१७ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

जुम्ला–रारा अल्ट्रा म्याराथन वैशाख १ देखि

पत्रकार सम्मेलन। तस्बिर: नागरिक ।

कर्णाली खेलकुद क्लब जुम्लाले जुम्ला-रारा अल्ट्रा म्याराथन २०८१ को तयारी तीव्र पारेको छ। म्याराथन आगामी वैशाख १ गते देखि सुरु हुनेछ।

जुम्ला सदरमुकाम खलंगादेखि मुगुको रारा तालसम्म ४९ किलोमिटर दुरीमा म्याराथन हुन लागेको क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिए।

सोमबार सदरमुकाम खलंगामा पत्रकार सम्मेलन मार्फत उनले म्याराथनको तयारीबारे बताएका हुन।

जुम्लादेखि मुगुको रारा ताल जाने पदमार्गको प्रवर्द्धन गर्ने तथा कर्णाली प्रदेशलाई खेलका माध्यमबाट चिनाउने हेतुले म्याराथन आयोजना गर्न लागिएको अध्यक्ष शाहीले सुनाए।

‘म्याराथनका लागि खेलाडी दर्ता खुला गरिएको छ। यो पटक गरेर पाँचौ पटक जुम्ला रारा अल्ट्रा म्याराथन हुँदै छ।’ उनले भने।

०७५ सालमा पहिलो म्याराथन, ०७६ सालमा दोस्रो संस्करणको म्याराथन आयोजना गरिएको थियो। कोरोनाका कारण २०७७ सालमा म्याराथन सञ्चालन हुन सकेन। एक वर्षको फरकमा जुम्ला-रारा अल्ट्रा म्याराथन हुन लागेको हो।

समुन्द्री सतहबाट दुई हजार तीन सय मिटरको उचाइमा रहेको जुम्ला सदरमुकाम खलंगाबाट सुरु हुने म्याराथन तीन हजार ३ सय मिटरको उचाइमा रहेको डाँफे लेक, ४ हजार १ सय मिटरको उचाइमा रहेको चुच्चेमारा लेक हुँदै दुई हजार ८ सय ९० मिटरको उचाइमा रहेको रारा ताल छेउमा पुगेर सकिनेछ।

जुम्लादेखि दुई दिनको पदयात्रा रहेको सो रुट व्यावसायिक खेलाडीले ५ देखि ७ घण्टामा पार गर्न विश्व कीर्तिमानी धावक हरिबहादुर रोकाया बताउँछन्।

‘यो म्याराथनले कर्णालीका खेलाडीलाई प्रोत्साहित गरिरहेको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई कर्णाली भूमिमा आएर खेल प्रदर्शन गर्ने अवसर प्रदान गरेका छ। यो कर्णाली चिनाउने एक राम्रो माध्यम हो।’ उनले भने।

विगतका बर्षहरुमा महिला र पुरुष खेलाडी गरेर झण्डै ३ सय ५० जनाले सहभागिता जनाउँदै आएका थिए। यो पटक भने खेलाडीको संख्या १ हजार पुर्‍याउने लक्ष्य लिइएको छ।

आयाेजकका अनुसार यसपटक धावक तथा उत्कृष्ट ४४ खेलाडीलाई पुरस्कृत गरिनेछ। म्याराथनका लागि ३५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ। आगामी चैत २४ गतेसम्म खेलाडीले नाम दर्ता गर्न सक्ने आयोजकले जनाएको छ। म्याराथनमा सहभागी हुने धावकको बिमा गरिनेछ।  हालसम्म भारतका २ र बेलायतका २ जना धावकले नाम दर्ता गरिसकेका छन्।

धावकले अनलाइनबाटै नाम दर्ता गराउन सक्ने र क्युआर कोडबाटै शुल्क भुक्तानी गर्ने व्यवस्था मिलाइएको क्लबका सचिव मधुराज न्यौपानेले बताए।

म्याराथनमा सार्क राष्ट्रका धावकका लागि १४ हजार ५ सय, अन्य देशका धावकका लागि १६ हजार रुपैयाँ शुल्क लाग्ने छ। यस्तै नेपाली धावकको हकमा ७ हजार, स्थानीय धावकको हकमा ५ हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ।

५ किलोमिटर खुलातर्फ ५ सय, ५ किलोमिटर कर्मचारी तर्फ ५ सय र ५ किलोमिटर उद्योगी व्यवसायी तर्फ ५ सय रुपैयाँ दर्ता शुल्क लाग्ने उनको भनाइ छ।

जिल्ला समन्वय समिति प्रमुख गौरीनन्द आचार्यले खेल क्षेत्रको विकासमा सरकार तथा विभिन्न संस्थाहरुको सहयोगको खाँचो रहेको औँल्याए। सडक मार्गका कारण पदमार्ग जोखिममा परेको भन्दै उनले पदमार्ग पनि समृद्धिको आधार हुन सक्नेमा जोड दिए।

यहाँ उत्पादित खेलाडीले विभिन्न पुरस्कार जितिरहेका छन्। कर्णालीलाई खेलकुद सम्भावनाको आधार बनाउनको लागि एक महत्त्वपूर्ण कोसेढुंगा यो म्याराथन हुने अपेक्षा गरिएको छ।

प्रकाशित: ५ चैत्र २०८० २०:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App