१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

भव्य समारोहबीच राष्ट्रपति रनिङ सिल्ड उद्घाटन

लामो इतिहास बोकेको केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुदको प्रतियोगिताको पहिलो पटक एक भव्य समारोहबीच उद्घाटन भएको छ।

२०३० सालदेखि विद्यालयस्तरबाटै खेलकुदको विकास गर्ने उद्देश्यअनुरूप सुरु भएको वीरेन्द्र सिल्ड खेलकुद प्रतियोगिता (हाल राष्ट्रपति रनिङ सिल्ड) पहिलो पटक एक औपचारिक कार्यक्रमबीच सुरु गरिएको हो। गणतन्त्र स्थापनापछि २०६५ सालदेखि यो प्रतियोगिता राष्ट्रपति रनिङ सिल्डको नामबाट हुँदै आएको छ। यद्यपि, नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पहिलो पटक विशेष समारोहबीच सुरु गरेको छ।

राष्ट्रिय टोली निर्माणमा जगको रूपमा पनि मानिने राष्ट्रपति रनिङ सिल्डका प्रतिभाशाली खेलाडी प्रोत्साहित गर्ने उद्देश्यअनुरूपमा राखेपले पहिलो पटक भव्य समारोहबीच आयोजनाको सुरुआत गरेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलाडीको मार्चपास्ट, विभिन्न सांस्कृतिक कार्यक्रम र तेक्वान्दो डेमोन्स्ट्रेसनलगायत उद्घाटन समारोहको विशेषता रह्यो।

राष्ट्रपति रामचन्द्र पौडेलले ओलम्पियनहरूलाई ओलम्पिक टर्च हस्तान्तरण गर्दै तीनदिने प्रतियोगिताको औपचारिक रूपमा उद्घाटन गरे। पछि उक्त टर्च लिएर विभिन्न खेलका ओलम्पियनले रंगशालामा र्‍याली गरे। अन्त्यमा तेक्वान्दोकी पारा ओलम्पियन पलेशा गोवर्धनले ओलम्पिक टर्च प्रज्वलन गरेकी थिइन्। त्यसअघि उद्घाटनको शुभारम्भमा सहभागी सातै प्रदेशका खेलाडी, प्रशिक्षक, प्रतियोगिताका निर्णायक तथा विभिन्न कला, संस्कृति र पहिचान बोकेका समूहको मार्च पास्ट भएको थियो। उद्घाटन सत्रमा खेलाडीको तर्पmबाट कर्णाली प्रदेशकी उसुकी सन्ध्या राणा क्षेत्री र निर्णायकको तर्पmबाट करातेका प्रकाशमोहन धौभडेलले शपथ लिएका थिए।

तृष्णा गुरुङ एन्ड दी कोल्याब समूहले प्रस्तुति दिएको थियो। उद्घाटन सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले राज्यका हरेक स्थानीय तहबाटै सरकारले खेलकुदको विकास गर्नुपर्ने धारणा राखेका छन्। १४औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्डको उद्घाटनको अवसरमा राष्ट्रपति पौडेलले नेपालको खेलकुद विकास गर्नका लागि हरेक स्थानीय तहबाट काम गर्नुपर्ने धारणा राखेका हुन्। साथै राष्ट्रपति पौडेलले हरेक स्थानीय क्षेत्रमा खेलकुदको संरचना निर्माणका लागि सरकारको अग्रसरता हुनुपर्ने बताएका छन्।

उनले खेलकुदमै लागेर भविष्य बन्छ भन्ने वातावरण सिर्जना गर्न पनि सरकारले काम गर्नुपर्ने धारणा राखेका छन्। युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रपति रनिङ सिल्डमा सहभागी खेलाडीले नै एकदिन देशको झन्डा बोक्ने विश्वास व्यक्त गरे।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले राष्ट्रपति रनिङ सिल्ड राष्ट्रिय टिम निर्माणको जगसमेत रहेको उल्लेख गर्दै सात सय ३५ मध्ये ६३५ स्थानीय तहबाट छनोट भएको जानकारी दिए। मंगलबारदेखि सुरु भएको तीनदिने प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ खेलमा प्रतिस्पर्धा हुँदै छ। पहिलो दिन एथलेटिक्सको ८ स्पर्धाको फाइनल सम्पन्न भएको छ भने भलिबल र कबड्डीको प्रतिस्पर्धा पनि सुरु भएको छ।

प्रकाशित: ५ वैशाख २०८१ ०७:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App