेलिएको थियो। पेनाल्टीमा प्रहारमा पनि ४–४ को बराबरी भएपछि खेलको छिनोफानो सडन डेथबाट भएको हो।

पेनाल्टी सुटआउटमा युकेएफसिका प्रशान्त राईको पहिलो प्रहार नै धरानका गोलकिपर सचिन श्रेष्ठले रोकेका थिए। तर, चौथो नम्बरमा पेनाल्टी प्रहार गर्न आएका धरानका रोमन लिम्बुको प्रहार पनि युकेएफसीका गोलकिपर रुपक कोयाले रोकेका थिए।

पेनाल्टीमा धरानका दोर्जे तामाङ, विजय राई, अनिल राई, मिलन लिम्बु, इन्सन राई, सुगम जिमी, प्रविण भुजेल, सचिन श्रेष्ठ, रिवाज मास्केले गरेका गरेका थिए। सडन डेथमा मिलन राईको गोल निर्णायक बन्यो।  

युकेएफसीका सत्यम क्षेत्री, वाङचेन तामाङ, सिद्धान्त क्षेत्री, दिवासक चौधरी, नयम प्रधान, राहुल वर्मन, सचिन थापा, विरेन प्रधान, रुपक कोयाले गोल गरेका थिए। सडन डेथमा एन्टोनी क्षेत्रीको प्रहार धरानका गोलकिपर सचिन क्षेत्रीले रोकेपछि पाहुना टोली घर फर्कियो।

निर्धारित समयको खेलमा पहिलो हाफ गोलरहित बराबरी भएको थियो। दोस्रो हाफको ५८ औं मिनेटमा विनोद राईको पासमा मिलन राईले धरानको लागि गोल गरेका थिए। तर, ७२ औं मिनेटमा युकेएफसिका नयम प्रधानले गोल फर्काउँदै खेल बराबरी बनाए।

खेलको ७५ औं मिनेटमा युकेएफसीका खेलाडी विरेन प्रधानको हातले डिबक्सभित्र बल छोएपछि धरानले पेनाल्टी अवसर पाएको थियो। पेनाल्टीमा मिलन राई चुक्दा धरानले अग्रता लिने मौका गुमाएको थियो। उनको प्रहार युकेएफसिका गोलकिपर रुपक कोयाले पञ्च गरेर बाहिर फालेका थिए।

खेलको म्यान अफ दि म्याच धरानका गोलकिपर सचिन श्रेष्ठ घोषित भए। उनले नगद १० हजार, ट्रफी र टिसर्ट पुरस्कार पाए।

म्यान अफ दि म्याच धरानका गोलकिपर सचिन श्रेष्ठ पुरस्कार ग्रहणपछि। 

खेल अवधिमा आयोजकले पाहुना टोलीलाई दबाबमा राखेको थियो भने थुप्रै गोल गर्ने अवसर पाएर पनि सदुपयोग गर्न सकेन। कर्साङको ए डिभिजन टोली युकेएफसीको बुढा सुब्बामा तेस्रो सहभागिता हो। यसअघि २२ औं र २३ औं संस्करणमा पनि उद्घाटन खेलमा धरान र युकेएसफीको भेट हुँदा टाई ब्रेकरमा दुवै पटक धरान पराजित भएको थियो।

आयोजक टिमका प्रशिक्षक हेम गुरुङले खेलाडीहरुले योजना बमोजिम नै खेलेको तर डिफेन्सको गल्तीले गोल खादा टाई ब्रेकरसम्म पुगेको बताए। अर्को खेलमा प्रदर्शन सुधार हुने उनले बताए।

युकेएफसीका प्रशिक्षक उर्गेन लामाले खेलाडीहरुको प्रदर्शनमा चित्त बुझाउँदै धरानको टिम राम्रो भएकोले जितको हकदार भएको प्रतिक्रिया दिए।

प्रतियोगितामा आइतबार एनआरटि काठमाण्डौं र त्रिभुवन आर्मी क्लब काठमाण्डौंबीच खेल हुने आयोजक धरान फुटबल क्लबले जनाएको छ।

प्रतियोगिताको विजेताले च्याम्पियन ट्रफीसहित नगद १० लाख र उपविजेताले नगद ५ लाख पुरस्कार पाउनेछ। प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १ लाख हात पार्नेछ भने उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही नगद २५ हजार पाउनेछन्।

यस्तै, सर्वाधिक गोलकर्ताले ३५ हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचले १० हजार नगद पुरस्कार पाउनेछन्।

प्रकाशित: २६ फाल्गुन २०८० २१:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App