२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

बुढासुब्बा गोल्डकप: फाइनलमा मोरङसँग एनआरटिको भेट

झापा (सुन्तले जर्सी) का खेलाडी एन्ड्रास निया एनआरटिविरुद्ध बल अघि बढाउँदै। तस्बिर : रोहित/नागरिक।

२४ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपमा न्यु रोड टिम (एनआरटि) फाइनल प्रवेश गरेको छ।

धरान-१६ स्थित रंगशालामा बिहीबार सम्पन्न सेमिफाइनल खेलमा काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापालाई टाइब्रेकरमा ५–४ ले स्तब्ध बनाउँदै एनआरटि उपाधि नजिक पुगेको हो।

एनआरटिले फाइनलमा उपाधिको लागि मोरङको चुनौती सामना गर्नेछ। निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि सिधै ट्राईब्रेकर खेलाइएको थियो।

टाइब्रेकरमा एनआरटिका पाँचै जना खेलाडीहरु सरोज तामाङ, सनम लिम्बु, शिशिर लेखी, जय गुरुङ र मोहित गुरुङ गोल गर्न सफल भएका थिए। पहिलो नम्बरमा पेनाल्टी प्रहार गर्न आएका झापाका विशाल घलान गोल गर्न असफल भएका थिए।

उनको प्रहार एनआरटिका गोलकिपर प्रमिजय गच्छदारले रोकेका थिए। झापाका अन्य खेलाडी विमल घर्ती मगर, अभिषेक गुरुङ, दिवस उराव र देवेन्द्र तामाङले भने गोल गरेका थिए।

निर्धारित समयको खेलमा भने पहिलो हाफको ४३ औं मिनेटमा गोल गर्दै झापाले अग्रता लिएको थियो। जीवन गुरुङको क्रसमा विदेशी खेलाडी फोडा फोपानेले हेड गरेका थिए। उनले हेडिङ गरेको बल एनआरटिका गोलकिपर पुजन होनाको हातमा ठोक्किँदै जाली चुमेको थियो।

झापाको अग्रता भने धेरै लामो टिकेन। पहिलो हाफको इञ्जुरी समयमा सरोज तामाङले फ्रिकिकबाट बराबरी गोल गरे। करिब ३० यार्ड टाढाबाट उनको फ्रिकिक प्रहार सिधै गोल भएको थियो। खेलको म्यान अफ दि म्याच एनआरटिका सरोज तामाङ घोषित हुँदै नगद १० हजार, ट्रफी, टिसर्ट पुरस्कार हात पारे।

म्यान अफ दि म्याच एनआरटिका सरोज तामाङ पुरस्कार ग्रहण गर्दै। 

प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले गोल गर्ने प्रयास गरेपनि सफल भएनन्। पहिलो हाफको २७ औं मिनेटमा एनआरटिका रोशन रानाको प्रहार झापाका गोलकिपरले समाते।

दोस्रो हाफको ५२ औं मिनेटमा रोशन रानाको क्रसमा पाएको बललाई अफिज ओलावालेले डिबक्समा नियन्त्रणमा लिएर प्रहार गर्न चुके भने ७६ औं मिनेटमा जय गुरुङको कडा प्रहार गोलकिपरले सुन्दर बचाउ गरे। इञ्जुरी समयमा विवेक गुरुङको प्रहार माथिल्लो बारमा ठोक्किँदै बाहिरियो।

झापाका विशाल दर्जीले २२ औं मिनेटका पेनाल्टी एरियाबाट गरेको प्रहार एनआरटिका गोलकिपरले समाते भने ३१ औं मिनेटमा विमल घर्ती मगरको कर्नरमा देवेन्द्र लिम्बुको प्रहार बार नजिकबाट बाहिरियो।

५३ औं मिनेटमा विमल घर्ती मगरको प्रहार बारमा ठोक्किएर फर्किनु झापाको लागि दुर्भाग्य बन्यो। ६५ औं मिनेटमा पनि आशिष चापागाईँको प्रहार गोलकिपरले हातले जोगाए भने इञ्जुरी समयमा निशान राईको पासमा अन्द्रास नियाको प्रहार एनआरटिका गोलकिपरले पञ्च गरेर असफल बनाइदिए।

एनआरटिले शनिबार मोरङ फुटबल संघसँग फाइनल खेल्नेछ। दुवै टोली पहिलो पटक बुढासुब्बा गोल्डकपको फाइनल खेल्न लागेको हो। मोरङले बुधबार आयोजक धरान फुटबल क्लबलाई टाइब्रेकरमा पराजित गरेर फाइनल पुगिसकेको छ।

प्रकाशित: १ चैत्र २०८० २०:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App