२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

टाइब्रेकरमा आयोजकलाई पराजित गर्दै मोरङ उपाधि नजिक

२४ औं बुढासुब्बा गोल्डकप :

आयोजक धरान (सेतो जर्सी) र मोरङ (आकाशे जर्सी) का खेलाडीहरु मैदानमा भिड्दै। तस्बिर: रोहित/नागरिक<br>

२४ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपमा साग्रिला मोरङ फुटबल क्लब फाइनल प्रवेश गरेको छ।

धरान-१६ स्थित रंगशालामा बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा आयोजक धरान फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै मोरङ उपाधि नजिक पुगेको हो।

निर्धारित समयको खेलमा दुवै टिमबाट निर्णायक गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो। बुढासुब्बा गोल्डकपमा मोरङले पहिलो पटक फाइनल खेल्ने भएको हो।

टाइब्रेकरमा पाँचौ तथा निर्णायक पेनाल्टी प्रहारमा धरानका मिलन लिम्बुको प्रहार मोरङका गोलकिपर पूर्ण चेम्जोङले रोकेका थिए। निर्णायक प्रहार गर्न आएका मोरङका अशोक खवासले गोल गरेपछि मोरङ फाइनल पुगेको हो। धरानका दोर्जे तामाङ, विजय राई, अनिल राई र सुगम गिरीले मात्र गोल गरे।

मोरङका पाँचै जना खेलाडीहरु सिमोन लिम्बु, धिरेन क्षेत्री, आदित्य शाक्य, सागर तिरुवा र अशोक खवासले गोल गरेका थिए। खेलको म्यान अफ दि म्याच मोरङका गोलकिपर पूर्ण चेम्जोङ घोषित हुँदै नगद १० हजार, ट्रफी र जर्सी पुरस्कार पाए।

म्यान अफ दि म्याच मोरङका गोलकिपर पूर्ण चेम्जोङ पुरस्कार ग्रहण गर्दै।

निर्धारित समयको खेलमा दुवै टोलीले गोल गर्ने थुप्रै अवसर खेर फालेको थियो। पहिलो हाफको पाँचौं मिनेटमा विनोद राईको प्रहार मोरङका गोलकिपरको खुट्टा लागेर फर्किएको थियो।

खेलको ३३ औं मिनेटमा प्रविण भुजेलले फल गरेपछि रेफ्रीले दोस्रो पटक पहेलो कार्ड दिँदै मैदान बाहिर पटाउँदा धरान १० खेलाडीमा सीमित भएको थियो। दोस्रो हाफको ६० औं मिनेटमा विनोद राईले वान भर्सेस वानको अवसरमा गोल गर्न चुके। उनको प्रहार गोलकिपरले पञ्च गरेर बचाएका थिए।

मोरङका उमेश कार्कीले पहिलो हाफको १३ औं गरेको कर्नर प्रहारलाई आदित्य शाक्यले हेड गरेपनि पोष्टमाथिबाट बाहिरिएको थियो भने ४२ औं मिनेटमा सिमोन लिम्बुको प्रहार गोलकिपरले समातेका थिए।

यस्तै, ७१ औं मिनेटमा उमेश कार्कीको क्रस पसलाई डिबक्सभित्र आदित्य शाक्यले नभेट्दा मोरङले गोल गर्ने मौका गुमाएको थियो। दोस्रो हाफको इञ्जुरी समयमा अशोक खवासको प्रहारलाई धरानका गोलकिपर सचिन श्रेष्ठले पञ्च गरेर असफल बनाइदिएका थिए।

प्रतियोगितामा बिहीबार अन्तिम सेमिफाइनल खेल एनआरटि काठमाण्डौं र काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापाबीच हुनेछ।

प्रकाशित: ३० फाल्गुन २०८० २०:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App